लन्डन । नेपाल इन्जिनियर एसोसिएसन (एनईए) यूके शाखाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८३८ पाउन्ड ४४ पेन्स सहयोग गरेको छ।
नेपालमा अगस्ट २६ तारिखमा गएको विनाशकारी बाढी प्रभावित नेपाली नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सहयोग पठाइएको एनईए यूके शाखाका उपाध्यक्ष गौचन गुरुङले जानकारी दिए । उनका अनुसार, विपद्को यस कठिन अवस्थामा नेपाल र नेपाली समुदायप्रति ऐक्यबद्धता जनाउँदै बेलायतमा रहेका नेपाली इन्जिनियर तथा नेपाली समुदायबाट स्वेच्छिक रूपमा सहयोग रकम संकलन गरिएको हो। उनले राहत अभियानमा सहयोग गर्ने बेलायतमा रहेका नेपाली इन्जिनियर, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति धन्यवाद व्यक्त गरे ।
आर्थिक सहयोग संकलन तथा व्यवस्थापनमा शाखाका अध्यक्ष न्युसान श्रेष्ठ, उपाध्यक्ष गौचन गुरुङ र कोषाध्यक्ष पूजा गुरुङ लगायत कार्यसमिति तथा कार्यकारी सदस्यहरूको महत्वपूर्ण भूमिका रहेको थियो।
त्यसैगरी, अभियानलाई सफल बनाउन शाखाका प्रमुख सल्लाहकार, पूर्वअध्यक्ष इन्दु राई तथा उदिप राईलगायतको पनि उल्लेखनीय योगदान रहेको गुरुङले जानकारी दिए । उनीहरूबाट प्राप्त सहयोग, समन्वय र प्रोत्साहनले राहत रकम संकलन अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन महत्वपूर्ण सहयोग पुगेको बताइएको छ।
उपाध्यक्ष गुरुङले प्राकृतिक विपद्का समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै प्रभावित समुदायलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताए। उनले आगामी दिनमा पनि आवश्यकताअनुसार नेपालमा हुने मानवीय तथा सामाजिक सेवाका कार्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
एनईए यूके शाखाले बाढीबाट प्रभावित तथा पीडित सम्पूर्ण परिवारप्रति सहानुभूति व्यक्त गर्दै प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका कार्य प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेको छ।






