- शिवकुमार गुरुङ
हङकङ बसाइँको तेस्रो दिन, २५ जुन २०२६ मा हामीले आधुनिक इन्जिनियरिङ, समृद्ध इतिहास र विविध संस्कृतिको अद्भुत संगमस्थल मकाउको अविस्मरणीय भ्रमण गर्ने अवसर प्राप्त गर्यौँ। यो यात्रा केवल एउटा पर्यटकीय भ्रमण मात्र नभई मानव सिर्जनशीलता, ऐतिहासिक सम्पदा र आधुनिक विकासलाई नजिकबाट अनुभूति गर्ने अवसर पनि बन्यो।
यात्राको सुरुवात
बिहान ८:३० बजे काउलुनको जोर्डनस्थित प्रुडेन्सियल होटलबाट प्रस्थान गरी हामी अस्टिन स्टेसन हुँदै बसमार्फत विश्वप्रसिद्ध हङकङ–जुहाइ–मकाउ ब्रिज (HZMB)को पोर्टमा पुग्यौँ। करिब ५५ किलोमिटर लामो यो समुद्री पुल आधुनिक इन्जिनियरिङको उत्कृष्ट नमुना हो। पुलको बीच भागमा विशाल जहाजहरू सहज रूपमा आवतजावत गर्न सकून् भन्ने उद्देश्यले समुद्रमुनि सुरुङ निर्माण गरी पुललाई दुई भागमा जोडिएको छ। करिब ३५–४० मिनेट लामो यो यात्रा समुद्रमाथिको पुल र समुद्रमुनिको सुरुङ हुँदै अघि बढ्दै गर्दा आधुनिक इन्जिनियरिङको अद्भुत क्षमता प्रत्यक्ष अनुभूति गर्न पाइयो।

पुल र सुरुङको अविस्मरणीय अनुभव
यस यात्राको सबैभन्दा रोमाञ्चक क्षण त्यो थियो, जब खुला समुद्रमाथि दौडिरहेको बस एक्कासि समुद्रमुनिको सुरुङमा प्रवेश गर्यो। केही क्षणअघि नीलो आकाश, समुद्रका छाल र क्षितिजको मनोरम दृश्य नियालिरहेका हामी अचानक सुरुङभित्रको शान्त, सुरक्षित र रहस्यमय वातावरणमा पुग्यौँ। समुद्रको विशाल जलराशिको मुनिबाट सुरक्षित रूपमा यात्रा गर्दै अर्को किनारमा निस्कँदा मानव इन्जिनियरिङ क्षमताप्रति गहिरो सम्मान जाग्यो। प्रकृतिको गर्भभित्र आधुनिक प्रविधिले बनाएको यो मार्ग मेरो जीवनकै सबैभन्दा अनौठो र अविस्मरणीय यात्रामध्ये एक बन्यो।
मकाउ प्रवेश
अध्यागमन प्रक्रिया पूरा गरेपछि हामी मकाउ बस टर्मिनल पुग्यौँ। त्यहाँबाट सार्वजनिक बसमार्फत मकाउ हार्बर पुग्दा हाम्रो टुर गाइडले स्वागत गर्नुभयो। हामी चार जनाको समूहलाई उहाँले दिनभरिको भ्रमण तालिका जानकारी गराउनुभयो र त्यसैअनुसार हाम्रो यात्रा सुरु भयो।
भ्रमण गरिएका प्रमुख स्थलहरूः
यस भ्रमणका क्रममा हामीले सेनाडो स्क्वायर, सेन्ट पल चर्चको भग्नावशेष, आ–मा मन्दिर, (A-Ma Temple),मकाउ टावर, कुन इएम प्रतिमा तथा विश्वप्रसिद्ध कोटाइ स्ट्रिपको अवलोकन गर्यौँ।
१. सेनाडो स्क्वायर : मकाउको ऐतिहासिक मुटु
सेनाडो स्क्वायर मकाउको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक केन्द्र हो। युनेस्को विश्व सम्पदा सूचीमा समावेश यस क्षेत्रले पोर्चुगिज औपनिवेशिक वास्तुकला र चिनियाँ संस्कृतिको अनुपम संगम प्रस्तुत गर्छ। चोकको बीचमा रहेको फाउन्टेन, वरिपरि सजिएका रंगीबिरंगी फूल, आकर्षक ढुंगे सडक र पोर्चुगिज शैलीका भवनहरूले यहाँको वातावरणलाई मनमोहक बनाएका थिए। पर्यटकहरूको चहलपहलले यो स्थान साँच्चिकै मकाउको धड्कन जस्तो लाग्यो।

२. पर्यटन र मेनु बोर्डको संस्कृति
सेनाडो स्क्वायरका गल्लीहरूमा हिँड्दा पर्यटन व्यवस्थापनको एउटा रोचक पक्ष देखियो। अधिकांश रेस्टुरेन्टले खानाका तस्बिर, मेनु र मूल्यसहितका आकर्षक बोर्डहरू प्रदर्शन गरिरहेका थिए। कतिपय कर्मचारीहरू ती बोर्ड बोकेर पर्यटकलाई विनम्रतापूर्वक जानकारी दिइरहेका देखिन्थे। यसले पर्यटकलाई कुनै दबाबबिना आफ्नो रुचि र बजेटअनुसार खाना छनोट गर्ने सहज वातावरण सिर्जना गरेको थियो।
यो दृश्यले मलाई नेपालको मुग्लिनको पुरानो अवस्था सम्झाइदियो। केही वर्षअघिसम्म मुग्लिनमा बसबाट ओर्लिनेबित्तिकै होटलका कर्मचारीहरूले ठूलो स्वरमा बोलाएर वा हात समातेर खाना खान निम्तो दिन्थे। मकाउको व्यवस्थित र पारदर्शी शैली र मुग्लिनको आत्मीय नेपाली आतिथ्य—दुवैको आफ्नै विशेषता रहेछ। हामीले त्यहाँ एक रेस्टुरेन्टमा पोर्चुगिज परिकारको नौलो स्वाद पनि लियौँ। मकाउको मुद्रा ‘पटाका’ भए पनि हङकङ डलर सहज रूपमा स्वीकार गरिने रहेछ, जसले मुद्रा साट्ने झन्झटबाट मुक्ति दियो।
३. ऐतिहासिक स्थलहरू:
सेनाडो स्क्वायरको भ्रमण पछि हामी सेन्ट पल चर्चको भग्नावशेष पुग्यौँ। १७औँ शताब्दीमा निर्मित यो भव्य चर्च सन् १८३५ मा लागेको भीषण आगलागीपछि यसको कलात्मक अग्रभाग मात्र बाँकी रह्यो। आज यही ढुंगे अग्रभाग मकाउको प्रमुख सांस्कृतिक प्रतीकका रूपमा परिचित छ र युनेस्को विश्व सम्पदा सूचीमा समावेश सम्पदामध्ये एक मानिन्छ।
त्यसपछि हामी मकाउको सबैभन्दा पुरानो तथा ऐतिहासिक धार्मिक स्थल ‘आ–मा मन्दिर (A-Ma Temple) पुग्यौँ। यही मन्दिरसँग मकाउको नामकरणको रोचक इतिहास जोडिएको छ। यात्राका क्रममा हाम्रो टुर गाइडले सुनाउनुभएअनुसार, पोर्चुगिजहरू यहाँ आइपुग्नुअघि यो क्षेत्र मुख्यतः माछा मार्ने समुदायको सानो बस्ती थियो। समुद्री देवी ‘माजु (Mazu) लाई समर्पित यो मन्दिर सन् १४८८ मा निर्माण गरिएको मानिन्छ। विशाल प्राकृतिक चट्टानहरूको बीचमा अवस्थित यस मन्दिरमा ताओ र बौद्ध परम्पराको सुन्दर समन्वय देख्न सकिन्छ।
गाइडका अनुसार, पोर्चुगिज नाविकहरूले पहिलो पटक स्थानीय बासिन्दासँग यस स्थानको नाम सोध्दा उनीहरूले ‘आ–मा–गाउ (A-Ma-Gau), अर्थात् ‘आ–माको खाडी भन्ने उत्तर दिएका थिए। पोर्चुगिजहरूले यही उच्चारणलाई ‘मकाउ (Macau) का रूपमा अभिलेख गरे, र कालान्तरमा यही नाम अन्तर्राष्ट्रिय रूपमा प्रचलित भयो। यो कथा मकाउको नामकरणसँग सम्बन्धित सबैभन्दा प्रचलित ऐतिहासिक मान्यतामध्ये एक मानिन्छ।
४. शान्ति र सहअस्तित्वको प्रतीक : कुन इएम प्रतिमा
समुद्र किनारमा कमलको फूलमाथि उभिएको २० मिटर अग्लो कुन इएम प्रतिमा मकाउको अर्को प्रमुख आकर्षण हो। १९९९ मा पोर्चुगलले चीनलाई मित्रताको प्रतीकस्वरूप प्रदान गरेको यो प्रतिमा धार्मिक आस्था, शान्ति र सांस्कृतिक सहअस्तित्वको सन्देश बोकेको छ। प्रतिमाको फेदमा बसेर समुद्र र आधुनिक पुलहरूलाई नियाल्दा मनमा छुट्टै आनन्दको अनुभूति भयो।
५. मकाउ टावर
हामी मकाउ टावरको फेदसम्म पुग्यौँ। समयको व्यस्तताले टावरको माथि चढ्ने अवसर नमिले पनि, तलबाटै आकाश छुने उक्त टावरको विशालता नियाल्नु र त्यहाँ हुने विश्वप्रसिद्ध ‘बन्जी जम्पिङ’ का बारेमा जानकारी पाउनु नै हाम्रो लागि रोचक अनुभव रह्यो। यस अनुभवले भविष्यमा फेरि एकपटक मकाउ फर्कने चाहना मनमा अझ प्रबल बनाइदियो।
एसियाको लस भेगास – कोटाई स्ट्रिप र क्यासिनोको अनुभवः
मकाउ प्रायद्वीपका ऐतिहासिक स्थलहरूको भ्रमणपछि हामी समुद्रमाथि निर्मित भव्य पुल तरेर ‘ताइपा आइल्याण्ड’ तर्फ लाग्यौँ, जहाँ आधुनिकताको अर्को पाटो ‘कोटाई स्ट्रिप’ र त्यहाँका विशाल क्यासिनोहरू हाम्रो प्रतीक्षामा थिए। यहाँ रहेका विशाल रिसोर्टहरूले विश्वका चर्चित सहरहरूको झल्को दिन्छन्। द लन्डनर मकाउमा लन्डनको बिग बेन र संसद भवनको प्रतिरूप तथा द पेरिसियन मकाउमा एफिल टावरको आकर्षक प्रतिकृति देख्दा हामी निकै उत्साहित भयौँ। मकाउलाई त्यसै “एसियाको लस भेगास” भनिने रहेनछ, यहाँका क्यासिनो परिसर यति विशाल छन् कि पहिलो पटक पुग्ने जोकोही सहजै अलमलिन सक्छ।

क्यासिनोभित्रको अनुभवः
क्यासिनो प्रवेश गर्दा सुरक्षा व्यवस्था अत्यन्त व्यवस्थित र प्रभावकारी देखियो। क्यासिनोको खेल क्षेत्रलाई ‘उच्च दाउ’ (High Limit) र ‘सामान्य खेल क्षेत्र’ गरी विभाजन गरिएको रहेछ। उच्च दाउ खेल क्षेत्रमा न्यूनतम बाजी नै निकै ठूलो रकमबाट सुरु हुने भएकाले हामीले सामान्य खेल क्षेत्रको अवलोकन गर्यौँ।त्यहाँ २० हङकङ डलरदेखि लाखौँ डलरसम्मका बाजीमा खेल सञ्चालन भइरहेका थिए। खेलाडीहरूमा महिला र पुरुष दुवैको उल्लेखनीय सहभागिता देखिन्थ्यो। क्यासिनोमा आगन्तुकका लागि निःशुल्क चिया, कफी तथा अन्य पेय पदार्थको राम्रो व्यवस्था रहेछ। साथै, विभिन्न क्यासिनो वा रिसोर्टहरूबीच आवतजावतका लागि सटल बसको निःशुल्क र सुविधायुक्त व्यवस्थासमेत उपलब्ध रहेछ।
यस क्रममा त्यहाँ कार्यरत सुरक्षा कर्मचारी, सटल बस चालक तथा फ्लोर स्टाफका रूपमा कार्यरत धेरै नेपाली दाजुभाइसँग भेट्ने अवसर मिल्यो। विश्वकै चर्चित मनोरञ्जन उद्योगमा नेपालीहरूको सक्रिय भूमिका देख्दा स्वाभाविक रूपमा गर्वको अनुभूति भयो।

अविस्मरणीय फिर्तीः
दिनभरको भ्रमणपछि राति करिब ९ बजे हामी पुनः हङकङ फर्कियौँ। मकाउका ऐतिहासिक सम्पदा, आधुनिक पूर्वाधार, धार्मिक आस्था, बहुसांस्कृतिक जीवनशैली र विश्वप्रसिद्ध क्यासिनोहरूको अवलोकनले यो यात्रा जीवनकै अविस्मरणीय अनुभव बनाइदियो। मकाउले मलाई एउटा महत्त्वपूर्ण पाठ सिकायो—इतिहासलाई सम्मान गर्दै आधुनिक विकासलाई आत्मसात् गर्न सकियो भने सानो भूगोल पनि विश्वकै आकर्षक गन्तव्य बन्न सक्छ। त्यसैले मकाउ मेरो लागि केवल एउटा पर्यटकीय सहर होइन, इतिहास, संस्कृति, प्रविधि र मानव सिर्जनशीलताको अनुपम संगमका रूपमा सधैँ स्मरणीय रहनेछ।
(२५ जुन २०२६ को हङकङ–मकाउ भ्रमणमा आधारित यात्रा संस्मरण)






