काठमाडौँ । लगातार ९० घण्टा दुई मिनेट भाषण गरेर ‘गिनिज वर्ल्ड’ कायम गर्न सफल अनन्तराम केसीलाई सोमबार यहाँ सम्मान गरिएको छ । व्यक्तित्व विकास मनोशक्ति जागरण अभियानले आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङ र पूर्वपर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले केसीलाई संयुक्त रुपमा सम्मान गरे। कार्यक्रममा वर्ल्ड रेकर्डको प्रमाणपत्रस मेत सार्वजनिक गरियो।








केसीले गत भदौ ११ देखि १५ गतेसम्म लगातार ९० घण्टा दुई मिनेट भाषण गरेर विश्व किर्तिमान कायम गरेका थिए। केसीले प्राप्त गरेको प्रमाणपत्रमा लगातार ९० घण्टा दुई मिनेट भाषण गरी नयाँ रेकर्ड कायम गरेकाले सो प्रमाणपत्र प्रदान गरिएको उल्लेख छ। नुवाकोट शिवपुरी गाउँपालिका-१ का केसीले भारत केरेलाका केपी भाल साराजानले ८१ घण्टा १६ मिनेट बोलेर कायम गरेको विश्व कीर्तिमानलाई तोडेका छन्।
न्यू माइण्ड्स एकेडेमीको आयोजनामा केसीले गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित इस्टपोल स्कूलमा वक्तव्य दिएका थिए। नेपालको ७७ वटै जिल्ला र भारतको ६ प्रान्तका गरी १२ हजार ५०० किलोमिटर पैदलयात्रा गरिसकेका केसी आध्यात्मिक साधक समेत हुन्। केसीले २१ दिन जल उपवास र ६ महिना मौन ध्यान साधना पूरा गरिसकेको सो अवसरमा जानकारी दिइयो। कार्यक्रममा सो अभियानमा केसीलाई सहयोग पुर्याउने विभिन्न क्षेत्रका ५० भन्दा बढी महानुभावलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।









