उपसभामुख रुबी ठाकुरले खस–नेपाली भाषा उच्चारण गर्न नसकेको भन्दै अहिले सामाजिक सञ्जालमा ट्रोल गरिएकी छन्। ‘तयारी पुगेन’, ‘यस्तो पनि उपसभामुख’ जस्ता टिप्पणी सामाजिक सञ्जालमा देखिएका छन्। यस सन्दर्भमा मलाई दुईवटा घटना स्मरण भइरहेका छन्।
पहिलो, केही वर्षअघि हेटौँडामा प्रदेश भाषा दिवसको कार्यक्रम थियो। म वक्ताका रूपमा सहभागी थिएँ। प्रदेश संस्कृति मन्त्रालयद्वारा आयोजित उक्त कार्यक्रममा एक जना महिला कर्मचारीले उद्घोषण गरिरहेकी थिइन्। उनी प्रस्ट वक्ता भएकै कारण मन्त्रालयले उद्घोषकका रूपमा छनोट गरेको हुनुपर्छ। सायद उनको थर बाहुनी थियो।
कार्यक्रमको अधिकांश सञ्चालन खस–नेपाली भाषामै भएकाले सुरुवातमा उनको प्रस्तुति प्रभावकारी थियो। तर कार्यक्रममा एक–दुई शब्द नेवारी र तामाङ भाषामा उच्चारण गर्नुपर्ने भयो। ती शब्द लेखेरै दिइएका थिए। तर तीन–चार पटक प्रयास गर्दा पनि उनले ती शब्द शुद्धसँग उच्चारण गर्न सकिनन्। हलमा हाँसोको फोहोरा छुट्यो। उनी नीलो, कालो हुँदै हरियो भएको जस्तो देखिने त्यो दृश्य मैले आफ्नै आँखाले देखेको थिएँ।
अर्को घटना शताब्दी पुरुष सत्यमोहन जोशीको ललितपुरस्थित घरमा नेपाल टेलिभिजनबाट प्रसारण हुने एउटा कार्यक्रमको रेकर्डिङका क्रममा भएको हो। सामाजिक संस्थाको प्रतिनिधिका रूपमा मलाई पनि कार्यक्रममा बोलाइएको थियो।
कार्यक्रम सञ्चालिका वर्षौंदेखि टेलिभिजनमा काम गरेकी अनुभवी थिइन्। उनको वाक्पटुता र प्रस्तुति क्षमताको त कुरै नगरौँ। क्यामेरा र लाइट सबै तयार भइसकेपछि उनले कार्यक्रम सञ्चालन सुरु गरिन्। सुरुवात निकै प्रभावकारी थियो।
तर कार्यक्रमका क्रममा सत्यमोहन जोशीको घर रहेको ठाउँको नाम बताउनुपर्ने भयो। त्यो ठाउँको नाम नेवारी भाषामा थियो। प्रभावकारी प्रस्तुति दिइरहेकी ती सञ्चालिका जब नेवारी भाषामा रहेको ठाउँको नाम उच्चारण गर्न पुगिन्, त्यहीँ अड्किइन्। पटक–पटक प्रयास गर्नुपर्यो। क्यामेराम्यानले रेकर्डिङ काटेर पुनः रेकर्ड गरे। हामी सबै हाँस्यौँ। कार्यक्रम सञ्चालन गरिरहेकी उनी पनि ग्लानिले होला, नीलो–कालो भइन्।
यी दुई घटनाले एउटा कुरा प्रस्ट पार्छन्—आफूले दैनिक प्रयोग नगरेको भाषा वा शब्द उच्चारण गर्न नसक्नु केवल व्यक्तिको कमजोरी मात्र होइन। भाषा सिक्ने, प्रयोग गर्ने र त्यसलाई सार्वजनिक जीवनमा स्थापित गर्ने अवसरसँग पनि यसको गहिरो सम्बन्ध हुन्छ।
त्यसैले सम्माननीय रुबी ठाकुरले खस–नेपाली भाषा उच्चारण गर्न नसकेको विषयलाई लिएर उनलाई मात्र दोष दिनु उचित हुँदैन। यो विषय व्यक्तिको कमजोरीभन्दा धेरै ठूलो भाषिक र ऐतिहासिक सन्दर्भसँग जोडिएको छ।
राज्यले लामो समयसम्म एउटै भाषालाई प्राथमिकतामा राखेर अन्य मातृभाषालाई सार्वजनिक जीवन र सरकारी कामकाजमा पर्याप्त स्थान नदिँदा आजको अवस्था सिर्जना भएको हो। नेपालमा बोलिने १४२ भाषामध्ये खस–नेपालीबाहेकका भाषाहरूले लामो समयसम्म राज्यका औपचारिक संरचनामा समान अवसर पाउन सकेनन्।
आज आदिवासी, मधेसीलगायत विभिन्न भाषिक समुदायका मानिसहरू सार्वजनिक जीवनमा प्रवेश गर्दा आफूले दैनिक प्रयोग नगरेको खस–नेपाली भाषामा सहज हुन नसक्ने अवस्था देखिन्छ। यसको मूल कारण खोज्ने हो भने व्यक्तिलाई सामाजिक सञ्जालमा ट्रोल गर्नु भन्दा नेपालको भाषिक इतिहास, राज्यको भाषा नीति र त्यसले सिर्जना गरेको असमानतालाई बहसको विषय बनाउन आवश्यक छ।
भाषा कमजोरीको विषय होइन, पहिचान हो। त्यसैले एउटा व्यक्तिको उच्चारणमा हाँस्नु भन्दा किन नेपाली समाजमा यति धेरै मातृभाषा हुँदाहुँदै सार्वजनिक जीवनमा केही भाषाले मात्र सहज स्थान पाए? भन्ने प्रश्नतर्फ बहस मोडिनुपर्छ।






