बेलायत – छिमेकी देश भारतको सिक्किममा निर्मित चलचित्र तारा (The Lost Star) आइतबार १८ अक्टोबर २०२६ का दिन बेलायतको अल्डरसट शहरस्थित एम्पाएर हलमा भब्य रुपमा प्रदर्शन भएको छ। नेपाली भाषामा निर्मित चलचित्रकी निर्माता तथा नायिका श्यामा श्री शेर्पाको उपस्थितिमा उक्त प्रदर्शन सम्पन्न भएको हो।
खचाखच भरिएको दर्शकको भिडबिच प्रदर्शन गरिएको उक्त चलचित्रका प्रमुख अतिथि तमु धीं युकेका अध्यक्ष जुमकाजी गुरुङ हुनुहुन्थ्यो। त्यसैगरी, विशेष अतिथिहरुमा रसमर बोरो काउन्सिलकी डेपुटी लिडर काउन्सिलर सोफी पोटर, काउन्सिलरहरु, बिल, फौजिया खान, स्टेफेन मास्टरटन, धन बहादुर सार्की, तमु धीं युके आमा समुहकी अध्यक्ष कमला देबी गुरुङ लगायत बेलायतमा स्थापित विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो।
चलचित्र प्रदर्शनका अवसरमा प्रमुख अतिथि जुमकाजी गुरुङ र विशेष अतिथि काउन्सिलर सोफी पोटरले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यसैगरी, चलचित्रकी निर्माता तथा नायिका श्यामा श्री शेर्पाले आयोजक समूहका संयोजकहरु काउन्सिलर धन बहादुर सार्की, तमु धीं युकेका महासचिव डा. विशाल गुरुङ, सचिव बिमल गुरुङ लगायत सम्पूर्ण उपस्थित दर्शकहरुका साथै कार्यक्रम कभरेज गर्ने मिडियाहरु, लन्डन नेपाल डटकम, गोर्खा मिडिया र एभरेष्ट टाईम्स युकेलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो।
औपचारिक कार्यक्रमको सञ्चालन काउन्सिलर धन बहादुर सार्कीले गर्नुभएको थियो।
चलचित्र हेरिसकेपछि दर्शकहरुले किशोरीहरुको मनोभावनालाई अभिभावकले बुझ्न नसक्दा उनीहरुको भविष्यमा पर्न सक्ने गम्भीर असरबारे चलचित्रले अत्यन्तै महत्वपूर्ण सन्देश दिएको प्रतिक्रिया दिएका छन्।







