लन्डनमा ‘नर्थहोल्ट १० के रन’ भव्य रूपमा सम्पन्न, ३०० भन्दा बढी धावक सहभागी

SHARE:

लन्डन । बेलायतको लन्डनमा आयोजित पाँचौं ‘एइएसएन नर्थहोल्ट १० के रन’ भव्य रूपमा सम्पन्न भएको छ। नेपाल रन यूकेको आयोजनामा भएको उक्त प्रतियोगितामा ३ सयभन्दा बढी धावकहरूले प्रत्यक्ष रूपमा सहभागिता जनाएका थिए भने अन्य झन्डै ३ सय जना धावकहरू भर्चुअल माध्यमबाट जोडिएका थिए।

प्रतियोगितामा जुम्ला निवासी नेपालका चर्चित पूर्वधावक तथा प्रशिक्षक ओलम्पियन हरि रोकायाको विशेष उपस्थिति रहेको थियो। ६६ वर्षीय रोकाया एभरेष्ट म्याराथनमा लगातार तीन पटक जितेर ‘ह्याट्रिक’ गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल व्यक्तित्व हुन्। बेलायतमा आयोजित दौडमा नेपाली तथा विदेशी नागरिकहरूको उल्लेख्य उपस्थिति देख्दा खुसी व्यक्त गर्दै रोकायाले युवाहरूलाई दौड तथा खेलकुदतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिए। साथै, आफूलाई निमन्त्रणा गरेकोमा आयोजकप्रति आभार व्यक्त गर्दै जुम्लामा हाल २२ जना युवालाई दिइरहेको प्रशिक्षण, खेलकुद विकास र हाइ अल्टिच्युड पूर्वाधार निर्माणमा नेपाल रन यूकेले गरेको सहयोगका लागि उनले कृतज्ञता प्रकट गरे।

बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले यस्ता खेलकुद गतिविधिले नेपाली समुदायलाई एकताबद्ध बनाउनुका साथै शारीरिक व्यायाम र स्वस्थ जीवनशैलीप्रति सचेत गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले दौडसँगै परोपकारी कार्यमा समेत सक्रिय रहेकोमा नेपाल रन परिवारको प्रशंसा गरे।

बालबालिका तथा युवालाई सानै उमेरदेखि खेलकुदमा रुचि जगाउने उद्देश्यले मूल दौड अघि बालबालिकाहरूका लागि २ किलोमिटरको विशेष दौड समेत आयोजना गरिएको थियो। सहभागीहरूको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै मैदानमा चिकित्सक तथा नर्सको टोली खटाइएको थियो भने दौडपश्चात् धावकहरूका लागि स्पोर्टस फिजियोथेरापी मसाज सेवा तथा नेपाली खानपानका स्टलहरू राखिएका थिए। नेपाल रन यूकेका अध्यक्ष आत्माराम दाहालले सहभागी धावक, प्रायोजक तथा सहयोगीहरूलाई धन्यवाद दिएका थिए। यस्तै, संस्थाका संस्थापक सन्तोष राईले प्रतियोगिताका विजेताहरूलाई आगामी दिनमा नेपालका सातै प्रदेशमा हुने ‘७७७ म्याराथन’, अन्नपूर्ण वा एभरेस्ट म्याराथनमा सहभागी गराउने विषयमा छलफल भइरहेको जानकारी दिए।

नेपाल रन यूकेका सचिव डा. जगन कार्कीले आफ्नो संस्था ‘यूके एथलेटिक्स’ मा दर्ता भई प्रवासमा नेपालीहरूद्वारा सञ्चालित एकमात्र विशिष्ट दौड क्लबका रूपमा स्थापित भइसकेको बताए। उनले यो प्रतियोगिता दौडमा मात्र सीमित नरहेर समुदायलाई सक्रिय र निरोगी बनाउने अभियान भएको उल्लेख गरे। यस वर्षको प्रतियोगितालाई एइएसएनले मुख्य प्रायोजन गरेको थियो भने रियल ड्रिम्स, एनबीसी यूके, एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषद, किरात राई यायोक्खा लन्डन, नेपाली साइकलिङ क्लब, सरोज फिजियो लगायत विभिन्न स्थानीय संस्था तथा व्यवसायीहरूले सहयोग गरेका थिए।

प्रतियोगिताको खुला (संयुक्त) पुरुषतर्फ रोशन थापा मगरले ३२ मिनेट १२ सेकेन्डमा दूरी पार गर्दै प्रथम स्थान हासिल गरे। सुदन पुन (३६:५६) दोस्रो र विलियम वायट (३७:००) तेस्रो भए। महिला खुलातर्फ अन्जु सिग्देल (तेजमाया) ले ४२ मिनेट ४८ सेकेन्डको समयसहित स्वर्ण जितिन् भने नयाने फेररिया (४४:३२) दोस्रो र भेनेसा पल (५१:०२) तेस्रो स्थानमा रहे।

यस्तै, ४० देखि ४९ वर्षको भेट्रान पुरुष समूहमा जीवन राई (३७:१४) पहिलो, बलदेव कुँवर (३८:५१) दोस्रो र रुद्र लिम्बु (३९:३२) तेस्रो भए। सोही उमेर समूहको महिलातर्फ एमा लिन (५४:२८) प्रथम, आना मोलिन (५४:४७) दोस्रो र प्रतिष्ठा पराजुली (५५:३७) तेस्रो बने। ५० देखि ५९ वर्षको भेट्रान पुरुषतर्फ पिटर फेल्विट (३७:२१) पहिलो र होम खत्री (३७:३०) दोस्रो भए भने महिलातर्फ पउला म्यारी (५४:३८) प्रथम र रचना श्रेष्ठ (५६:०१) दोस्रो स्थानमा रहे।

६० वर्षभन्दा माथिको सुपर भेट्रान समूहमा पुरुषतर्फ स्टेफेन प्लामर (३८:४१) र महिलातर्फ सुनन्दा साकारबेल (५४:४१) विजयी भए। नेपाल रन क्लबतर्फको विशेष विधामा पुरुष तर्फ लक्ष्मन गुरुङ (३७:४३) र महिला तर्फ आर्या नेपाल (५३:३५) ले शीर्ष स्थान हासिल गरे।

(सबै तस्बिर: शिव भण्डारी)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!