लन्डन । बेजिङस्टोक नेपाली समाज (बीएनसी) यूकेले नेपालको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित पीडितहरूको राहत तथा सहयोगका लागि संकलन गरेको ४ हजार १०० पाउन्ड (नेपाली रुपैयाँ ८ लाख ३२ हजार ३००) हस्तान्तरण गरेको छ।
समाजले उक्त रकम नेपाली राजदूतावास लन्डनका कार्यवाहक राजदूत विपिन दुवाडीमार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको हो।
बेजिङस्टोकका स्थानीय समुदाय, बीएनसीका सदस्यहरू, गोर्खा ग्रोसरी र सेन्सबरी डिस्ट्रीब्युसनलगायतका स्थानबाट रकम संकलन गरिएको थियो। अभियानमा नेपाली समुदायका साथै बेलायती स्थानीय समुदायका व्यक्तिहरूले पनि आर्थिक सहयोग गरेका थिए।
अभियानलाई सफल बनाउन समाजका अध्यक्ष विजय लिङ्थेप र महासचिव जगदीश वाग्लेले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। राहत संकलनका लागि आवश्यक काउन्सिलको स्वीकृति लिनेदेखि अभियानलाई व्यवस्थित रूपमा सञ्चालन गर्नेसम्मका काममा उनीहरू सक्रिय थिए। त्यसैगरी, कोषाध्यक्ष दुर्गा राईले संकलित रकमको दैनिक विवरण अद्यावधिक गर्दै आर्थिक पारदर्शिता कायम गर्न योगदान दिएका थिए।
राहत अभियान सुरु गर्नुअघि समाजले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न शोकसभा आयोजना गरेको थियो। कार्यक्रममा बेलायतका सांसद लुक मर्फी, काउन्सिलर पाउल हार्भीलगायत स्थानीय जनप्रतिनिधि तथा समुदायका प्रतिनिधिहरू सहभागी भएका थिए।
संकलित रकम नेपाल पठाउने विषयमा कार्यसमितिमा छलफल भएपछि समाजले कार्यसमितिको निर्णयअनुसार नेपाली राजदूतावासमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम पठाउने निर्णय गरेको थियो।
रकम हस्तान्तरणका क्रममा अध्यक्ष विजय लिङ्थेपले अभियानमा सहयोग गर्ने सम्पूर्ण दाताहरू, स्थानीय बेलायती समुदाय, समाजका सदस्यहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सबैप्रति आभार व्यक्त गरे।
उनले भने, ‘प्रवासमा रहेर पनि मातृभूमिमा आइपरेको दुःख र विपत्तिमा सहयोग गर्न पाउनु हाम्रो मानवीय दायित्व हो। यस अभियानमा नेपाली समुदाय मात्र नभई स्थानीय बेलायती समुदायले समेत देखाउनुभएको सद्भाव र सहयोगप्रति हामी विशेष आभारी छौँ।’







