बेलायत । पुन मगर समाज यूके र नेपालको सहकार्यमा संकलित करिब १७ लाख नगद म्याग्दी, पर्वत र बागलुङममा विपद्मा परी आफन्त गुमाएका, प्रभावित स्थानीय तह र समुदायलाई सहयोग गरिएको छ ।
१६ लाख ७४ हजार ३७५ रुपैयाँ सोमबार बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवार, प्रभावित बस्ती तथा स्थानीय तहका विपद् व्यवस्थापन कोषमा उपलब्ध गराइएको हो । म्याग्दीमा बाढीपहिरोमा ज्यान गुमाएका ११ जनाका परिवारलाई जनही २५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराइएको पुन मगर समाजका अगुवा एवं एनआरएनए यूकेका पूर्वअध्यक्ष योगकुमार फगामीले जानकारी दिनुभयो ।

मृतकका परिवारलाई वितरण गर्न पुन मगर समाज युकेले दुई लाख २५ हजार रुपैयाँ र नेपाल पुन मगर समाज केन्द्रले ५० हजार रुपैयाँ उपलब्ध गराएका छन् ।
त्यसैगरी, बागलुङमा ज्यान गुमाएका १३ जनाका परिवारलाई जनही १० हजार रुपैयाँका दरले एक लाख ३० हजार रुपैयाँ वितरण गरिएको छ । पर्वत जिल्लामा दुई लाख ५० हजार रुपैयाँ सहयोग गरिएको छ ।
म्याग्दीका प्रभावित बस्ती र स्थानीय तहका विपद् व्यवस्थापन कोषमा पनि राहत रकम उपलब्ध गराइएको छ । रघुगङ्गा गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा ५० हजार रुपैयाँ, मालिका र मङ्गला गाउँपालिकाको कोषमा २५ हजार रुपैयाँका दरले सहयोग गरिएको छ ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनलाई पाउद्वार, खोलापार, गोल्पानी र गिवाङका प्रभावितका लागि तीन लाख रुपैयाँ, धस्केखोर, किन्दु, शिख र स्वाँत क्षेत्रका लागि दुई लाख रुपैयाँ, काफलडाँडाका लागि दुई लाख रुपैयाँ तथा ठूलोबगर, भुरुङ, तातोपानी र नारच्याङ क्षेत्रका लागि ६४ हजार ३७५ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।
पर्वतका मिर्गौला पीडितलाई एक लाख ५५ हजार रुपैयाँ सहयोग गरिएको छ । समाजले विपद्का बेला पीडित परिवार र प्रभावित समुदायलाई सहयोग पुर्याउने उद्देश्यले स्वदेश तथा विदेशमा रहेका पुन मगर समुदायबाट रकम सङ्कलन गरेको जनाएको छ ।










