सन्दर्भ स् क्रिकेट मैदान बनाउने धुर्मुस–सुन्तली फाउन्डेशनको घोषणा
मधुकर गुरुङ
हाम्रा बाले भन्नुहुन्थ्यो, ‘अगाडि हेर्नु चार हात पछाडि हेर्नु बाह्र हात’ यो उक्ति अहिले आएर धुर्मुस सुन्तली फाउन्डेशनले गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माण गर्ने घोषणा गरेलगत्तै व्यापक समर्थन, विरोध गर्दै नेपाली जनता दुई कित्तामा विभाजित हुनाले चरितार्थ भएको छ । स्टेडियम बनाउने घोषणा गर्नु अतिउत्तम कार्य हो भन्ने मेरो बुझाई । मैले नबुझेको हो या लाल बुझक्कडहरुले धेरै बुझेर हो यो बनाउने लक्ष्य गलत हो, यो भन्दा हस्पिटल या स्कुल या भूकम्पपीडितहरुको जीर्ण घर निर्माण गर्नुपर्ने थियो भन्दै सामाजिक सञ्जालमा कोकोहोलो मच्चाइरहेकाहरुको सही हुन्, मैले बुझ्न सकिनँ ।
हुन त, म तन्नेरी छँदा भारत, पाकिस्तानको एक दिवसीय क्रिकेट म्याच हेर्दा हाम्रा बाले भन्नुहुन्थ्यो, ‘हैन बाबु यस्तो झिजो लाग्ने खेल कसरी हेर्छौं तिमी हँ, त्यो पनि अर्काको देशको । हाम्रो देश खेलेको भए पो हेर्नु ।’जेहोस् केही वर्षअघिसम्म केही सीमित क्रिकेटप्रेमी नेपाली युवाहरु धेरै उत्साहित हुँदै अन्तर्राष्ट्रिय क्रिकेट हेर्ने गर्दथ्यो । अझ भारत, पाकिस्तानको म्याच त अति रोमान्चित हुने गर्दथियो किनकि यी दुई मुलुकका खेलाडीबीच हुने प्रतिस्पर्धालाई कारगिलको युद्धमैदानमा हुने युद्ध हारजितलाई राष्ट्रिय प्रतिष्ठाको विषय बनाइन्थ्यो । साथै जितेमा युद्ध जितेसरी मुलुकभरीका मूलधारका पत्रिकाको हेडलाइन् बन्ने गर्दथ्यो भने खेल हारेमा खेलाडीको घर नै आक्रोशित जनताले तोडफोड गर्ला भनी प्रहरीले सुरक्षा दिनु पर्दथ्यो । तर आजको दिनमा हामी धेरै नेपालीहरु क्रिकेटप्रेमी भाइसकेका छांै र नेपाली क्रिकेट खेलाडीले हालैको दिनमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएलगत्तै नेपाली दर्शकहरुको संख्यामा उल्लेखनीय वृद्धि हुन गएको हो ।
क्रिकेट स्टेडियमभन्दा विद्यालय नै बनाउनुपर्ने भन्ने तर्क उपयुक्त होलाजस्तो देखिए तापनि दीर्घकालीन रुपमा दृष्टिगत गर्ने हो भने क्रिकेट स्टेडियमको महत्व बढी हुन आउँछ किनकि यहाँ एक प्रेरक भनाइ उल्लेख गर्न चाहन्छु ।
९दबाइ गर्नुभन्दा रोग नै लाग्न नदिनु बेस० भनेझै रोग लागिसकेपछि रोगको उपचार गर्नु भन्दा पनि रोग नै नलागुन्, भनी स्वस्थ, तन्दुरुस्त हुनु अति आवश्यक हुन्छ । रोग लाग्न नदिने उपायमध्ये खेलकुद एक महत्वपूर्ण विषय हो । जो मानिस दैनिक व्यायाम गर्छ त्यो मानिस निरोगी हुन्छ । त्यसकारण मेरो दृष्टिमा स्टेडियम बनाउने निर्णय नै उपयुक्त हो ।
नेपालले एकदिवसीय मान्यता प्राप्त गरेपछि देशभरी नेपाली युवा क्रिकेट खेलाडीको उल्लेख्य वृद्धि हुन गएको हो । यो निकै साकारात्मक पक्ष पनि हो । क्रिकेटले लाखौं युवाहरुलाई मानसिक तथा शारीरिक रुपमा तन्दुरुस्त बनाउँछ नै । साथै लाखौं युवाहरुलाई कुलतमा लाग्नबाट रोक्दछ ।
जसकारणले गर्दा कालान्तरमा देशले नै स्वस्थ जनशक्ति निर्माणमा टेवा पुग्छ । तसर्थ अस्पताल बनाउनुभन्दा देशैभरि खेलकुद मैदानहरु बनाउने हो भने लाखौं युवाहरु आकर्षित भइ स्वस्थ मात्रा नभइ चौतर्फी विकास गर्दछ ।
झट्ट हेर्दा सुस्त गतिमा खेलिने खेल जस्तो देखिएपनि क्रिकेट लामो समयसम्म खेलिने भएको हुनाले खेल जित्नको लागि यो रणनीति बनाइ खेलिने खेल भएकोहुनाले टिमवर्कको महत्वपूर्ण भूमिका हुन्छ । ब्याटिङ्ग, बलिङ्ग र फिल्डिङलाई ठीक समय, स्थानमा आवश्यकताअनुसार परिचालन गर्नुपर्ने हुनाले खेलाडीहरुमा स्वास्थ्यको साथसाथै निर्णय लिनसक्ने क्षमतामा अभिवृद्धि बनाई क्रिकेटले क्षमतावान नागरिक उत्पादन गर्ने छ ।
साथै अन्तर्राष्ट्रियस्तरको स्टेडियम निर्माणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्न सकिन्छ जसले गर्दा देशैभरी आजभोलि लोकप्रिय हुँदै गरेको ट्वान्टी ट्वान्टी फम्र्याटको प्रतियोगिता गाउँस्तरीय, विद्यालयस्तरीय, प्रदेशस्तरीय, जिल्लास्तरीय, क्षेत्रस्तरीय गर्दै राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरी नेपालले पनि इन्डिया, पाकिस्तानको जस्तो विश्वमा तहल्का मच्चाउने खेलाडी जन्माउन सक्छ । क्रिकेटलाई हाम्रो देश नेपालमा पनि इण्डियामा जस्तै व्यावसायिक बनाउन सकियो भने एकदिन नेपालले पनि टेस्ट क्रिकेट खेल्ने राष्ट्रको मान्यता सोचेभन्दा छिटो पाउने आशा गर्न सकिन्छ ।
कुनै दिन हाम्रा पुस्ताले सुनिल गावस्कर, रबी शास्त्री हुँदै सचिन तेन्दुलकरले सतक बनाउँदा रोमान्चित हुँदै ताली बजाउने थियौं । केही अघिसम्म महेन्द्रसिंह धोनी, बिराट कोहलीले सतक बनाउँदा हामी ताली बजाउने थियौ तर त्यो इतिहास बन्दैछ । हिजो भरखर हाम्रा नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन पारस खड्काले अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा संयुक्त अरब इमिरेटस् ९यूएई० विरुद्ध सतक जोडेर इतिहास रचेका छन् भने एक साताअघि मात्र अन्तर्राष्ट्रिय डेब्यु गरेका १७ वर्षीय सन्दीप जोराले यूएई विरुद्ध ट्वान्टी–२० मा सबैभन्दा कम उमेरकोले अर्धसतक बनाउने खेलाडीको रेकर्ड राख्न सफल भएका छन् ।
तसर्थ पानी, चाउचाउ मात्रा खाएर नेपाली क्रिकेट खेलाडीले छोटो समयमा एकदिवसीय मान्यता प्राप्त गरी विश्वमा नेपालको नाम सुनौलो अक्षरले लेखाउन सफल भएका खेलाडीहरुको सम्मानार्थ हामी सम्पूर्ण नेपालीले गौतम बुद्ध क्रिकेट मैदान निर्माण गरी उपहार दिएमा खेलाडीले लगाएको गुन तिर्न सफल हुने छौं । बुझ्नेलाई क्रिकेट मैदान श्रीखण्ड हो भने नबुभ्mनेलाई खुर्पाको बिडैसरी ।






