काठमाडौं । २८५५ औं सोनाम ल्होछारको अवसरमा तामाङ सहायता समाज (ल्होज्याङ)ले शुभकामना आदान प्रदान तथा भोज कार्यक्रम आयोजना गरेको छ । शनिबार एसियन पार्टी प्यालेस, सुकेधारामा प्रतिनिधिसभा सदस्य तथा पूर्वखेलकुद मन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा नेता र विभिन्न संघसंघका अध्यक्ष एवं प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए । साथै ल्होज्याङमा आबद्ध र अन्य उपस्थित तामाङहरुले तामाङ गीत, संगीत घन्काएर मनोरन्जन लिएका थिए ।
कार्यक्रममा नेपाल तामाङ घेदुङका पूर्वकेन्द्रीय अध्यक्ष तथा ल्होज्याङका सल्लाहाकार कुमार योन्जन, ताम्सालिङ संयुक्त संघर्ष समितिका सभापति जय गोले, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा संस्थाका सल्लाहकार रुद्रसिङ तामाङलगायतको उपस्थिति थियो ।
कार्यक्रम योगेन्द्रजंग रुम्बाको अध्यक्षतामा भएको हो । ल्होज्याङले हरेक वर्ष ल्होछारको अवसरमा यस्ता कार्यक्रम गर्दै आएको छ ।












