एटा संवाददाता
लन्डन । फुटबल खेलको कथावस्तुमा निर्माण गरिएको नेपाली चलचित्र ‘क्याप्टेन’ को बेलायतमा रेड कार्पेटसहित विशेष प्रदर्शन गरिएको छ । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको विशेष उपस्थितिमा गत शनिबार ६ अप्रिलका दिन अल्डरसटस्थित प्रिन्सेस हलमा रेड कार्पेट शो गरिएको हो । रेटकार्पेट ‘शो’ का लागि कलाकार भुवन केसी र अनमोल केसीको समेत विशेष सहभागिता रहेको थियो ।
नेपाल अधिराज्यभर प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘क्याप्टेन’ बक्स अफिसमा राम्रो कलेक्सन गर्न सफल भएको छ । नेपालको फुटबल खेलको वर्तमान अवस्थाबारे चित्रण गरिएको चलचित्रलाई युवा वर्गले मात्र होइन विभिन्न उमेर समूहका दर्शकहरुले मन पराइदिएका छन् । त्यसो त अहिलेसम्म अनमोल केसीले अभिनय गरेका चलचित्रहरु दर्शकहरुले रुचाइदिएका छन् ।
सपन इन्टरटेन्टमेन्टको व्यवस्थापनमा प्रदर्शन भएको चलचित्र हेर्नका लागि बेलायतका विभिन्न सहरबाट दर्शकहरु अल्डरसट आएका थिए । भुवन केसीको होमप्रोडक्सनमा निर्माण भएको चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् ।
चलचित्रमा सरोज खनाल, सुनिल थापा, प्रशान्त ताम्राकार, उपासना सिंह ठकुरी, प्रियंका एमभी र विल्सन विक्रम राई लगायतका कलाकारहरुले जोडदार अभिनय गरेका छन् ।
स्मरण रहोस्, सपन इन्टरटेन्टमेन लिमिटेडले नेपाली कलाकारहरुलाई बेलायतमा आमन्त्रण गरी विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्नुका साथसाथै नेपाली चलचित्र प्रदर्शनसमेत गर्दै आएको छ । त्यस्तै, पछिल्लो समय बेलायतमा ‘यूके डान्स अफ’ नामक नृत्य प्रतियोगिता आयोजना गरी थुप्रै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा विशेष भूमिका खेल्दै आएको छ । छोटो समयमा दर्शकको रोजाई बन्न सफल नेपाली चलचित्रका नायक धिरज मगर र नायिका जसिता गुरुङ यसका उदाहरण हुन् ।






