पर्वत अन्तर्राष्ट्रिय समाजले आउँदो ३ जुन १८ का दिन अल्डरसटस्थित एम्पायर हलमा वृहत च्यारिटी कार्यक्रमको आयोजना गर्ने भएको छ । सन् २०१७ सालको अक्टोबर महिनामा काठमाण्डौंमा सम्पन्न विश्वभरका पर्वतेहरुको भेलाद्वारा गठन भएको समाजले एक करोड रुपैयाँको अक्षय कोष स्थापनामा सहयोग गर्ने उद्देश्य अनुरुप च्यारिटी कार्यक्रमको आयोजना गर्न लागेको हो । सो च्यारिटी कार्यक्रमको तयारी बारे समाजका अध्यक्ष पूरन गिरिसंग एभरेष्ट टाइम्सका लागि घान्द्रुके कान्छाले गरेको छोटो कुराकानी ।
तपाईको समाजको बारेमा अलिकति जानकारी गराइदिनुहोस् न ?
समृद्ध पर्वत बनाउने अभियानअन्र्तगत गतवर्ष गैरआवासीय नेपाली संघको सातौं विश्व सम्मेलनको क्रममा भेला भएका एनआरएन साथीहरुको बैठकले यसको स्थापना गरेको हो । यसभित्र थुप्रै देशमा संगठित भएका पर्वत समाजहरु संगठित भइसकेका छन् भने केही देशका समाजहरु संगठित हुने क्रममा नै छन् ।
च्यारिटी कार्यक्रम आयोजना गर्नुको उद्देश्य ?
पर्वतको विकासमा एउटा ईट्टा थप्ने हाम्रो उद्देश्य हो । हाम्रा समाज स्थापनापश्चात् गत डिसेम्बर महिनामा बेल्जियममा बसेको पहिलो बैठकले पर्वतको स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यका साथ एक करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुरुप यो च्यारिटी आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा कति संख्या र क–कस्को सहभागिता रहनेछ ?
हामीले कार्यक्रममा देशविदेशका गरी करिब ५००/६०० जनाको सहभागिता रहने अपेक्षा लिएका छौं । बेल्जियमबाट मात्रै ८० जनाको सहभागिता रहने छ । त्यस्तै, स्वीजरल्यान्डलगायत युरोपका विभिन्न देशका पर्वतेहरुको विशेष उपस्थिति रहने छ ।
एनआरएनए आईसीसी अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, नेदिरल्यान्डका एनआरएनए अध्यक्ष मनोहरि शर्मा पौडेल, डेनमार्क एनआरएनएका अध्यक्ष यमलाल सुवेदी, स्वीडेनका एनआरएनए अध्यक्ष अर्जुनकुमार श्रेष्ठ, स्पेन निवासी एनआरएनए युरोपका सहसंयोजक योगराज गिरीको पनि उपस्थिति रहनेछ ।
अर्को रोचक के छ भने, नेपालबाट पर्वत जिल्लाकै सांसद पदम गिरी र लालकाजी गुरुङ, कुस्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी तथा उहाँकी श्रीमती र फलेवास नगरपालिकाका मेयर पदमपाणी शर्माको विशेष उपस्थिति हुनेछ ।
नेपालका सांसद, मेयर र एनआरएनए नेताहरुलाई बोलाउनुको कारण ?
हामी विदेशिएको धेरै वर्ष भइसकेको छ । पर्वत जिल्लाको अहिलेको वर्तमान परिस्थिति के छ भन्ने बारेमा हामीलाई त्यत्ति जानकारी छैन । उहाँहरु जनप्रतिनिधि पनि भएकोले उहाँहरुबाट पर्वत जिल्लाको बारेमा धेरै जानकारी पाइने र हामी विदेशमा बस्ने नेपालीहरुको अवस्था पनि उहाँहरुले बुझुन् भन्ने अपेक्षाका साथ निमन्त्रणा गरिएको हो । साथसाथै हामीले गरेको सहयोगलाई उहाँहरुले सही ठाउँमा उपयोग गरुन् भन्ने पनि अर्को उद्देश्य हो । र, समृद्ध पर्वत बनाउन, पर्वतेहरु एक छन् है भन्ने सन्देश दिनका लागि पनि एनआरएनए एनसीसीहरु हाँकिरहेका पर्वतेहरुलाई निमन्त्रणा गरिएको हो ।
कति रकम संकलन गर्ने लक्ष्य लिनुभएको छ ?
हाम्रो लक्ष्य भनेको एक करोड रुपैयाँ संकलन गर्ने नै हो । मलाई लाग्छ, सो दिन एक करोड रुपैयाँ संकलन हुन्छ किनभने अमेरिकामा बस्नुहुने एकजना हाम्रै पर्वतका साथीले ३० हजार अमेरिकी डलर सहयोग गर्ने वचन दिनुभएको छ । साथै, उहाँले कुस्मामा भएको जग्गा समेत अन्तर्राष्ट्रिय समाजलाई दान दिने विश्वास व्यक्त गर्नुभएको छ ।
क्षेत्रफलको हिसाबले पर्वत जिल्ला अरुभन्दा अलि सानै छ तर विभिन्न क्षेत्रमा पर्वतेहरु निकै सक्रिय देखिन्छन् किन होला ?
पर्वतकोे पानी नै मीठो छ, जसले पर्वतको पानी खान्छ, जहाँ भए पनि नेतृत्व तहमा नै पुग्छन् । त्यसको ज्वलन्त उदाहरणको रुपमा बेलायतलाई लिऊ न । एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्य, तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, बुद्धिष्ट कम्युनिटी सेन्टर युकेका अध्यक्ष ले.रि. नाराणणप्रसाद गुरुङ, सफल व्यापारी रविजङ्ग लामिछाने पर्वतकै हुनुहुन्छ ।
एक करोड रुपैयाँ संकलन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको कार्यक्रमलाई कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
हाम्रा पर्वत अन्तर्राष्ट्रिय समाजका प्रमुख संरक्षक हिजकाजी गुरुङको संयोजकत्वमा सो च्यारिटी कार्यक्रम आयोजना हुँदैछ । उहाँ तमुधिं युकेको उपाध्यक्ष पनि हुनुहुन्छ । स्वीजरल्यान्डमा बस्नुहुने हाम्रा समाजका महासचिव गुणराज शर्माले सचिवालयको काम सम्हालिरहनु भएको छ । त्यस्तै, म, पर्वत वेलफेयर सोसाईटी युकेका अध्यक्षलगायत सिङ्गो कार्यसमिति कार्यक्रमलाई कसरी सफल बनाउने भन्नेतर्फ लागि रहनुभएको छ ।
प्रवेश शुल्क कति राख्नु भएको छ ?
प्रवेश शुल्कबापत डिनरसहित २५ पाउन्ड राखेका छौं । र, विशेष दान गर्न चाहनुहुने दानवीरहरुले अहिले नै वा सोही दिनमा पनि सहयोग रकम बोल्न सक्नु हुने छ ।
कार्यक्रमको थप आकर्षण ?
कार्यक्रमलाई मनोरञ्जनपूर्ण बनाउने हाम्रो पूर्ण कोसिसा रहनेछ । विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न हुने कार्यक्रममा पर्वत वेलफेयर सोसाईटी युकेको निमन्त्रणामा हाल बेलायतमा रहनुभएका लोकदोहोरी गायक विमलराज क्षेत्री र स्थानीय गायिका कल्पना गुरुङको बेजोड प्रत्यक्ष दोहोरी हुनेछ । त्यसका साथसाथै स्थानीय नेपाली कलाकारहरुले विभिन्न गीत तथा नृत्य प्रस्तुत् गर्नेछन् ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?
हाम्रा प्रमुख संरक्षक हित काजी गुरुङज्यू र महासचिव गुणराज शर्माज्यूले देशविदेशका विभिन्न पाहुनाहरुलाई निमन्त्रणा गरिसक्नु भएकोमा छ भने कतिपयलाई गर्दै हुनुहुन्छ । समृद्ध पर्वत बनाउने उद्देश्यअनुरुप पहिलो प्रयासको रुपमा च्यारिटी कार्यक्रमको आयोजना गर्दैछौं । सो कार्यक्रममा सहभागी भई सक्दो सहयोग गरिदिनहुन विदेशमा बस्नुहुने सम्पूर्ण पर्वतवासी र बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्न चाहन्छु ।






