लन्डन । बेलायतको अल्डरसट क्षेत्रका लागि लेबर पार्टीका सांसद एलेक्स बेकरले भूपूगोर्खामाथिको आक्रमणको विषय बेलायती संसद्मा उठाएकी छन् ।
नेपालका लागि सर्वदलीय सांसद समूहकी नेता समेत रहिसकेकी बेकरले गत साता अल्डरसटको म्युनिसिपल गार्डेनमा भएको जातीय घृणा प्रेरित आक्रमणको विषय संसदंमा उठाएकी हुन् ।
‘यो हप्ता, जब हामी हाम्रो देशको सेवा गरेका र गरिरहेका व्यक्तिहरूलाई सम्मान गर्दैछौँ, हाम्रा युद्ध स्मारक नजिकैको एउटा पार्कमा वृद्ध गोर्खा भूतपूर्व सैनिकहरूमाथि दुर्व्यवहार (आक्रमण) गरियो र उनीहरूलाई ‘आफ्नो घर फर्क’ भनियो,’ सासद बेकरले भनेकी छिन्, ‘के प्रधानमन्त्री र यो सदन यस नीच र निन्दनीय आक्रमणको विरुद्धमा मलाई साथ दिनुहुनेछ र हाम्रा गोर्खाहरूको वीरताको प्रशंसा गर्नुहुनेछ? के उहाँ मसँग सहमत हुनुहुन्छ कि गोर्खाहरूले हाम्रो देशका लागि धेरै ठुलो योगदान दिएका हुनाले, उनीहरूको लामो समयदेखि थाती रहेको पेन्सनको मुद्दालाई समाधान गर्ने अहिले नै उपयुक्त समय हो, जसका लागि हामीले काम पनि गरिरहेका छौँ?’
जवाफमा बेलायती प्रधानमन्त्री किर स्टार्मरले भने, ‘म माननीय प्रस्तावकज्यूलाई उहाँको प्रश्नका लागि धन्यवाद दिन चाहन्छु । उहाँ हाम्रा सशस्त्र बलहरूको ठुलो समर्थक हुनुहुन्छ, र यो हप्ता राष्ट्रिय उत्सवहरू पुनः हुन लागेका छन्, जुन उहाँकै अभियानको परिणाम हो । उहाँले उल्लेख गर्नुभएको यो नश्लभेदी (जातीय) आक्रमण पूर्ण रूपमा लज्जास्पद छ, र म यसको कडा निन्दा गर्दछु । म आशा गर्दछु कि सम्पूर्ण सदनले यसको निन्दा गर्नेछ । हामी हाम्रा गोर्खाहरूको साथमा छौँ, जसले हाम्रा सशस्त्र बलहरूमा अतुलनीय योगदान दिएका छन् र निरन्तर दिइरहेका छन् । पेन्सनको विशेष मुद्दाका सन्दर्भमा, रचनात्मक छलफलका लागि बैठकहरू भइरहेका छन् र आगामी दिनमा पनि जारी रहनेछन्, र म यस विषयमा उहाँको समर्पित कार्यको उच्च कदर गर्दछु ।’
अल्डरसटस्थित एक पार्कमा दुई भूतपूर्व गोर्खा सैनिक र एक वृद्धामाथि दुर्व्यवहार तथा हातपात भएको घटना सार्वजनिक भएपछि बेलायतवासी नेपालीलगायतले आलोचना र विरोध जनाएका थिए । स्थानीय राजनीतिक नेतृत्वको पहलमा प्रहरी र काउन्सिललाई समेत जानकारी गराएका थिए । ह्याम्पशायर प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा ५८ वर्षीय बेलायती नागरिकलाई पक्राउ गरिसकेको छ ।
पार्कमा बसिरहेका नेपाली वृद्धवृद्धाहरूलाई ती व्यक्तिले सुरुमा तिमीहरू कहाँबाट आएका हौ, आफ्नो देश फिर्ता जाओ भन्दै नश्लीय गालीगलौज गरेका थिए । पीडितहरूले आफूहरू बेलायती सेनामा सेवा गरेका भूतपूर्व गोर्खा सैनिक भएको परिचय दिँदा पनि उनले अमानवीय शब्दहरू प्रयोग गर्दै हातपात गरेका थिए । प्रत्यक्षदर्शी नेपाली युवा–युवतीले बीचमा परेर स्थिति नियन्त्रणमा लिन खोज्दा उनीहरूको मोबाइल फोन समेत फुटाइदिएका छन् ।






