१० वर्षे जनयुद्धको एउटा कमाण्डर भने अहिले पनि युद्धकै मोर्चामा छन् । नेपाल कम्युनिष्ट पार्टीकै नामबाट आफ्नो गतिविधि सञ्चालन गरिरहेका छन् । जनयुद्धले मात्र जनअधिकार स्थापित हुन सकेन भन्दै समानान्तर सत्ताको आन्दोलनमा छन् नेत्रविक्रम चन्द विप्लव । अहिले अधिकार जनताका लागि स्थापित गर्नका लागि हो वा सत्ता प्राप्तिका लागि हो भन्ने कुराका जनता नै अनविज्ञ छन् ।
विप्लवले युद्ध घोषणा गरेका छैनन् । तर उनका दुई कार्यकर्ता मुठभेडको नाममा मारिएका छन् । दिनहुँजसो ठाउँ ठाउँमा दोहोरो भिडन्तमा परेका छन् । सर्वसाधारण त्रासमा छ । यो त्रासको वातावरणले शान्तिपूर्ण राजनीति फेरि धरापमा परेको छ । यो अत्यन्त राम्रो काम हुन सक्दैन ।
सोमबार मात्र संखुवासभामा विप्लवका कार्यकर्ता र सुरक्षा फौजबीच दोहोरो भिडन्त भयो । गोली हानाहान भयो । यो प्रकरणपछि सुरक्षा फौजले काठमाडौं र विराटनगरबाट थप फौज हेलिकोप्टरबाट पठायो । अहिले त्रासको वातावरण फैलिएको छ । यो वातावरणले जनता फेरि गाउँ छाड्ने स्थितिमा पुगेको छ । युद्धको स्थिति जस्तै सुरक्षा फौजलाई आर्मीको हेलिकोप्टरबाट संखुवासभा पुर्याएर युद्धको स्थिति देखायो । जुन वातावरण उपयुक्त छन् कि छैनन् भन्ने पक्का छ ।
संखुवासभाको सदरमुकाम खाँदबारीबाट असार १२ गते गस्तीमा निस्किएको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले खाना खाँदै गर्दा विप्लवका कार्यकर्ताले बन्दुक पड्काएर तर्साएका थिए । त्यसपछि प्रतिकार गर्दै प्रहरीले फायर खोलेका थिए । त्यसपछि विप्लव समूहका कार्यकर्ता भागेका थिए । भागेपछि प्रहरी रक्षात्मक स्थितिमा बसे । उनीहरुका लागि थप सुरक्षाका लागि विराटनगर र काठमाडौंबाट सुरक्षाकर्मी पठाएका थिए । यसले अघोषित युद्धको छनक दिएको छ ।
विप्लव समूहले पनि राजनीतिक मुद्दा उठाएका छैनन् । राजनीतिक मुद्दालाई स्थापित गर्न खोजे जस्तो पनि देखिँदैन । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति प्रतिशोधपूर्ण प्रचारवाजी बाहेक अरु भेटिदैनन् भने जनतालाई दुःख दिने काम
मात्र भयो भन्नेहरु अहिले बढेका छन् । त्यसैले पनि राजनीतिक रुपमा आफूलाई स्थापित गर्नुपर्नेमा त्यसो हुन सकिरहेको छैन ।
गाउँगाउँमा, व्यापारिक घरानामा चन्दा माग्ने क्रम बढेको छ । कतिपय स्थानमा ज्यान मार्ने धम्की दिएका छन् । यो उचित भएन । जनताको मन जित्ने काम गर्नु पर्ने हो । त्यो काम भएन । त्यसैले जनताको जिविकाको सवालमा कुनै अर्थ राख्ने काम होइन । राजनीतिक रुपमा यसलाई समाधान खोज्नेतर्फ सबैको ध्यान जान जरुरी छ । यसमा ढिलाई हुँदै जाने हो भने भुसको आगो जस्तै सक्लिन सक्छ । यसले मुलुकलाई फाइदा गर्दैन । यसले देश र जनतालाई फेरि पनि लामो समय पछि धकेल्न सक्छ । त्यसैले समाधानको बाटोतर्फ जानुपर्छ । लैजानुपर्छ ।






