काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर बेलायतका ३३ जना पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार बुधबार बिहान भोटेकोशीमा आएको बाढीमा संयुक्त अधिराज्य बेलायतका ३३ जना बेपत्ता भएका हुन् ।
पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका ४०३ पर्यटक सम्पर्कविहीन भएको जानकारी दिएका छन् । सम्पर्कविहीन हुनेमा २०३ पुरुष र २०० महिला रहेका छन् । बेपत्ता हुनेमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । हालसम्म भारतका १३३, अमेरिकाका ४७, अष्ट्रेलियाका ३४ जना, क्यानडाका २४ जना, मलेसियाका १९ जना, युक्रेनका सात जना, सिङ्गापुर र दक्षिण अफ्रिकाका छ/छ जना, न्युजिल्याण्ड र जापानका पाँच/पाँच जना रहेका छन् ।
यसबाहेक जर्मनी, फ्रान्स, रुस, स्पेन, आयरल्याण्ड, नेदरल्याण्ड लगायतका २५ भन्दा बढी देशका नागरिक बाढीमा परेर सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बाढीले टिमुरे र स्याफ्रुबेँसी क्षेत्रका बस्ती, प्रहरीचौकी र भन्सार कार्यालयमा ठूलो क्षति पुर्याएको छ । बाढीका कारण रसुवागढी नाका जोड्ने सडक र पुलहरू समेत क्षतिग्रस्त भएको छ ।






