काठमाडौँ । नेपालमा बुधबार भीषण बाढी गएपछि नागरिकको जीवनरक्षा र उद्धारमा खटिन प्रधानमन्त्री र शीर्ष नेताहरुले आग्रह गरेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार तथा राहतका गतिविधिलाई प्रभावकारी एवं समन्वयात्मक ढङ्गले सम्पादन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्र, क्षतिको विवरण तथा उद्धार र राहतका लागि भइरहेका प्रयासबारे जानकारी लिएपछि उद्धार, खोज तथा राहतका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।
यस्तै विभिन्न राजनीतिक दलका शीर्ष नेताले भोटेकोशी बाढीका कारण उत्पन्न विषम परिस्थितिमा नागरिकको जीवनरक्षा र उद्धारलाई प्रथामिकतामा राखेर अघि बढ्न सम्बद्ध निकायलाई आह्वान गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जालबाट यस कठिन घडीमा प्रभावित नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राखेर जिम्मेवार ढङ्गले अघि बढ्न पार्टीका सम्पूर्ण नेता, सदस्य तथा शुभेच्छुकहरुलाई आह्वान गरेका हुन् ।
सभापति लामिछानेले जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान, जोखिमपूर्ण क्षेत्रमा नबस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पूर्ण रूपमा पालना गर्न अनुरोध गरेका छन् ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्यासित र आकस्मिक रुपमा आएको ठुलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत विपद्को अवस्थामा भोटेकोशी, त्रिशुली नदीको तल्लो तटीय र आसपासको क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित रहन सबैलाई आग्रह गरेका छन् ।
सभापति थापाले सरकारलाई राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न र सवै तहका सरकारसंग समन्वय गरेर उद्दार राहतमा केन्द्रित रहन अनुरोध गरेका छन् । उनले विपद् व्यवस्थापनका लागि सरकारको प्रयासमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहने बताए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवामा आएको बाढीले गरेको ठूलो क्षति गरेकोप्रति दुःख व्यक्त गरेका छन् । अध्यक्ष ओलीले सामाजिक सञ्जाल मार्फत भोटेकोशी र त्रिसुलीमा आएको नदीमा बाढीको बहाव बढेकोले रसुवा,नुवाकोट,धादिङ र चितवनका नदी किनाराका बासिन्दालाई सुरक्षित स्थानमा बस्न पनि ओलीले अपिल गरेका छन् ।
अध्यक्ष ओलीले विपतको यस घडीमा पार्टीका नेता, कार्यकर्ता,जनसंगठन र स्वयंसेवकहरुलाई स्थानीय प्रशासनसँग समन्वय गरेर उद्धार कार्यमा जुट्न तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत रसुवाको भोटेकोशी नदीमा आज बिहान तिब्बततर्फबाट ठूलो बाढी आएको खबरले अत्यन्त दुःखी र चिन्तित भएको बताएका छन् । उनले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले सबै नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न हार्दिक अपील गरेका छन् ।






