एटा संवाददाता
लन्डन । ब्रिटिस नेप्लिज प्रिमियर लिगको उपाधि नयाँ युवाले हात पारेको छ । गत आइतबार ११ अगस्टका दिन बेलायतस्थित नेपाली क्रिकेट क्लबहरुबीच सम्पन्न एक दिने ब्रिटिस नेप्लिज प्रिमियर लिग (बिएनपीएल) टुर्नामेन्टको उपाधि नयाँ युवा क्रिकेट क्लबले हात पारेको हो । फाइनलमा पुग्न सफल ब्रिगेड अफ गोर्खाजसँग भिड्दै नयाँ युवाले जित हासिल गर्यो ।
केटिएम ट्राभल्स एण्ड टुर्स ग्रिनफोर्डको विशेष सक्रियतामा लन्डन टाईगर्स स्पोट्र्स कम्प्लेक्स साउथहलमा आयोजना गरिएको हो । विजेता नयाँ युवा क्रिकेट क्लबलाई ट्रफी युवा व्यवसायी रविजङ्ग लामिछानेले ट्रफी प्रदान गरेका थिए ।
नेपाली क्रिकेट क्लब र नेपाली व्यवसायीहरुलाई एकै ठाउँमा ल्याउने, युवा खेलाडीहरुलाई अवसर प्रदान गराउने उद्देश्यका साथ आयोजना गरिएको टुर्नामेन्टमा सहभागी टिमहरुलाई विभिन्न व्यापारी तथा व्यवसायीहरुले स्पोन्सर गरेका थिए । ब्रिगेड अफ गोर्खाजलाई रेड ट्वीन्टी सेभन मोबाईल (मदन नगरकोटी)ले, टेन क्युओजिएलआरलाई पीपल स्टेट एजेन्ट (सूर्य गुरुङ) ले, गोर्खाज कन्स्ट्रक्सनलाई ह्यारो गोर्खा कन्स्ट्रक्सन (प्रमिश श्रेष्ठ)ले, डाँफे क्रिकेट क्लब ग्रिनफोर्डलाई एचटिआर केयर एण्ड रिक्यु्रटमेन्ट (टंक भट्टराई)ले र हिमालय क्रिकेट क्लबलाई योर ड्राईभिङ्ग स्कुल (राज विष्ट)ले र नयाँ युवा क्रिकेट क्लबलाई खुकुरी बियर (महन्त श्रेष्ठ)ले प्रायोजन गरेका थिए ।
प्रत्येक टिमबाट १०० पाउन्ड दर्ता शुल्क लिइएको सो खेलका विजेता टिमलाई ट्रफीसहित नगद पुरस्कार प्रदान गरिएको थियो ।
लिगको आधारमा खेलाइने टुर्नामेन्टमा हेल्थ एण्ड सेफ्टीलाई विशेष ध्यान दिँदै प्राथमिक उपचार, बिमा र सुरक्षाको व्यवस्था गरिएको थियो । निःशुल्क प्रवेशको व्यवस्था गरिएको टुर्नामेन्टमा खेलाडिहरुलाई प्रोत्साहन गर्न लन्डनवासी नेपाली बिहानै क्रिकेट मैदानमा पुगेका थिए ।






