रोशन मेवाहाङ
लन्डन । सरेस्थित ग्याम्बललेन रिप्लेमा संखुवासभा जिल्लाको ताम्कु, माङतेवा, याफु र बालायाम्दाङ गाविसबाट बेलायत आइबसेका मेवाहाङ राईहरुले वार्षिक भेटघाट २०१९ धुमधामले मनाएका छन् ।
कार्यक्रममा मेवाहाङ समाज बेलायतका अध्यक्ष ध्यान मेवाहाङ राईले हरेक वर्ष मनोरञ्जनका साथ विभिन्न स्थानमा वार्षिक भेटघाट कार्यक्रम गरिने बताउँदै पूर्वी नेपालको मेवाहाङ राई जातीय पहिचानमा आधारित पुस्तक ‘उत्पति र आदिम बसाइँसराई’ अंगे्रजी मूल लेखक मार्टिन ग्याँन्सले लेखेका सो पुस्तकलाई नेपाली अनुवादक तारामणि राईलाई धन्यवाद ज्ञापन गरे । त्यस अवसरमा मेवाहाङ राई या–खोम्मा उपत्यका समितिले पठाएको पुस्तक वितरण गरिएको थियो ।
मेवाहाङ राई याखोम्मा उपत्यका समितिद्वारा प्रकाशित मेवाहाङहरुको साझा सम्पत्ति ‘उत्पति ऐतिहासिक’ र महत्वपूर्ण दस्तावेज प्रकाशन र ऐतिहासिक कार्य सफल गर्नका लागि बेलायत शाखा समिति पदाधिकारी लगायत स्वच्छ भावना, मन र वचनले महत्वपूर्ण कार्यमा आर्थिक सहयोग गर्ने मेवाहाङ राई तथा छोरी चेली ज्वाइँ, इस्ट मित्रहरु सम्पूर्णमा मेवाहाङ राई या–खोम्मा उपत्यका समिति अध्यक्ष इन्द्रकुमारी राईले पठाएको धन्यवाद पत्रलाई अध्यक्ष ध्यानले वाचन गरेका थिए ।
मेवाहाङ राई शव्दकोश, भाषा प्रारम्भिक व्याकरण र मुन्धुम किताबहरु शाखा बेलायतको कार्यसमितिमा रहने गरी संघका उपाध्यक्ष सूर्यविक्रम मेवाहाङ राईले प्रदान गरेका थिए । कार्यक्रममा कार्यरत सचिवको उपस्थिति नभएको कारण उपाध्यक्ष सूर्य विक्रमले कार्यक्रम सञ्चालन गरेका थिए । सचिवले संघमा काम गर्न समस्या भएकाले नयाँ सचिव छान्न छलफल गर्दै संखुवासभा ताम्कु गाविसका विनोद राईलाई दिने निर्णय गरिएको छ ।
कार्यक्रमको अन्तिम चरणमा गंगा र लिला मेवाहाङले नेपाली सांगीतिक दुनियाँमा असाध्यै मन पराइएको युगल गीत ‘ए कान्छा, मलाई सुनको तारा खसाई देउन । त्यो तारामात्र होइन, जून पनि झारीदिउला’ बोलको गीतलाई संयुक्तरुपमा गाएर भरपुर मनोरञ्जन दिएका थिए ।







