काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार २३६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले शुक्रबार जनाएका छन् ।

गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या वृद्धि भए तापनि सङ्क्रमितको सङ्ख्यामा भने कमि आएको चिनियाँ सरकारले जनाएको छ । शुक्रबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट चीनभरीमा मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार २३६ पुग्नुको साथै ७५ हजार ५७६ व्यक्ति सङ्क्रमित भएका छन् ।
भाइरसको शुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् । यस भाइरसबाट ८० प्रतिशत सङ्क्रमित र मृत्यु हुने व्यक्तिमा ९५ प्रतिशत हुबेइ प्रान्तको रहेका समाचारमा जनाइएको छ ।
जेलमा पनि देखियो कोरोना भाइरसको सङ्क्रमण
कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार नाघेको समाचार आइरहँदा यता चिनियाँ स्वास्थ्य अधिकारीहरुले यहाँका कारागारमा पनि यसको सङ्क्रमण देखिएको बताएका छ्न् । शुक्रबार चिनियाँ अधिकारीहरुले जनाएअनुसार चिनियाँ कारागारमा रहेका करिब ४०० सय व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएको पाइएको हो ।
यस प्राणघातक रोगको सङ्क्रमण रोक्ने प्रयासहरु चिनियाँ अधिकारीहरुले खोजिरहेका बेला थुनामा रहेका व्यक्तिमा समेत यस्तो अवस्था पाइएको खबरले यस महामारीको विषयमा चिनियाँ अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।
चीनको पूर्वी भागमा रहेको शाङ्डोङ प्रान्तमा रहेको रेन्चेङ कारागारमा सातजना सुरक्षागार्ड र २०० कैदीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्रान्तीय स्वास्थ्य आयोगले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको बताइएको छ ।
कारागार प्रशासनका निर्देशक वू लेईले शुक्रबार सार्वजनिक भएको यो नयाँ घटनाले रोकथाम र नियन्त्रणका उपायहरुको कार्यान्वयन प्रभावकारी रुपमा अघि बढ्न नसकेको देखिएको बताएका छन् ।






