पातलो जुँगाको रेखी, टिपिकल मंगोल वर्ण, स्लिम शरीर र सुरिलो आवाजका धनी हुन् विकास तुम्बापो (लिम्बू) । यिनै प्रतिभा र विशेषता भएका विकास भ्वाइस अफ नेपाल सिजन २ को अन्तिम प्रतिस्पर्धामा पुग्ने ४ मध्येका एक हुन् । झापा अर्जुनधारा नगरपालिका १ मा जन्मिएका विकास अहिले काठमाडौं बस्दै आएका छन् ।
सामान्य किसान परिवारमा जेठो सन्तानका रुपमा जन्मिएका तुम्बापो गाउँकै सिंहदेवी माविबाट २०६६ सालमा एसएलसी पास गरे भने शनिश्चरे बहुमुखी क्याम्पसबाट प्लस टु पार गरे । ७ वर्षदेखि सांगीतिक दुनियाँमा रम्दै आएका उनी पहिले ‘स्वर संग्राम’ रियालिटी शोका लागि ०६७ सालमा काठमाडौं पसे । जुन प्रतियोगितामा दोस्रो स्थान हासिल गरे उनले । संगीतमा केही गर्छु भनेर केन्द्रीय राजधानी छिरेका विकासको त्यही प्रतियोगितापछि सांगीतिक यात्रामा केही वर्ष ग्याप हुन पुग्यो । फ्रस्टेसन सुरु होला जस्तो भयो रे । परिवारको सल्लाह र बाध्यताका कारण विदेश जाने तयारीमा लागे । नभन्दै मलेसियाको भिसा पनि लागिहाल्यो । अपसोच मलेसिया उड्नका लागि झापामा परिवार र आफन्तलाई बिदाई भेटका लागि जाँदा उनी मोटरसाइकल दुर्घटनामा परे । त्यसपछि विदेश जाने कुरै रहेन । फेरि काठमाडौं नै फर्केर म्युजिकमा लाग्न कम्मर कसे तर अनुभवको कमी, चिनेजानेका कम भएकोले ०७३ सालमा कपडा दोकानमा काम गर्न पुगे । त्यसैबेला विज्ञापन एजेन्सीमा पनि अनुभव बटुले । एजेन्सीमै काम गर्दैगर्दा दरबारमार्गस्थित मधुशाला गीत गजल रेस्टुरेन्ट एन्ड बार सञ्जय तम्रुक चिने । जहाँ चर्चित सांगीतिक जोडी उदय–मनिला सोताङ गुञ्जिन्थे ।
उनै तम्रुकले काम गर्छौं भनेर विकासलाई फोन गरेपछि उनी राजी भएर काम गर्न थाले । गजल गायन गर्दागर्दै रियालिटी शोहरु सिंगिङ आइकन, खोजी प्रतिभा सिजन २, स्वर संग्राममा सामेल भए । नेपाल आइडलमा पनि प्रयास गरे, त्यसमा छानिएन । तैपनि हिम्मत नहारी भ्वाइस अफ नेपाल सिजन १ मा गए, त्यसबाट अघि बढ्न नसकेपछि गजल गायनको प्रभावले दोस्रो भ्वाइस अफ नेपालमा सजिलै छानिए । उनी भन्छन्, ‘प्रायः सबै गीत सुनिसकेको भएर पनि भ्वाइस अफ नेपालमा सेलेक्ट हुन सजिलो भयो ।’ हजारौंलाई पछि पार्दै विकास टप ४ सम्म पुग्न सफल भए । रियालिटी शो स्वर संग्राममा गाउँदाताका विकासले ‘एक मुठे मुटु’, ‘म त तिम्रो भइसके’ गीतमा स्वर दिए ।
एसएलसीलगत्तै २०६६ मा झापाको सरगम संगीतालयबाट संगीत सुरु गरेका उनले काठमाडौं आएर उदय सोताङसँग दुई वर्षसम्म क्लास लिएको उनी बताउँछन् । भ्वाइस अफ नेपालमा अनुबन्धित विकास तुम्बापोसँग विश्वव्यापी सांगीतिक भ्रमण लगायत विषयमा गरिएको कुराकानी ।
सांगीतिक भ्रमणमै लागिरहनुभएको छ नि ?
हो, अहिले भ्रमणमा मात्रै केन्द्रित छु । सुरुमा सिक्किम थियो । त्यसपछि कोरिया गएँ । त्यहाँ सकेर नेपालको पूर्व टुर थियो । अब २८ फेब्रुअरीदेखि दुबई टुर छ । अनि मार्च २ देखि यूके जान्छु होला ।
सांगीतिक टुर गइरहँदा कस्तो महसुस भइरहेको छ ?
अरु सिंगरहरुको गीत गाएर हिँडिरहेको पहिले पनि । भ्वाइसपछि पनि त्यही भइरहेको छ । पहिले त्यही स्थानमा त्यही गीतहरु गाउँदा खासै वास्ता हुँदैनथ्यो । अहिले त्यही ठाउँमा, त्यही गीत गाउँदा अर्कै चाम छ । माहोल अर्कै हुन्छ ।
विदेशमा पहिलेचोटि सिक्किम जाँदा एकदमै रमाइलो भएको थियो । कोरियामा झन् धेरै रमाइलो भयो । अनुभवको हिसाबले धेरै रमाइलो र नयाँ धेरै पाइँदोरहेछ बाहिरतिर । अरु देश पनि जान पाइरहेकोले एक्साइटेड नै छु । जेहोस् रमाइलो हुँदोरहेछ ।
आम्दानी हुँदोरहेछ ?
एक वर्षभरि कन्ट्याक्टमा भएकोले हामीलाई थोरै मात्र आम्दानी हुन्छ ।
आयोजकले कति देश घुमाउने भनेको छ ?
यत्ति नै देश त भनेको छैन । उहाँहरु (आयोजक भ्वाइस अफ नेपाल) ले तयारी गरिरहनुभएको छ । जेहोस् ठूल्ठूला देशहरु सबै हामी घुम्ने सूचीमा छन् । अरु, अरु देशमा जाने सुरु गरिरहनुभएको छ ।
अलि अघि भन्नु भो बेलायत जाने कुरो, भिसा लागिसक्यो ?
लागिसक्यो । मार्च २ तारिखमा नेपालबाट जान्छु होला । यूकेमा २२/२३ दिन बस्छु । यूकेको करिब ९ स्थानका कार्यक्रममा हामी सहभागी हुन्छौं ।
भ्रमणका क्रमका क्रममा आयोजकको सिफारिसअनुसार गीत गाउने कि दर्शक र आफ्नो इच्छाअनुसार ?
हामीले सबै ट्रयाकमा गाउनुपर्छ । लाइभ होइन । भ्वाइस अफ नेपालमा जुन जुन गीत गाइयाथ्यो, त्यही त्यही सुन्न चाहन्छन् बाहिरका मान्छेहरु । नयाँ पनि समेट्छौं । मैले प्रायः स्लो बिटका गीत गाएकोले भ्वाइसमा गाकोहरु भन्दा बाहिरका गीत बढी गाउँछु । माहोलअनुसार पनि गाइन्छ । दर्शकहरुले नाच्ने खालका गीतको डिमाण्ड गर्नुहुन्छ । जसकारण कार्यक्रमको सुरुदेखि नै नाच्ने नाच्ने खालका गाइन्छ ।
जस्तै ?
नेपालीहरुलाई सुन्दाखेरी नाचौं नाचौं लाग्ने । मनपर्ने खालका, चलेका पुराना गीतहरु । ‘लेकाली हे चोयाको डोको…’, ‘मोहनी लाग्ला है…’ । बाहिरका मान्छेहरु सुन्नेभन्दा पनि बढी नाच्ने खालका रुचाउँछन् बाहिरतिर । सुरु सुरुमा स्टेज चढ्दाचाहिँ स्लो स्लो गाउँछौं । र, पछि नाच्ने खालका गाउँछौं ।
प्रतिस्पर्धा चलिरहँदा र अहिले टुरमा गइरहँदाको मेहनतमा तलमाथि छ ?
मेहनत त धेरै फरक छ नि ! त्यहाँ (प्रतिस्पर्धा) मा हुँदा खेरी अर्कै खालको धेरै तनाब हुन्थ्यो । बा शब्द पो बिर्सिने हो कि । बा टाइमिङ पो बिर्सिने हो कि ? त्यस्ता कुराहरुले एकदमै टेन्सन हुन्थ्यो । अनि प्रस्तुति कस्तो दिने होला भन्ने हुन्थ्यो । त्यतिखेर क्यामरा, जजहरु हुने भएकोले डर हुन्थ्यो, केही बिग्रिन्छ कि भनेर । बाहिरको टुरमा निर्धक्क होइन्छ । आपैंmमा एकदमै रमाइलो लाग्छ । मेहनत गर्नुपर्छ किनकि शब्द त बिगार्न भएन । तर, प्रतियोगिता बेलाजस्तो डर नहुने भएकोले एकदमै रमाइलो हुन्छ ।
कार्यक्रममा प्रस्तुत हुने गीतका विषय र भेगीय हिसाबले फरक फरक गाउने गर्नुहुन्छ ?
म स्टेज चढ्दा राष्ट्रिय गीत गाउँछु । त्यसपछि स्लो खालका आधुनिक गीतहरु गाउँछु । केही साताअघि कोरियामा हामीलाई आदिवासी जनजाति महासंघले बोलाएको थियो । त्यहाँ हामी पूर्वदेखि पश्चिमसम्मका कलाकारहरु थियौं । जहाँ सबै थरिका जातजातिका कलाकारलाई बोलाउनुभएको थियो । त्यहाँ मैले पूर्बेली गीत गाएँ । मैले पश्चिमेली देउडाहरु खासै गाएको छैन । पूर्बेली खास लिम्बुहरुको पनि हो । त्यो कार्यक्रममा लिम्बुको प्रतिनिधित्व गरेर गाएको थिएँ । त्यहाँनिर मगर, गुरुङ, तामाङहरु पनि हुनुहुन्थ्यो ।
भनेपछि भ्वाइसमा सहभागिताले जोश बढाएको छ ?
धेरै, म संगीत क्षेत्रमा टिनएजमै आएको हुँ । बीचमा गर्दै गएसी केही नभएको हो कि भन्ने भान भएर फ्रस्टेसन जस्तो भएको थिएँ तर अहिले भ्वाइसमा आइसकेपछि एकदमै जोश छ । अबचाहिँ यो क्षेत्रलाई कहिले पनि छोडिँदैन । यसैलाई आत्मसात गरेर पछिका दिनमा केही गर्छु भन्ने आँट दिएको छ । र, मान्छेहरुबाट माया पनि त्यस्तै पाएको छु ।
टुरपछिको योजना पनि सोच्न थाल्नु भा छ ?
एक वर्षभरिमा आफूले आफूलाई चिनाउने बेला हो । कत्ति रियालिटी शो हुन्छन्, कत्ति साथीहरु अगाडि आउन सक्नुभाको छैन । राम्रा राम्रा गीत ल्याउन सकियो भने अहिलेको चामलाई बचाएरै जान सकिन्छ कि भनेर गीतहरु गरिराखेको छु ।
गीत पनि लेख्नुहुन्छ ?
मैले त्यत्ति गीत त लेखेको छैन । तर, भर्खरै गीत रेकर्ड भएको छ । त्यो गीत दाइले लेख्नु भएको तर पूरा नभएको । त्यसको अन्तिम भाग वा सेकेन्ड अन्तराचाहिँ मैले लेखेको छु । जेहोस् लेख्नु प¥यो भने लेख्छु ।
संगीत क्षेत्रबाट यसो गर्न पाए हुन्थ्यो भन्ने छ ?
सुरुमा संगीत सिक्दाको क्षण छ नि, त्यतिखेर पछि मैले सिंगर भएर चिनिन भने पनि एउटा म्युजिक गुरु भएर चिनिन्छु भन्ने सोचहरु आउँथ्यो । पछि संगीत कक्षालाई निरन्तरता दिन नसकेपछि अहिले अभैm मेहनत गर्छु । नेपालको सांगीतिक क्षेत्रमा आप्mनो छुट्टै पहिचान बनाउँछु । नेपालको कुशल गायक बन्ने चाहनामात्रै हो । राम्रो गायक बनेर देशलाई योगदान पु¥याउँछु भन्ने उद्देश्य हो ।
गायनमा निखारता ल्याउन रियाज चाहिन्छ होला, समय तालिका बनाउनुहुन्छ ?
सेडुयल पहिले थियो, उठेपछि डेढघण्टा रियाज गरिन्थ्यो । अहिले बिजी हुन्छु, कुदेकोकुदेइ हुन्छ । खानेबस्ने, सुत्ने ठेगान हुँदैन । घरीको कहाँ हुन्छ, घरी कहाँ । अहिले अलि कम भइरहेको छ । आज मेरो समय खाली छ भन्ने भयो पनि बिहानैदेखि मुड बदलिएर आउँछ । कोही बेलाचाहिँ बिहानदेखि नै तनाव हुन्छ । त्यसैले खासै रियाजमा गइएको हुँदैन । जहाँ हिँड्दा पनि हेडफोन कानमै हुन्छ । त्यसबाट गीतहरु सुनिराखेकै हुन्छु । अहिले नयाँ नयाँ गीत त्यत्तिकै आइरहेका छन् । ती गीतहरु सुन्दा त्यत्तिकै बिजी भइराखेको छ । सुत्ने बेलामा पनि त्यही सुन्ने, बिहान उठ्ने बेलामा पनि त्यही सुन्ने भइराखेको छ । किनकि रेकर्ड गर्नुछ । नराम्रो रेकर्ड भयो भने मजा आउँदैन । बिहानै काम नभएको बेला उठेर टक्क रियाज गर्ने अनि अरु काम गर्ने ।
यो कर्म गरेर जिन्दगी धानिएला जस्तो लाग्छ ?
यहीबाट म जिन्दगी गुजारा गर्छु । यही नै हो मेरो सबै भनेर काठमाडौं छिरियो । यहाँ आएर सबै कुराहरु बुभ्mदै गइयो । मान्छेहरु चिन्दै गइयो । पुराना गायकहरु पनि देखियो । सबै कुरा हेर्दा नेपालका कलाकारहरु संगीतमै मात्र लागेर बाँच्न सक्ने कमैमात्र देखेँ । त्यत्तिकै हुन्छु भन्ने मन डर हुन्छ । त्यसैले मेरो सबै म्युजिकमै हुन्छ भन्ने विश्वास लिइहालेको छैन । मैले पछिका दिनमा केही बिजनेस गर्छु भन्ने सोचेको छु ।
आमाबुबा, साथीसंगीको कस्तो छ प्रतिक्रिया ?
सुरुमा त घरकै सपोर्टले आइयो । तर काठमाडौं आइसकेपछि तीन वर्षजति हल्लेरै बितेजस्तो भएपछि ठूलो छोरो भएकोले पनि घरबाट एकदमै प्रेसर आएको थियो । यसरी हुँदैन अब छोड्दे । तेरो उमेर बढ्दै गइसक्यो । बिहे गर्ने बेला भइसक्यो । यसरी डुलेरमात्रै चल्दैन, हेर भन्नुभयो । मैले के छ त विकल्प भन्दा, बिदेश जा । भाइहरु पनि हुर्किसक्यो आमाबुबाले भन्नुभएपछि मैले विदेश जान पासपोर्ट बनाएको । अहिलेचाहिँ म्युजिक क्षेत्रमा केही गर्छु र गर्नुपर्छ भनेर उहाँहरुले प्रेरित गरिरहनुभएको छ र उत्साहित हुनुहुन्छ । अभैm राम्रो गर भनेर उहाँहरुले सल्लाह सुझाव दिनुुहुन्छ । फ्यामिलीमा बुबाहरु पनि गाउनुहुन्छ । उहाँहरुकै कारण मैले गाउन सिकेको हुँला । त्यही भएर अहिले छोड्दे भन्ने खालको कुरा छैन । अझै गर । राम्रो भइराखेको छ । अभैm राम्रो गर्दै जा भन्नुहुन्छ ।
म्युजिक पहिलेजस्तो छैन नि ?
अहिले म्युजिकको पाटो नै चेन्ज भइसकेको छ । पहिलेका कालजयी गीतहरु सुन्ने मान्छे नै कम हुन्छन् । थोरैले मात्रै सुन्नुहुन्छ । कालजयी गीतहरु पनि अहिले आउँछ । तर कम मान्छेहरुले पनि सुन्छन् ।
म्युजिकमा लाग्न को बाट प्रेरणा मिल्यो ?
मैले म्युजिक स्टार्ट गर्दा सुनेको सिंगरहरु राजेश पायल राई, शम्भू राई, जगदीश समालहरु, नारायण गोपाल, भक्तराज आचार्यहरु । सुरु सुरुमा उहाँहरुकै गीत सुन्दै आइयो । जब म्युजिक सिक्न थालियो, त्यहाँबाट पुराना गीतहरु अलि बढी सुन्न थालियो । त्यहाँबाट स्वरसम्राट नारायण गोपाल, भक्तराज आचार्य, दीप सरहरु, अरुण थापाहरुका गीतहरु सुन्न थालेँ । सुन्दासुन्दै उहाँहरु नै हो खास प्रेरणा ।