अध्यक्ष धनबहादुर सार्की
एटा अनलाईन संवाददाता ।



लण्डन । गत नोभेम्बर २०१९ मा गठन भएको नेपाली वेलफेयर सोसाईटी युकेले पछिल्लो समय कोरोनाको इपिसेन्टरको रुपमा चिनिएको उदयपुरको भुल्केका २० घर परिवारलाई राहत वितरण गरेको छ । विश्वभर कोरोना भाईरसले अस्तव्यस्त बनाइरहेको अवस्थामा नेपाली समुदाय बेलायतलाई के कस्तो असर गरेको छ भन्ने बिषयमा नेपाली संघसंस्थाका अध्यक्षहरुसंग कुराकानी गर्ने क्रममा नेपाली वेलफेयर सोसाईटी युकेका अध्यक्ष धनबहादुर सार्कीले जनाएका हुन् ।
बिशेषगरी कोरोना भाईरस वृद्धवृद्धा र दिर्घरोगीहरुमा बढी प्रभावित हुने विभिन्न विज्ञहरुले बताइरहेको अवस्थामा बेलायतमा रहेका नेपाली संघसंस्थाले वृद्धवृद्धा तथा दिर्घरोगीहरुलाई बिशेष सहयोग गर्दै आइरहेको छ । सोही क्रममा नेपाली वेलफेयर सोसाईटीले त्यस्ता व्यक्तिहरुलाई सहयोग गर्ने उद्देश्य अनुरुप कोरोनाको शुरुवातमै इर्मेजेन्सी विभाग गठन गरिएको अध्यक्ष सार्कीले जनाए । उनका अनुसार हालसम्म आप्mना संस्था भित्र कुनै पनि सदस्यलाई संक्रमण नदेखिएको बताउदै नेपालमा जो कोरोना तथा लकडाउनबाट पीडित भएका छन् उनीहरुलाई आर्थिक सहयोग गर्ने उद्देश्य अनुरुप राहत संकलन गरिहेको बताए । उनले ‘यस लकडाउनको अवस्थामा कहाँ र कस्लाई राहतको नितान्त आवश्यकता छ, उहाँहरुलाई वितरण गर्न हामीले संघीय मामिला तथा समन्वय प्रशासन मन्त्रालय अन्र्तगत उत्पीडित, उपेक्षित, दलित बर्ग उत्थान बिकास समितिका कार्यकारी निर्देशक डा. वुद्धि नेपालीलाई अनुरोध गरेका छौं, उहाँकै सिफारिशमा आज मंगलबार उदयपुरको भुल्केमा राहत वितरण गरिएको हो भने भोली बुधबार चितवनको घैलाघारी सुकुम्बासी टोलमा वितरण गर्ने योजना रहेको छ’ भने ।
उनका अनुसार नेपाली वेलफेयर सोसाइटी युकेको आर्थिक सहयोगमा उदयपुरको भुल्केका २० घर परिवारलाई मंगलबार खाद्यन्न सामाग्री वितरण गरिएको हो । २० घर परिवारलाई एक महिनासम्म पुग्ने ३० केजी चामल, ४ केजी दाल, सेनिटाइजर, साबुन लगायतका सामाग्री वितरण गरिएको छ । सो राहत वितरण कार्यक्रममा वडाध्यक्ष अवधेश प्रसाद चौधरी, नेकपाका नेता यदु ढकाल, नेपाली कांग्रेसका इश्वरीप्रसाद भट्टराई, राप्रपाका पवित्रा गिरी, प्रहरी हवल्दार प्रमोद कुमार यादव लगायत सहभागी रहेको समेत अध्यक्ष सार्कीले जानकारी दिए ।






