माटाका भाँडाबाट राम्रो कमाई गर्दै नुवाकोटका कुमाल समुदाय

SHARE:

नवदीप श्रेष्ठ
त्रिशूली, नुवाकोट । जिल्लाका कुमाल समुदायले बजारको मागलाई ध्यानमा राखेर बनाएका माटोका भाँडाकुँडाबाट मनग्ये आम्दानी गरिरहेको बताएका छन् । बजारको अभावका कारण नभई गतिलो माटोको अभावका कारण धेरै कुमाल परम्परागत पेशाबाट पलायन भए पनि पुख्र्यौली पेशालाई निरन्तरता दिइरहेकाले माटोका भाँडाको बिक्रीबाट पनि कमाई राम्रो भइरहेको बताएका हुन् ।

बजारको भन्दा पनि भाँडा बनाउन उपयुक्त माटोको अभावले कुमाल आफ्नो परम्परागत पेशाबाट पलायन भएको विदुर नगरपालिका–५, हसनटारका मीनकुमार कुमालले बताए । “भाँडा बनाउन आवश्यक माटो पाउन गाह्रो छ । जस्तो पायो त्यस्तो माटोले भाँडा बन्दैन”, उनले भने, “यहाँ वरपरमा बट्टारको कभर्ड हल क्षेत्र र च्वाडी स्कूलको जग्गामा मात्र भाँडा बनाउन उपयुक्त माटो पाइन्छ । अहिले त्यहाँ माटो झिक्न दिँदैनन् । माटै नभएपछि भाँडा कसरी बनाउने ?”

भाँडा बनाउनका लागि यसपटक वडाध्यक्षको रोहवरमा कभर्ड हल क्षेत्रबाट माटो ल्याएर भाँडा बनाइरहेको उनले बताए । उनले वर्षभरि बनाएका भाँडाहरु सबै बिक्री हुने गरेको छ । माटो पाउन मुस्किल हुन थालेपछि भाँडा बनाउनै छाडेका जीतबहादुर कुमालले स्थानीय सरकारले कुमाललाई सहज रुपमा माटोको व्यवस्था गरिदिनुपर्ने बताए । “हामी किन्न परेपनि किन्छौँ । तर माटो जहाँ पाइन्छ त्यहाँबाट सहज रुपमा झिक्न दिने व्यवस्था गर्नुपर्छ”, उनले भने । भाँडा बनाउनका लागि लिसाइलो हल्का कालो माटो आवश्यक पर्छ । त्यो माटोलाई मुछेर पाँच/सात दिन कुहाएपछि झनै लिसाइलो हुने र त्यस्तो माटोबाट भाँडाहरु राम्रो र बलियो बन्ने जीतबहादुर कुमालले बताए ।

बजारको माग अनुसारका सामग्री बनाउनेको कमाई राम्रो छ । पहिलेको जस्तो हण्डा, घ्याम्पोहरुको भने अहिले माग कम भएको छ । तर गमला, गाग्रो, सुराही, पाला, दियो, फूलदानी, एस्ट्रे, फिल्टर, गिलासहरुको माग धेरै नै भएको मीनकुमार कुमालले बताए ।

विदुर नपा–५, हसनटारका कुमालको पेशालाई निरन्तरता दिन र आधुनिक आवश्यकता अनुसारका भाँडाहरु बनाएर आत्मनिर्भर बनाउन उनीहरु घरेलु विकास शाखाको गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रमको सहयोग र सामुदायिक तथा व्यावसायिक प्रवद्र्धन समाजको सहजीकरणमा माटोका आधुनिक भाँडा बनाउने दुईमहिने तालीममा सहभागी भइरहेका छन् । तालीममा अहिले महिला र पुरुष गरी २९ जनाको सहभागिता रहेको छ । बजारको माग अनुसारको अहिले आवश्यक माटाको भाँडाहरु बनाउन तालीममा सहभागी भएको जीतबहादुरले बताए । कुमाल समुदायको परम्परागत पेशालाई अत्याधुनिक प्रविधिको सहयोगमा उत्पादनमा नयाँपन दिनु अहिलेको आवश्यकता भएको प्रशिक्षक नारायणभक्त सिजापतीले बताए ।

बजारमा सेरामिक्सका गिलास, प्लेट लगायतका भाँडाहरु पाइन्छन् । सेरामिक्स भनेकै माटाको भाडा हो । यसको कच्चापदार्थ विदेशबाट ल्याउनुपर्ने भएकाले लगानी केही बढी लाग्ने गरेपनि रोजगारी र आम्दानी पनि बढी हुने प्रशिक्षक सिजापतीले बताए । अहिले यहाँका कुमालहरुले बुट्टेदार गमला, सुराही, फिल्टर लगायतका सामग्री निर्माण गर्न सिकिरहेका छन् । बजारको माग अनुसारको भाँडा बनाउन पोख्त भएका उनीहरुको पुख्र्यौली सीपको संरक्षणका साथै आर्थिक रुपमा सबल बनाउने सामुदायिक तथा व्यावसायिक प्रवद्र्धन समाजका कार्यक्रम संयोजक ध्रुव पुडासैनीले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!