लमजुङ । लमजुङको मध्ये नेपाल नगरपालिका वडा नं १० वर्धन गाउँमा जन्मिएका ठाडो भाकाका सर्जक स्व देउबहादुर दुराको जन्मस्थल, उहाँकै स्मृतिमा बनेको देउबहादुर दुरा स्मृति संग्राहलयमा लोपोन्मुख ‘ठाडो भाका’ र ‘कौडा गीत’ छायाँकन गरिएको छ । उक्त संग्राहलय वर्धन गाउँमा नै निर्माण भएको छ । ठाडो भाका सर्जक एवं सम्मानका लागि ठाडो भाका लोककला प्रतिष्ठान नेपालका संरक्षक बुद्धिमान दुरा धम्पुको पहलमा ठाडो भाका र कौरा गीतको छायाँकन भएको हो ।
ठाडो भाकाको शिरोमणि भनेर स्व दीर्घराज अधिकारी (भेँडीखर्के साइँला) लाई भनिए तापनि ठाडो भाकाको वास्तविक सर्जक भने स्व. देउबहादुर दुरा र स्व पञ्च सुब्ब गुरुङ हुन् । देउबहादुर दुराले आजभन्दा एक सय वर्ष अघि ठाडो भाकाको सिर्जना गरेको स्थानीय जेष्ठ नागरिकहरु बताउँछन् । ठाडो भाका मिठो गाउने त्यहाँका स्थानीय ७३ वर्षीय जित सुब्ब दुराका अनुसार ‘ठाडो भाका अत्यन्त रसले पूर्ण भएको गीत हो । यसमा माया पिरतीका कुरा, धर्म संस्कृति, वर्तमानको विकृति, विसंगतिका बारेमा पनि गीतमा गाउन सकिन्छ । र वर्धन गाउँ नजिकै रहेको करापुटार महादेव मन्दिरमा शिवरात्री मेला लाग्ने गरेको र मेलामा स्व देउबहादुर दुरा र स्व पञ्च सुब्ब गुरुङले केटाकेटी भएर गाएको उनी बताउँछन् ।
नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियो प्रालि तथा सुपर युनिक एम्युजमेन्टको संयुक्त रुपमा छायांकन गरिएको ठाडो भाका तथा कौडा गीतमा ठाडोभाका तर्फ बुद्धिमान दुरा धम्पु र सीता दुराले संयुक्त लेखन र मुख्य स्वर दिएका छन् । गायनमा साथ दिनेमा पुरुषतर्फ जित सुब्ब दुरा, लाल सुब्ब दुरा र हरिबहादुर दुरा रहेका छन् । उमा गुरुङ, हस्तमाया दुरा, प्रतिमा गुरुङ र राधा भण्डारी छन् ।
त्यसैगरी कौडा गीततर्फ कुशल तामाङ र सीता दुराको स्वर रहेको छ । उक्त गीतमा निर्देशन प्रेम गुरुङ र छवि सुवेदीको रहेको छ भने नृत्य निर्देशक साजन गुरुङ रहेको छ । उक्त गीतमा मोडलका रुपमा अर्पण गुरुङ र धुपा दुरालाई देख्न सकिन्छ ।
लमजुङको वर्धन गाउँमा वर्षमा सरस्वती पूजा गर्ने हुँदा उक्त अवसरमा २०७७ मंसिर १९ गते सरस्वती पूजा गरी सरस्वती बन्धन र ठाडो भाका छायांकन भएको छ भने मंसिर २० गते साँझ सोरठी र कौडा गीतको छायांकन देउबहादुर दुरा स्मृति संग्रहालयमा भएको छ । उक्त भिडियो सामग्रीहरु नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियो प्रा लि को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।






