गायक विमल परियार करिब ६ वर्षदेखि लोकदोहोरी क्षेत्रमा क्रियाशील छन् । ‘घान्द्रुक घुम्न जाउँ…’ बोलको गीत गाएर चर्चा बटुल्न सफल विमलले यस अवधिमा झन्डै ३ दर्जन गीत गाइसकेका छन् । सामान्य किसान परिवारमा जन्मिएका पोखराका चर्चित गायक परियार गीत, संगीतकै माध्यमबाट देश, जनताको पक्षमा काम गरिरहेको बताउँछन् । प्रस्तुत छ, गायक विमल परियारसँग गरिएको कुराकानी ।
अहिले केमा व्यस्त हुनुहुन्छ ?
यसै हप्ता लोकदोहोरी गीत फूलकेसरी युट्युबमार्फत् सार्वजनिक भएको छ । शब्द रमेश बिजीको, लय मेरो र सम्झना भण्डारीले आवाज दिएकी छन् । जुन गीतबाट मैले अभिनय पनि सुरु गरेको छु । त्यस्तै दुई, तीन हप्ताअघि ढल्की ढल्की नाच बोलको गीत पनि रेकर्ड गरेको थिएँ । सो गीत गीत युकेमा छायांकन हुँदैछ । यो गीतको लय, शब्द देवान किनारको छ भने आवाज म र देवी घर्ती मगरले भरेका छौं । गीत गुरुङ, मगर कल्चरमा आधारित छ ।

यो क्षेत्रमा लाग्नुभएको कति सालमा ?
वि.सं. ०६४ मा प्रवेशिका परीक्षा (एसएलसी) दिएँ । त्यसपछि २ वर्षजति इन्डिया बसेँ । भारतबाट फर्केर २०६८ सालतिर गीत, संगीतमा लागेको हुँ ।
के देखेर गायनमा लाग्नुभयो ?
गायक नै बन्ने सपना त थिएन । गाउँघरमा अलि अलि गाउने क्रममा गायक हुने स्वर छ, कलाकारिता क्षेत्रमा प्रवेश गर्नु भन्ने सल्लाह, सुझाव साथीभाइ, शुभचिन्तक, आफन्तबाट आयो, त्यसकारण यो क्षेत्रमा लागेको हुँ । मुख्यतः म नाम कमाउन चाहन्थें, अहिले राम्रो छ ।
गायनमा प्रवेश गर्न कोबाट प्रेरित हुनु भयो ?
म सानैदेखि गीत, संगीतमा अत्यन्तै रुचाउँथें । आफैंमा पनि गायक मेरै वडावासी आदरणीय काका युक्तमान गुरुङ हुनुहुन्छ । आठ कक्षा पढ्दा उहाँले मैले गाएका सबै गीत मन पराउनुहुन्थ्यो, त्यसक्रममा मेरो घरमा आउनु भएर “हिँड बावु, तँलाई म ठाउँमा पु¥याउँछु भन्नुहुन्थ्यो, तर मैले भन्थे होइन काका म अहिले जाँदिनँ, एसएलसी पास गरेपछि सोच्नेछु ।” त्यसरी समय बित्दै गयो । काका पनि जापान जानुभयो । म पनि इण्डिया गएर फर्केपछि गीत गाउन लागें । त्यसक्रममा काकासँग फेसबुकमा भेट भयो । काकालाई हिँड माया सँगै घुम्न जाउँ गीत सुनाएँ । म एउटा निम्न आय भएका मान्छे । उहाँ जापानमा रहँदै कुरा भयो । ल काका मैले यस्तो गीत गाएको छु, त्यो गीतको अडियो गरिसकेको छु, भिडियो गर्न सकिएन । विशेषगरी, हाम्रा गाउँठाउँलाई प्रचार गर्न यो गीत बनाएको छु भने । काकाले भन्नुभयो, ‘डन्ट वरी’ म एकदम हेल्प गर्छु । म तँलाई सानैदेखि भन्ने गर्थे । सुटिङमा जाउ कत्ति पैसा चाहिन्छ, सपोर्ट गर्छु भन्नुभयो ।
त्यसपछि गाउँमा गएँ सबै काम भयो । त्यसकारण उहाँ (युक्तमान गुरुङ) ले नै चिनाइदिनु भयो । म घान्द्रुकमै भएको भए आफ्नो लागि गाउँथें, तर अरुको लागि गाउन सक्ने थिएनँ । अहिलेचाहिँ विमलले गाउँदोरहेछ भनेर गाउँवासी खुसी हुनुहुन्छ ।
विशेषगरी कुन विधाका गीत गाउन मन पराउनुहुन्छ ?
धेरै लोकगीत, दोहोरी गाएको छु । त्यसमा पनि मौलिक संस्कृति झल्काउने खालका गीत गाउने अवसर बढी पाएको छु । म गुरुङ कल्चरमा हुर्किएका कारणले पनि सालैजो, कौडालगायत गीत बढी गाउने गरेको छु ।
त्यसमध्ये विमल परियार चिनाउने गीतचाहिँ ?
मैले सन् २०१४ मा ‘घान्द्रुक घुम्न जाउँ…’ बोलको कौडा गीत बजारमा ल्याएको थिएँ । त्यसमा महिला आवाज गायिका पूर्णकला बिसीको थियो । शब्द प्रकाश सपूत र लय आफैंले बनाएको थिएँ । त्यसले राम्रो बजार लियो । गीतमार्फत म आफ्नो गाउँलाई चिनाउन चाहन्थे । सो गीतले जताततै चर्चा पनि पायो भने विमल परियारलाई परिचित हुन धेरै सहयोग पनि मिल्यो ।
त्यसअघि पनि प्रेमसागर पौडेलेको शब्द र लयमा स्याड गीत गाएको थिएँ ‘म बस्ने मुटुमा’ । त्यो गीत सीआरबीटीको ३, ४ औं नम्बरमा परेको थियो ।
गाउने मात्र कि सिर्जना पनि गर्नुहुन्छ ?
बढी गाउने गर्छु । कतिपय गीत सिर्जना, संगीत पनि भरेको छु ।
सांगीतिक क्षेत्रबाट कत्तिको सन्तुष्टि मिलिरहेको छ ?
मेहनत गर्न सकेमा राम्रो छ । जेहोस्, सन्तुष्ट नै छु ।
यो क्षेत्र व्यवस्थित हुन सकेन भन्ने गुनासो पनि सुनिन्छ ?
मलाई त राम्रै लागिरहेको छ क्यारे ! कलाकारहरुले जस्तो पनि गीत गाउने भएकोले व्यवस्थित नभएको हो कि भन्ने हो । व्यवस्थापन गर्न सरकारबाट पहलकदमी नभएर छाडा गीतहरु बढी आइरहेका छन् । समाजमा नपच्ने खालका गीतहरु, लोकदोहोरी क्षेत्रमा आएर व्यवस्थापन नभएको भन्ने हो । प्याटर्न चेन्ज भएको छ । लोकदोहोरीपन त छ, त्यहाँ ।
यस हिसाबले मौलिक संगीतको संरक्षण र विकास हुन्छ ?
लोकदोहोरी क्षेत्रमा राम्र्रै भइरहेको छ । मैले कल्चर गीत पनि गाउने भएकोले लोक संस्कृतिको जगेर्ना हुनेमा आशा छ । म यसमा खुसी पनि छु ।
कञ्चरल गीतप्रति आमनेपालीको आकर्षण कस्तो पाउनुभएको छ ?
एकदमै झुकाव छ । सालैजो, कौडा, रोइलाजस्ता गीत बढी रेकर्ड भइरहेका छन् ।
नवकलाकारको आगमनचाहिँ ?
राम्रा–राम्रा कलाकारहरु आइरहेको अवस्था छ ।
उनीहरु टिक्लान् ?
मेहनत गर्यो भने टिक्न सकिन्छ । यदि मेहनत गरिएन, दिमाख घुमाइरहन्छन् भने त्यस्ताहरु टिक्न गाह्रै छ । अहिले प्रतिस्पर्धाकै जमाना छ ।
विदेश जाने तरखर ?
हङकङ र जापान गएको थिएँ । दुबई, कतारमा कुरा चलिरहेको छ ।
विमल परियार यो क्षेत्रमा स्थापित मान्न सकिन्छ ?
त्यो त दर्शकहरुले मूल्यांकन गर्नुहुन्छ तर, मैले गाएका गीतहरु कसैले छ्या कस्तो नराम्रो भन्ने चाँहि छैन । त्यसैल स्थापित भन्ने कि नभन्ने ।
अब यही क्षेत्रमै अगाडि बढ्नुहुन्छ ?
मैले यो क्षेत्र नै लाइफ सोचेको छु । हेरौँ, म मेहनत गर्दै जानेछु, समयले के गर्छ । यो क्षेत्र नसाजस्तै रहेछ । कुनै बेला यो क्षेत्र गाह्रो हुन्छ कि, १÷२ वर्ष बाहिर (विदेश) बसौ कि भनेर साउदीको भिसा लागिसकेको मान्छे एउटा गीत गाएपछि चर्चा पायो, त्यसपछि यही क्षेत्रमा केही गर्नुपर्छ भनेर लागेँ । सबैले माया गर्नुभयो । ५/६ वर्ष भयो अहिलेसम्म राम्रै छ ।
यो क्षेत्रको कमाइले जीवन धानिएको छ त ?
अहिलेचाँहि आफ्नो लागि पुगेको छ । गीतबाट भएको आम्दानीले परिवारलाई खुसी दिन त सकेको छैन हुँला, तर, नामचाँहि कमाएको छु । टेलिभिजनको स्क्रिनमा छोराको अनुहार देख्दा, गीत बज्दा बावुआमा पनि खुसी हुनुहुन्छ । आर्थिक रुपले नभए पनि नामको हिसाबले खुसी हुनुहुन्छ उहाँहरु । काठमाडौंमा एक्लो जीवन राम्रो चलिरहेको छ ।
नयाँ आगन्तुकलाई के सुझाव छ ?
विशेषतः सिकेर आउनु, नयाँ भाइबहिनी अहिले पैसाले गायक बनिरहेको अवस्था छ । क्षमता नभए पनि पैसा भएपछि कम्प्युटरले जे पनि गर्न सक्ने भएको छ । त्यस्तालाई स्टेजमा गाउन गाह्रो हुन्छ, न्याचुरल स्वर निकाल्नलाई । सम्भावना हुने, गाउन सक्छु, सिक्छु भन्नेहरु यो क्षेत्रमा लाग्दा हुन्छ ।
तपाईंले सिक्नुभयो कि भएन ?
म पहिले पोखरा सिक्न गएको १०/१५ दिन । नवराज गुरु भन्ने हुनुहुन्थ्यो । बाबुलाई लोकदोहोरी गाउन सिक्न पर्दैन । यो त गड गिफ्ट छ । सीधै रेकर्डमा जान सक्नुहुन्छ भन्नुभएको थियो । त्यसपछि मैले खासै सिकिनँ ।
नयाँ योजना पनि बनाउनुभएको छ ?
पञ्चेबाजाको गीत, मौलिक कौरा गीत रेकर्ड हुने क्रममा छ ।


