पोखरा फागुन २१ । पोखरा म्याराथनका लागि पोखरेली मञ्च यूकेले ५ लाख ३० हजार सहयोग हस्तान्तरण गरेको छ ।
पोखरामा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत पोखरेली मञ्च यूकेका कोषाध्यक्ष एवम् समाजसेवी कमल गुरुङले ५ लाख ३० हजारको चेक भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेज गुरुङलाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा बोल्दै मञ्च नेपालका अध्यक्ष गुरुङले पोखरेली मञ्चको सहयोगका लागि आभार व्यक्त गरे । उनले भने–’विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का विचमा विदेशबाट पोखरा म्याराथनका लागि सहयोग हुनु सरहानीय छ ।’
पोखरा म्याराथन नेपालकै मात्रै नभई विश्वका लागि पनि चासोको विषय बनेको बताउँदै अध्यक्ष गुरुङले विदेशमा बसेर पनि आफ्नो देश ठाउँ, गाउँ र शहरको पहिचानका लागि हुने सहयोग महत्वपूर्ण रहेको बताउँदै उनले भने–’पोखरा म्याराथन शहरको उत्सव मात्रै नभई खेलकूद मार्फत पोखराको आर्थिक उन्नती पनि होस भन्ने चाहन्छौ ।’ अध्यक्ष गुरुङले सन् २०२४ सम्म पोखरा म्याराथनलाई म्याराथन दौडको अन्तर्राष्ट्रिय छाता संस्था एम्समा दर्ता गर्ने लक्ष्य लिएको बताउँदै यसका लागि धेरै काम गर्न बाँकी रहेको र यसका लागि निकै चुनौतीहरु पार गर्नुपर्ने बताए ।
पोखरेली मञ्च यूकेका कोषाध्यक्ष एवम् तमु धिं एशोसिएसन यूकेका कोषाध्यक्षसमेत रहेका कमल गुरुङले पोखरा म्याराथनलाई सहयोग गर्नु सबैका लागि गौरवको विषय भएको बताउँदै पोखरा म्याराथनलाई पोखरेलीहरुले अपनत्व प्राप्त गरेको सफल कार्यक्रममध्येको एक भएको बताए । उनले पोखरा म्याराथनलाई दौडका रुपमा भन्दा पनि ‘च्यारिटी’ मार्फत अगाडि बढ्न सके यसले समाजमा प्रतिफल सँगै राम्रो सन्देश जाने बताए ।
पोखरेली मञ्च यूकेका अध्यक्ष मान प्रसाद गुरुङले पोखरा म्याराथनमा उपस्थित हुन नसके पनि उक्त रकम संकलनका लागि पूर्व राष्ट्रिय महिला भलिवल खेलाडी मञ्जु गुरुङ राईको संयोजकत्वमा अर्थ संकलन समिति गठन गरेको जानकारी दिएका छन् । उक्त समितिमा कोषाध्यक्ष कमल गुरुङ अर्थ संयोजक र रामचन्द्र गुरुङ ‘सुर्जे’ अर्थ सल्लाहाकार समितिमा थिए ।
अध्यक्ष गुरुङले पोखरा म्याराथनका लागि धेरै नेपालीहरु पोखरा आउन चाहेको बताउँदै कोभिडका कारण यूकेमा भइरहेको लकडाउनका कारण सम्भव हुन नसेकेको बताए । उनले पोखरेली मञ्चको तर्फबाट सहयोग गर्नेहरुलाई आभार व्यक्त गर्दै पोखरा म्याराथनको भव्य सफलताको कामना समेत गरेका छन् ।
पत्रकार सम्मेलनमा पोखरेली मञ्च यूकेका महासचिव मोहन थापा, गैरआवासीय नेपाली संघ यूकेका पूर्वअध्यक्ष मुछेत्र गुरुङ, घान्द्रुक समाज यूकेका अध्यक्ष अर्जुन गुरुङलगायतको सहभागिता थियो ।
पोखरा म्याराथ अन्तर्गत आयोजना हुने १० किलोमिटर महिला तथा पुरुष र ५ किलोमिटर छात्रा–छात्रा दौडको रुट परिवर्तन भएको मञ्चका अध्यक्ष गुरुङले जानकारी दिएका छन् । चैत्र १४ गते हुने १० किलोमिटर दौड पोखरा रंगशालाबाट शुरु भएर पृथ्वीचोक, मुस्ताङचोक, शहिद चोक, लेकसाइड हल्लनचोक, जरेवर, जिरो किमि, सृजनाचोक, सभागृह चोक, न्यूरोड हुँदै चिप्लेढुङ्गास्थित मानवअधिकार चौतारमा पुगेर समापन गरिने मञ्चले जनाएको छ ।
त्यसैगरी २०७८ वैशाख ४ गते आयोजना हुने ५ किलोमिटर दौड पोखरा रंगशाला, पृथ्वीचोक, सभागृह चोक, न्यूरोड, विपी चोक चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुँदै पोखरा रंगशालामा पुगेर समापन हुनेछ ।
पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङको सन्देश जस्ताको तस्तै
हार्दिक धन्यवाद तथा आभार !!!
नेरु,५३०,०००/£3292.उठाउन सफल !
🇬🇧🇳🇵यु के बासी आदरणीय दाज्यु भाई तथा दिदिबहिनीहरुमा हार्दिक नमस्कार !
यहाँहरुको माया ,सद्भाव र सहयोग बाट “१५औ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन “अर्थ शंकलन अभियान पुर्ण रूपले सफल भएको घोषण गर्दछौं । यस अभियान बाट £3292. हजार पाउण्ड नेरु.५,३००००.पाच लाख तीस हजार रुपैया आर्थिक सहयोग प्राप्त भएको जानकारी गराउन चहान्छौ ।उठेको रकम पोखरा म्याराथन आयोजक सस्था नेपाल भुपु खेलाडी मंचलाई आज मिति मार्च ४ ,२०२१का दिन पत्रकार सम्मेलन गरि पोखरेली मंच यु के का कोषाध्यक्ष तथा अभियानका अर्थ संयोजक श्री कमल गुरुङ्ग (Propritor,China Oriental Supermarket – Aldershot) ज्यु मार्फत हस्तान्तरण गरिएको जानकारी गराउदछौ।यो परोपाकारी अभियानले सफलता प्राप्त गर्नुमा यहाँहरुको माया ,सद्भाव र सहयोग विना सम्भव थिएन ।तसर्थ यो सफलताको श्रेय आदरणीय यु के बासी पोखरेली र पोखरालाई माया गर्नु हुने आदरणीय नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई नै जानेमा कुनै दुईमत छैन !साथै आफ्नो ठाउँ देश विकासमा यहाँहरुको भावना र योगदान आफैमा सुन्दर इतिहास बनिसकेको छ।यस महान कार्यमा मिलेर सहाभागी हुन पाउदा हामी सबै भाग्यमानी हौ भन्ने हामीलाई लागेको छ। साथै यहाँहरु बाट प्राप्त माया ,सद्भाव र सहयोगको लागि पोखरेली मंच यु के एबम ब्यक्तिगत तर्फबाट यहाँहरु सबैलाई हार्दिक धन्यवाद एबम हार्दिक अभार प्रकट गर्दछौं ।
साथै यसअभियानमा विशेष जिम्मेवारी का साथ खटिएर लाग्नु भएका १५औ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सहयोग मुल समिति यु के का संयोजक तथा पुर्व भलिबल प्रशिक्षक श्रीमती मन्जु गुरुङ्ग राई ज्यु,अर्थ संयोजक तथा पोखरेली मंच यु के का कोषाध्यक्ष श्री कमल गुरुङ्ग ज्यु(धम्पुस),अर्थ सल्लाहकार तमु धी यु के का पुर्व अध्यक्ष श्री रामचन्द्र गुरुङ्ग ज्यु विशेष धन्यवादका पात्र हुनुहुन्छ ।साथै पोखरा अन्तर्राष्ट्रिय म्याराथन सहयोग मुल समिति यु के का सस्थापक सल्लाहकार ज्युहरु ,सल्लाहकार ज्युहरु,पत्रकार ज्युहरु, लगायत पोखरेली मंच यु के का पदाधिकारी ज्युहरु पनि धन्यवादका पात्रहरु हुनुहुन्छ। बौद्धिक ,नैतिक ,भावनात्मक ,भौतिक एबम आर्थिक सहयोगको लागि यहाँहरु सबैलाई हार्दिक धन्यवाद एबम अभार प्रकट गर्दछौं । साथै यहाँहरुको माया ,सद्भाव , सहयोग र सुझाव भबिस्यमा पनि पाइरहनेछ भन्नेमा हामीलाई पुर्ण विश्वास छ।अन्तमा मानव विरुद्ध विश्व व्यापी महामारीको जटिल घडीमा हामी त्यत्तिकै संवेदनशिल छौ।यस जटिल परिस्थिति बाट शिघ्र मुक्ति प्राप्तका लागि पनि त्यतिकै चिन्तित छौ । मानवीय गतिविधिलाई अनिर्णयको बन्दी बनाउनु पनि प्रकृतिको नियम विरुद्ध हो।त्यस अर्थमा हामी मानवीय गतिविधिलाई निरंतरता दिन बाट हाट्नु हुदैन भन्ने सोचका साथ परोपाकारी अभियानलाई अगाडि बढयौ। यस अभियान को क्रममा हुन गएको पुग्न गएको कुनै कुराको कमि कमजोरी प्रति यहाँहरु समक्ष क्षमाप्रार्थी छौ। धन्यवाद !!!🌹🙏
मान प्रसाद गुरुङ्ग
अध्यक्ष
पोखरेली मंच यु के
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन
अन्तर्राष्ट्रिय सहयोगी सस्था यु के