काठमाडौं फागुन २२ ।

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं आइपुगेको छ ।
काठमाडौं । सुरुङ परीक्षणको क्रममा गएको १० गते सुरुङमा हालेको पानी काठमाडौंको सुन्दरीजल आइपुगेको हो । सुरुङको सुन्दरीजलको ढोका खोलेर प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानीलाई काठमाडौंमा स्वागत गर्दै वाग्मती नदीमा बगाएका छन् ।
मेलम्ची खाने पानी आयोजनाको सुरुङ परीक्षणपछि त्यहाँ जम्मा भएको पानीलाई वाग्मतीमा बगाइएको हो । यो सफल परीक्षणपछि अब तीन महिना नकटाइ काठमाण्डौ बासीलाई मेलम्चीको पानी उपलब्ध गराउने योजना सरकारको छ । अब दोस्रो चरणमा सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी पठाइने र त्यो पानी त्यहाँबाट उपत्यकाबासीको धारामा वितरण गर्ने काम हुनेछ ।
काठमाण्डौमा खानेपानी वितरणको जिम्मा लिएको काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले मेलम्चीको पानी वितरणको लागि सबै तयारी पूरा भएको जनाएको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा आउनेछ । खानेपानी तथा सरसफाइ मन्त्रालयले वाग्मतीमा पानीको सतह बढ्ने भन्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन पनि भनेको छ ।


