काठमाडौं चैत ११ ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै काठमाडौं उपत्यकामा थप कडाइ गरिने भएको छ ।
उपत्यकाका तीन जिल्लाले कोरोनाभाइरसको बढ्दो संक्रमण रोकथामका लागि जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्ने निर्णय गरेका हुन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार विज्ञप्ती जारी गर्दै सार्वजनिक स्थानमा मास्क लगाउन अनिवार्य गरिएको जनाएका छन् । मास्क नलगाउनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कार्वाही गर्ने विज्ञप्तीमा उल्लेख छ ।
संक्रमणलाई मध्यनजर गरी पहिले संचालनमा आएका क्वारेन्टिन, आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राख्ने निर्णय पनि जिल्ला प्रशासन कार्यालयहरुले गरेका छन् । सेनिटाइजर, मास्क र सामाजिक दूरीलाई कडाइका साथ पालना गर्ने निर्णय पनि प्रशासनले निर्णय गरेका छन् ।
काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएकाले सार्वजनिक स्थलमा भीडभाड नगर्न समेत प्रशासन कार्यालयहरुले आग्रह गरेका छन् । चैत १५ र १६ गते पर्ने होली पर्वलाई पनि घरमै मनाउन आग्रह गरिएको छ ।
ललितपुर जिल्ला प्रशासनले राती ११ बजेदेखि रात्रिकालिन व्यवसाय संचालनमा रोक लगाउने निर्णय गरेको छ । उता भक्तपुर जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्म मेला, जात्रा, सांस्कृतिक कार्यक्रमहरु नगर्न निर्देशन दिएको छ ।


