काठमाडौं ।
सांसदहरूले देशका विभिन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसद भरतकुमार साहले प्रधानमन्त्रीले बालुवाटारमा बसेर कुनै तयारी र डिजाइन नै नभएका एक सय ६५ वटा सडकको शुभारम्भ गरेको भन्दै आपत्ति जनाए । प्रधानमन्त्रीलाई शिलान्यासकै रहर हो भने रातो किताबमा रहेका सबै आयोजना बालुवाटारमै बसेर शिलान्यास गर्न उनले व्यङ्गयात्मक सुझाव दिए ।
यस्तै सांसद रङ्गमती शाहीले देश रेलमार्ग, जलमार्ग र सुरुङमार्गमा प्रवेश गरेको भन्ने भाषण सुनेको तर आफ्नो क्षेत्रमा एउटा एम्बुलेन्ससमेत नहुँदा बिरामीको अकालमै ज्यान गुमाएको गुनासो व्यक्त गरिन् ।
सांसद भीमसेनदास प्रधानले प्रधानमन्त्रीले संसद् असफल बनाउन बिजनेस नदिएको भन्दै उनले संसदमा आएर आफूलाई लागेका कुरा राख्न र संसद्को सम्मान गर्न आग्रह गरे । सांसद योगेश भट्टराईले ताप्लेजुङको सिरान गाउँ र दोभानमा भएको आगलागीका पीडितलाई राहत, आवासको व्यवस्था गर्न र दमकललगायतका साधनको व्यवस्था गर्न आग्रह गरे ।
यस्तै सांसद रामबहादुर विष्टले तीन महिनाभित्र सबै नागरिकले कोरोनाविरुद्धको खोप पाउँछन् भन्ने प्रधानमन्त्रीको गफ कता हरायो भन्दै प्रश्न गरेका छन् ।