नेपालसहित विश्‍वमा नेपाली नयाँ वर्ष २०७८ भव्यरुपमा मनाइँदै

SHARE:


काठमाडौं । आज विक्रम संवत् दुई हजार अठहत्तर (२०७८) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्तिअर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराई बताउँछन् । “विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ”, उनले भने ।

सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वान्को भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग शुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।

नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ । काठमाडौँको उत्तरी भेगस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गममा रहेको वाग्द्वार (वाग्मती नदीको उद्गमस्थल), टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रालगायत देशभर लाग्ने मेला पनि कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएर भौतिक दूरी कायम गरी मनाइँदै छ ।

चान्द्रमानअनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै शुरु हुने नयाँ संवत्सर भने चैत ३१ गतेदेखि नै शुरु भइसकेको छ । चैत ३१ गतेदेखि राक्षस नामको संवत्सर शुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । वैदिक सनातन हिन्दू धर्मअनुसार ६० संवत्सर छन् । यी संवत्सर आदि अनादिकालदेखि घुम्दै आएका छन् । षष्टि संवत्सरमध्येको पहिलोको नाम प्रभव हो । अहिले चलिरहेको राक्षस ४९ औँ संवत्सर हो । प्रत्येक संवत्सरको बेग्लाबेग्लै फल हुने ‘षष्टि संवत्सर’ नामक पुस्तकका लेखक वेदराज पन्त बताउँछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!