मौलिकता जोगाउन कटिबद्धसाथ परिश्रम गरौं : दिलसिं मेन्याङ्बो

SHARE:

किरात याक्थुङ चुम्लुङ (कियाचु) युके, बेलायतमा बसोबास गर्ने लिम्बुहरुको साझा संस्था हो । जसको अध्यक्षमा अहिले दिलसिं मेन्याङ्बो छन् । २००३ मा स्थापना भएको कियाचु युकेले आफ्नो समुदायको मौलिक संस्कार, संस्कृति जोगाउन भन्दै विभिन्न कार्यक्रम गर्दै आएको छ । केही समयअघि मात्रै निजी भवन बनाउन जग्गा (चुम्लुङदेन) किनेको कियाचु फेरि वार्षिक कार्यक्रममा जुटेको छ । उसले यही असार ३० अर्थात् (जुलाई १४ तारिख)मा फेल्थाममा सिसेक्पा तङ्नाम (साउने संक्रान्ति) मनाउँदैछ । लिम्बू समुदायको प्रमुख चाड सिसेक्पा तङ्नामको तयारी, जग्गा खरिदलगायत विषयमा अध्यक्ष दिलसिं मेन्याङ्बोसँग एभरेष्ट टाइम्सका घान्द्रुके कान्छाले गरेको कुराकानी ।

सिसेक्पा तङ्नामबारे बताइदिनुहोस् न ?
सिसेक्पा तङ्नाम वा साउने संक्रान्ति चाड परापूर्वकालबाट मनाउँदै आएको पाइन्छ । तिथीअनुसार नाग पञ्चमीदेखि उद्यौली महिना हुने र श्रीपञ्चमी तिथीबाट छरपोख गरिने भएकोले उभौली महिना साउन १ गतेका दिन यो पर्व भव्य रूपमा मनाइन्छ । यसदिन विभिन्न प्रकारका मानिसले खाइने फलफूललगायत कुरिलो, कुकुर दाहिने र एक प्रकारको खर जातिको बाबियोको कुच्चो डोरीमा उनेर घरको मूलद्वारमाथि साथै घर वरिपरि झुन्ड्याइने गरिन्छ ।
त्यसपश्चात् घरका सदस्यहरुले हँसिया र कसैले तरबारको साथमा सानो राँको वा सल्लाको खोटो बालेर अनि नाङ्लो, थाल बजाउँदै सिरान तलादेखि घरको कुनाकानी सबै ठाउँ बाबियोको कुच्चोले सबै रोग, व्यथा, अनिकाल, रुघाखोकी बढारेर ‘अनिकाल जा सहकाल आइज’ भन्दै घरको मुख्य प्रवेशद्वारबाट बाहिर निकालिन्छ । अनिकाललाई राँको वा सल्लाको खोटो बालेर घरदेखि निकै परसम्म पु¥याउने प्रचलन अझैसम्म छँदैछ ।
बेलायतमा कहिलेदेखि सिसेक्पा तङ्नाम मनाउँदै आएको छ ?
लिम्बू समुदायको चाडहरुमध्ये सिसेक्पा तङ्नाम पनि मुख्य पर्व हो । किरात याक्थुङ चुम्लुङ युकेको स्थापनाकाल २००३ देखि नै यो पर्व मनाउनु उचित होला भन्ने छलफल चल्दै गर्दा २००८ देखि मनाउँदै आएका छौं ।
यो पर्व बेलायतमा मनाउनुको उद्देश्य ?
सर्वप्रथम त, लिम्बू समुदायले आदिमकालदेखि मनाउँदै ल्याएका चाडहरुको संरक्षण र प्रवद्र्धनको निम्ति हो । यो आधुनिक र चुनौतीपूर्ण जगतमा नयाँ पिढीका सन्ततिहरु जीवनस्तरलाई मात्र स्थिरताको प्रतिस्थापनप्रति बढी ध्यानाकर्षित भएको देखिन्छ । विशेषगरी आफ्नो मौलिक पहिचान, संस्कार संस्कृति, जति पनि भएका चाड, पर्वहरु हाम्रा भावी सन्तानहरुलाई परिचय गराउने र अनन्तकालसम्म लिम्बू समुदायको मौलिकतालाई जीवित राख्ने उद्देश्य हो । अन्ततः बेलायतका विभिन्न क्षेत्रमा बसोबास गर्ने लिम्बू समुदायका सदस्यहरुको भेटघाट साथै परम्परमा दुःख, सुखका सरल भलाकुसारी गर्ने सबैमा एक सुनौलो अवसर मिलोस् भन्ने समेत यो कार्यक्रमको उद्देश्य रहेको छ ।
यस पर्वको मुख्य आकर्षण ?
यस सिसेक्पा तङ्नामको दिन विशेषगरी जातीयताको मौलिक पहिचान जस्तै, आफ्नै वेषभूषामा सजिएर विभिन्न कला, नृत्य, नाटक प्रदर्शन गरिन्छ । ढोलनाच, केलाङ (च्याम्ब्रुङ नाच), यालाङ (धाननाच) र अन्य आधुनिक विधाका प्रदर्शन साथै प्रस्तुत गरिन्छ । यिनै ऐतिहासिक कार्यक्रमबाट अत्यधिक संख्यामा मानिसहरुको उपस्थिति भई यो एक दिनको मात्र कार्यक्रम भए तापनि समष्टिगत रुपले भन्ने हो भने यसदिन सभ्य, भव्य, आनन्द र रमाइलो पनि गर्ने गरिन्छ ।
कति खर्चको अनुमान गर्नुभएको छ ?
सिसेक्पा तङ्नाम वार्षिक कार्यक्रम हो । कार्यक्रममा सदस्यहरुको उपस्थिति संख्या जोडघटाउ हुने भएकोले लागत अहिले नै किटान गर्न सकिन्न । तर, समीक्षा बैठकमा छलफलपश्चात् भने भन्न सकिन्छ ।
खर्च कसरी व्यवस्थापन गर्दै आउनुभएको छ ?
खर्च व्यवस्थापनबारेमा सरल रुपले व्याख्या गर्नु पर्दा उपस्थित सदस्यहरुबाट प्रवेश शुल्क संकलन गर्छौ । अर्को त, यस कार्यक्रममा विभिन्न प्रकारका खाना, जलपान बिक्रेताहरुबाट पनि केही आर्थिक सहयोग संकलन गरेर सफलताका साथ आयोजना गर्दै आएका छौं ।
लगभग कति सहभागी रहला ?
हरेक वर्ष सदस्यहरुको उपस्थितिको अनुपातमा यसवर्ष ३ हजारदेखि ४ हजार जनासम्म सहभागी हुने अनुमान गरेका छौं ।
यति ठूलो पर्व कसरी व्यवूथापन गर्दै हुनुहुन्छ ?
धन्यवाद यो निकै गहकिलो प्रश्न गर्नु भएकोमा । प्रथमतः यो किरात याक्थुङ चुम्लुङ भनेको लिम्बू जातिको एक साझा संस्था हो । अझ अहिले हामी त बेलायतजस्तो सार्वभौमिकताको खानी राष्ट्रमा बसोबास गर्न आइपुगेका छौं । जातीय मौलिकताको लागि कटिबद्धका साथ परिश्रम गर्नुपर्छ भन्ने मनस्थिति हामीमा छ । यसकारण बेलायतमा किरात याक्थुङ चुम्लुङ युकेले क्षेत्रीय तथा विभागीय प्रमुखहरूलाई सम्पूर्ण क्षेत्राधिकारको जिम्मेवारी दिइएको छ । यहाँ क्षेत्रीय तथा विभागीय प्रमुखलगायत अन्य सम्पूर्ण सदस्यहरुको साथ सहयोग र समर्थनबाट यो कार्यक्रम सञ्चालन र व्यवस्थापन गर्दै ल्याएका छौं ।
प्रसंग बदलौं, कियाचुले चुम्लुङ देन खरिद गर्न लागेको भन्ने विभिन्न मिडियामा आएको छ, कस्तो र कहाँ कति मूल्यको खरिद गर्दै हुनुहुन्छ ?
किरात याक्थुङ चुम्लुङ युके एक लिम्बू समुदायको ऐतिहसिक संस्था हो । यसबारे दुईमत छैन । यो संस्थाले आफ्नो निजी जग्गा खरिद गर्ने बारेमा विभिन्न मिडिया साथै सामाजिक सञ्जालमा प्रकाशन र प्रसारण भएको छ र हुँदै छ । यो यथार्थ पनि हो । किरात याक्थुङ चुम्लुङ युकेभित्र यो परियोजनालाई आरम्भ गर्नका लागि ५ सदस्यहरुको एक समिति निर्माण भएको थियो । यस समितिले केही वर्ष चुम्लुङ देन खरिद राशि रकम संकलनप्रति निकै कहालीलाग्दो र कठोर परिश्रम गर्नुपर्यो‍ । तर, भनाइ के छ भने परिश्रमले साधारणतया दुईवटा प्रतिफल दिन्छ । एक त सफलतासहितको ज्ञान र अर्को विफलको ज्ञान ।
गत ५ जुलाई २०१८ का किरात याक्थुङ चुम्लुङ युकेले निजी जग्गा खरिदबारे ऐतिहासिक शिखर आरोहणको सफलता प्राप्त गरेको पनि सम्पूर्णमा जानकारी गराउन चाहन्छु । किरात याक्थुङ चुम्लुङको देन वा जग्गा खरिदको ठोस मूल्य कति थियो भन्ने बारेमा त निकै पहिलेदेखि नै सार्वजनिक भएकै कुरो हो । यहाँ बिक्रेता र क्रेतामाझको सम्झौता भनेको त ३,२५,००० थियो । तर, विभिन्न कर, वकिलको शुल्क नामसारी गर्दाको शुल्क आदि ईत्यादि समावेश गर्दा लगभग ३,३३,००० जस्तो पुग्यो र साथै यो विशाल खुसीको क्षण पनि एकमुष्ठमा पुर्‍याउन चाहन्छु । यो सफलता भनेको भावी सन्ततिको सफलता हो । यस सफलता प्राप्तिको उपलक्ष्यमा समस्त लिम्बू समुदायको सम्पूर्ण सदस्यहरु विशेषगरी चुम्लुङ देन समिति साथै शाखालगायत क्षेत्रबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपले सहयोग समर्थन गरिदिनु हुने समस्त सदस्यहरुमा भित्री हृदयबाट नै धन्यवाद दिन चाहन्छु । आगामी समयको लागि उज्ज्वल प्रगति र उन्नतिको हार्दिक शुभकामना सम्प्रेषण गर्न चाहन्छु ।
यति धेरै रकम कसरी संकलन गर्नु भयो ?
किरात याक्थुङ चुम्लुङ केन्द्रीय समिति र चुम्लुङ देन समितिको संयुक्त बैठकले सबैभन्दा पहिला प्रत्येक शाखाहरुमा गएर जग्गा खरिदको बारेमा छलफल गरियो । साथै चुम्लङले आफ्नै निजी जग्गा किन्दा के फाइदा हुन्छ भन्ने बारेमा बुझाउन सफल भयौ । त्यसपछाडि देशभरि एकैचोटी घरदैलो कार्यक्रम केन्द्र र शाखा मिलेर गरियो । चुम्लुङ महिला समितिले थोक्ला (धया) कार्यक्रम सञ्चालन गरेको थियो । किरात याक्थुङ चुम्लुङ केन्द्रीय समितिले रात्रिभोजको आयोजना गरी रकम संकलन गर्न सफल भइयो ।
यस पर्वलाई स्थानीय काउन्सिल, बासिन्दा र नेपाली संघसंस्थाको के कस्तो सहयोग हुदै आएको छ ?
किरात याक्थुङ चुम्लुङ युकेले वर्षेनी मान्दै आएको सिसेक्पा तङ्नाममा युकेमा रहेका सबै सामाजिक संघ संस्था स्थानीय काउन्सिललगायत नेपाल राजदूतलाई समेत लिखित निमन्त्रणा गर्दै अएका छौं । प्रायः सबैजनाको उपस्थिति रहँदै आएको छ । उहाँहरुबाट नैतिक, बौद्धिक समर्थनको महसुस गरेका छौं ।
अन्त्यमा, केही भन्न चाहनुहुन्छ कि ?
सबैभन्दा पहिला आफ्नो कुरा राख्नदिनुभएकोमा एभरेस्ट टाइम्स्लाई धन्यवाद भन्न चाहन्छु । साथै आउने २०१८ याक्थुङ्बा चाड सिसेक्पा तङ्नामको समस्त सदस्यहरुमा हार्दिक शुभकामना भन्दै चुम्लुङदेन खरिद गर्न भूमिका खेल्ने सम्पूर्णप्रति धन्यवाद ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!