
ब्रेकन, वेल्स । नेपालको पर्यटन प्रवर्द्धनका लागि बेलायतको वेल्समा ‘हाइक फर नेपाल २०२२’ सम्पन्न भएको छ ।
पोखरेली मञ्च यूके र वि वील राइज नेपालको नेतृत्वमा यही अगस्ट ६ तारिख शनिबारदेखि तीनदिने वेल्समा हाइक फर नेपाल सम्पन्न भएको हो । हाइक फर नेपाल सन् २०१७ देखि वेल्समा नियमितरुपमा आयोजना हुँदै आएको छ ।
६ अगस्ट शनिबारका दिन बिहान १० बजेबाट सुरु भएको पदयात्रा करिब ८ माइलको दुरीको थियो । बेलायतका विभिन्न स्थानबाट हाइक फर नेपालमा सहभागी हुन आएका झन्डै ९५ जनाको समूहले ८८६ मिटरको उचाईमा अवस्थित पेनी फ्यानडाँडा चढेको सहभागी सुधा गुरुङले जानकारी दिइन् ।
बिहान ९:३० बजे क्याम्प साईटमा भेला भएका हाईकर्सहरुलाई वी वील राइज फाउन्डेसनका प्रमुख सल्लाहकार मेजर खुसीमान गुरुङ (एमभिओ) ले हाईकिङ्गको रुट, हेल्थ एन्ड सेफ्टी ब्रीफ र अन्य आवश्यक जानकारीबारे सूचित गराएका थिए ।
कार्यक्रमको प्रमुख अतिथी ब्रेकनका मेयर डेविड मेरीडिक्स थिए साथै ब्रेकनका काउन्सिलरहरु, धम्पुस ब्रेकन ट्यूनिङ्ग अध्यक्ष, स्थानीय व्यवसायीहरुको पनि उपस्थिति थियो । कार्यक्रममा मेयर मेरीडिक्स, पोखरेली मञ्च यूकेका निवर्तमान अध्यक्ष एवं वी विल राईज फाउन्डेशन यूकेका संयोजक मानप्रसाद गुरुङ र पोखरेली मंचका अध्यक्ष करम गुरुङले कार्यक्रमबारे छोटो मन्तव्य राखेपश्चात् हाईकिङ्गका लागि प्रस्थान गरिएको थियो ।
चौथो हाईकिङ्गमा ५/६ देखि ६५-७० वर्ष उमेर समूहसम्मका सहभागी भएका थिए । हाईकिङ्ग अनि खानपानपश्चात लाईभ गीत संगीत अनि नाचगानमा सबै झुमेका थिए ।






