सच्चा स्रोता बेलायतमा रहेछन् : लोकगायक विमलराज क्षेत्री

SHARE:

‘बल्लै भो भेट…’, ‘जापान टोकियो…’ जस्ता दोहोरी गीतबाट ख्याती कमाएका लोकगायक विमलराज क्षेत्री करिब तीन महिनादेखि बेलायतमा छन् । उनी पर्वत वेलफेयर सोसाइटी युकेको निमन्त्रणमा गत २१ अप्रीलमा बेलायत आएका हुन् । यहाँ गायक क्षेत्रीले विभिन्न कार्यक्रममा सहभागी भइ नयाँ–पुराना सिर्जना र प्रत्यक्ष गायनबाट बेलायतवासी नेपालीलाई मनोरञ्जन दिइरहेका छन् । पर्वतमा जन्मेका गायक क्षेत्रीको बेलायत भ्रमणको अनुभव र सांगीतिक यात्राबारे एभरेष्ट टाइम्सका लागि घान्द्रुके कान्छाले गरेको कुराकानी :

बेलायतको अनुभव सुनाइदिनोस् न ?
हामीले चार/पाँच कक्षामा नेपाल–अंग्रेजबीचको नालापानी युद्ध इतिहास पढेका थियौं । यहाँ आइपुग्ने मेरो कल्पनामा पनि थिएन । बचपनको त्यो अंग्रेज कस्तो होला, ब्रिटिस कस्तो होला ? भन्ने खुलदुली अहिले म जहाँ छु, यसबाट मेटिएको छ । मैले सोचेको, कल्पेको भन्दा धेरै फरक लाग्यो, बेलायत । त्यसमा पनि हाम्रा नेपाली दाजुभाइहरुको जुन पोजिसन, नेपालप्रतिको अपनत्व देखेँ । उहाँहरुले गरेका मिहेनत देखेँ । सायद, नेपाली दाजुभाइ नभइदिनुभएको भए चार/पाँच क्लासमा पढेको त्यो अंग्रेज सहर, ब्रिटिस सहर मेरो मानसपटलमा मात्रै सीमित हुन्थ्यो ।
नेपाली दाजुभाइहरु विभिन्न दु:ख, कष्टका बाबजुत यहाँ आएर ‘स्ट्रगल’ गर्नुभयो । उहाँहरुले पोजिसन उच्च बनाउनुभयो । उहाँहरु नेपाली कलाकारहरुलाई माया गर्न सक्ने, माया गरेर पनि माया पोख्न सक्ने जुन हैसियतमा पुग्नुभयो, त्यसले गर्दा बालापनको मानसपटलको सहरमा आउने अवसर मिल्यो । मलाई एकदम गर्व लागेको छ । र, सम्पूर्ण बेलायतवासी नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनी सबैमा पनि यो खुसी तपाईंहरुले गर्दा नै पाएको भन्न चाहन्छु ।
बेलायतका विभिन्न ठाउँमा कार्यक्रम प्रस्तुत गरिसक्दा यहाँका नेपालीहरुले नेपाली गीत, संगीतलाई कत्तिको माया गरेको पाउनुभयो ?
मलाई त, गीत, संगीतका सच्चा श्रोताहरु बेलायतमा हुनुहुन्छ जस्तो लाग्यो । यस्तै अन्य कन्ट्रीहरुमा पनि हुनुहुन्छ होला, कतिपय देशमा म पुग्या छैन । अहिलेसम्म म कोरिया, रुस गएँ । अरेबियन कन्ट्रीहरु पनि गएको छु । यहाँ वास्तविक गीत, संगीत र कलाकारको क्षमता मूल्यांकन गरिने अनि सिर्जनाजस्ता हरेक कुरालाई मूल्यांकन गरिँदोरहेछ । सायद त्यही कारणले होला, मैले पनि धेरै माया पाएको ।
म यहाँ आएर धेरै ठूल्ठूला प्रोगामहरुमा सहभागी हुने अवसर मिल्यो । पर्वत वेलफेयर सोसाइटीको भइहाल्यो । त्यस्तै, धेरै मान्छेहरु जम्मा हुने मगर संघ युकेको ‘नेपाली ओपन कन्सर्ट’मा पनि सहभागी हुने अवसर जुर्‍यो । ठकुरी समाजको प्रोग्राम, क्षेत्री समाज, तनहुँ समाजका प्रोग्रामहरु । प्रोग्रामै गर्न नर्दन आयरल्यान्ड पुगेँ म । बच्चाबच्चीहरु नेपाली बोल्न नजान्ने तर नेपाली गीतमा नाचेको पनि देखेँ ।
युवापुस्ताले नेपाली संगीतलाई माया गर्दैनन् है भन्ने टिप्पणी पनि छ यहाँ, तपाईंले के देख्नुभयो ?
युथको सहभागिता छ । नेपालमा जस्तै यहाँ पनि छ । कतिपय मान्छे सुरुमा रक, पपतिर लाग्छन् । म्याच्योड वा बुझ्ने अवस्था भएपछि आधुनिक, लोकगीततिर आउँछन् । अलि वृद्ध भएपछि भजनकीर्तनतिर पनि लाग्ने गर्छन् । त्यो उमेरले प्रभाव पार्ने कुरा हो । यहाँ लोकगीतलाई माया गर्ने धेरै युवाहरु पनि भेटेँ ।
त्यसोभए, तपाईले भजन पनि गाउनुभयो ?
भजन गाएँ । यहाँ त भजने नै भएको छु । चाल्टन समाजले गरेको मन्दिरको च्यारिटी कार्यक्रममा पनि गएँ । त्यसअघि पशुपतिनाथ मन्दिरमा गाएँ । हरेक ठाउँमा लाइभ गर्ने चलन पनि छ । चेलीबेटीहरुसँग कहिलेकाहीं रत्यौली पनि गाइयो । लाइभ भजन पनि गाइयो । आफैं हार्मोनियम बजाउने, आफैं मादल बजाउने गरेर पारिवारिक किसिममा रमाइलो पनि गरियो ।
त्यो वातावरणमा नेपालमै भएजस्तो कि बेलायतको महसुस गर्नुभयो ?
यहाँ आएर मैले जति ठाउँमा प्रोग्राम गरेँ, कता–कता नेपालको कल्पना पनि लागिरहेको छ । नेपाल विकास भएछ, पूर्ण विकसित कन्ट्री भएछ भने सायद एकसय वर्षपछि नेपालका जनता पनि यस्तै हुन्छन् कि जस्तो यहाँका नेपालीहरुलाई हेरेर कल्पना गरेँ । नेपालमा भएको महसुस त यसै पनि भयो नै । र, पनि सभ्य नेपाल । विकसित नेपालमा भएजस्तो महसुस भयो ।
तपाईंको सांगीतिक यात्रा कहिलेबाट सुरुभयो, छोटकरीमा बताइदिनुहोस् न ?
मेरो जन्म ठाउँ पर्वत जिल्ला फलेबास नगरपालिका १० नम्बर वडा पर्छ । मेरो बाल्यकाल त्यहीं कालीगण्डकी किनारमा बित्यो । उत्तरमा हेर्‍यो धौवलागिरि, माछापुच्छ्रे हिमाल लहरै देखिन्छ । तल त्यतैबाट बगेर आएको कालीगण्डकीको प्रकृति । परम्परादेखि चल्दै आएको लोकसंस्कृति, भजनकीर्तन, रत्यौली, विवाहजस्ता कुराले मेरो सांगीतिक जीवनमा ठूलो अर्थ राख्यो ।
मलाई पनि थाहा छैन, कुन दिनबाट कलाकारितामा मोहित भएँ भन्ने कुरो । मेरो ठूल्दाजु (विष्णुबहादुर पौडेल क्षेत्री)ले चाहिँ बचपनमा एउटा बाँसुरी बनाउनुभएको थियो । उहाँले त्यो बाँसुरी हँसियाले छेडेर बनाउनुभएको । त्यसमा उहाँले सुसेली हालेर गीत बजाउनुभयो । मलाई बचपनमा भ्रम के पर्‍यो भने, पक्कै पनि दाइले बजाउन जान्नु भयो । सिठ्ठी हालेको चाहिँ मेसो पाइनँ । त्यसबाट म बाँसुरीपट्टि नै बढी आकर्षित भएँ ।
म पिताजीसँग स्कुल भर्ना हुँन जाँदा पनि आफ्नै बाँसुरी पनि थियो । त्यो कुराचाहिँ मलाई याद छ । जतिखेर बुझ्ने भएँ त्यतिखेरबाट म गीत, संगीतमा मोहित भएँ । गाउँस्तरका हरेक सांस्कृतिक कार्यक्रममा जाने गर्थें । हाम्रो गाउँ तलतिर ब्राह्मण समाज बढी र माथितिर गुरुङ बस्ती धेरै छन् । वल्लोपल्लो गाउँहरु, वडाहरु चाहिँ बेलायतभन्दा नि टाढा लाग्थ्यो । कहिलेकाहीं बुबाआमाले लगिदिए जाने हो, नत्र स्कुल र घर अनि खोलाटोल, गाइगोरु हेर्न बनपाखा जाने । कालीगण्डकी नजिक भएकाले कालीको किनार, यतैयतै बढी भइयो । त्यहीका संस्कृतिहरुका भजनकीर्तन, रत्यौली, तीजजस्ता गीतहरु गाइन्थ्यो । हामीले जान्दा रेडियोहरु थियो, उद्गम नै त्यही नै हो ।
लोकगायक विमलराज श्रेत्रीका रुपमा श्रोता, दर्शकले कहिलेदेखि चिन्न थाले त ?
म इन्टर (प्रवीणता पत्र तह) को शिक्षा सकेर वि.संं २०५६ मा काठमाडौं आएको थिएँ । काठमाडौं आएपछि म्युजिकमै लागेँ । त्यसका धेरै कुराहरु छन् । म बाँसुरीबाटै छिरेँ । सारंगी, सनई बजाउँथे गाउँमा । हार्मोनियम त पहिलोचोटि काठमाडौं आएर नै छोएको हुँ । गाउँ ठाउँमा साधन स्रोतको उपलब्धता पनि थिएन । मैले पहिलोचोटी ०५६ तिर गीत गाएँ । त्यसपछि अर्को गीत गरिँहालेँ । ०५८ मा ‘बल्लै भो भेट…’ गीत रेकर्ड गरेँ रिमा रेकर्डिङमा । बल्लै भो भेट बजारमा आइसकेपछि लोकसंगीतप्रेमी, माया गर्नुहुनेहरुमाझ चिनिन पाएँ । त्यसमा कृष्णसुधा ढुंगाना, आदरणीय नारायण रायमाझी दाइहरुले मलाई एकदमै सहयोग गर्नुभएको छ । उहाँहरुलाई म सम्झिन पनि चाहन्छु ।
अहिलेसम्म कतिवटा गीत गाइसक्नुभयो ?
संख्याको हिसाबले ४/५ सयको हाराहारीमा गीत गाएको छु ।
तीमध्ये दर्शक श्रोताका मन जित्ने खालका ?
त्यसमध्ये मैले स्वर दिएका, सिर्जना गरेका अनि केही साथीहरुले सिर्जना गरेका पनि छन् । बल्लै भो भेट, लुम्ले काँडे जाउँ, रानी घाटैमा मेरो सिर्जना हुन् । जापान टोकियो, मधु वनैमा, औंठी कुसैको, डुल्छु रनवन, हिमाल सेतै छ, चैते दसैं मेलैमा जस्ता गीतहरु लोकप्रिय भए ।
अरुले संकलन गर्नुभएकोमा पनि बैकुण्ठ महतको औंठी स्वयम्बरको, एकनारायण भण्डारीले संकलन गर्नुभएको सुपारी चाम्रो धेरैले मन पराइदिनुभयो । यस्तै थुप्रै गीतहरु गाएँ मैले । गाएका गीतहरुबाट लोकसंगीतमा निराश हुने अवस्था मलाई भएन ।

यो स्थानसम्म आइपुग्दा के कति संघर्ष गर्नुपर्‍यो तपाईंले ?
संघर्ष भन्दा पनि हरेक मान्छेका सफलताका पछाडि कर्महरु हुन्छन् । जिन्दगीमा हरेक पोजेटिभ अर्थ राख्ने काम, कर्मलाई दु:ख भन्दा पनि कर्मको रुपमा लिने गर्छु । संघर्ष पनि भन्ला त्यसलाई । हरेकको पृष्ठभूमि वा जिन्दगीसँग जोडिएको हुन्छ । सफल बन्नका लागि हरेकलाई त्यो आवश्यक छ । म पनि त्यो कर्मबाट अछुतो छैन । मैले पनि ती दिनहरु पार गरेर आएँ ।

लोकसंगीत अहिले मौलाएको अवस्था छ तर नयाँ पुस्तामा यो जारी रहला ?
अहिले त राम्रो हुँदै आएको छ । अहिलेका युवायुवती त झन् लोकगीत नै धेरै गाउँछन् । तर, देख्दाखेरी लोकगीत गाउनेजस्तो लाग्दैनन् । म आउने बेलामा लोकगीत, पपगीत गाउनेहरुको लवाइखुवाईबाटै पनि चिनिन्थ्यो । लोकगीत गाउने झनै स्मार्ट देख्छु मैले । चाहे गायिकाहरु हुन्, चाहे युवाहरु हुन् ।

वि.सं. २०५६/०५९ देखि लोकगीत भिजुअल हुन थाल्यो । सुरुआतीमा बल्लै भो भेट गीत हामीले भिजुअल गरेका हौं । अहिले ठूला फिल्ममा खेल्नेहरु धेरै लोकगीतहरुमा खेल्नुभएको छ । पपगीत गाउनेहरुले पनि लोकगीत गाउनुभएको छ । पछिल्ला चलेका गीतहरु पनि लोक आधारित छ । पुराना गीतहरु पनि लोकबेसका कालजयी बनेका छन्, यो लोकमा दोहोरिरहने घटनाहरु हुन् । त्यसकारणले पछिल्ला पुस्ता झन् लोकगीतमा मौलाएर आएको मैले देखेको छु ।
यसको कारण ?
जसरी विश्वमा सञ्चारको विकास भो । सञ्चारको विकास माथि–माथि पुग्दा नेपाली लोकगीतहरुको पहुँच पनि त्यो ठाउँमा पुग्यो । सीडी सुरु भयो, त्यसमै लोकगीत निस्के । लोकगीतहरु भिजुलाइज्ड भए । हरेक मिडियामा लोकगीत पुगे । र, हरेक बुभ्mने मान्छे, व्यवहारिक मान्छेहरुले पनि लोकगीतको सम्मान गर्नुभयो । त्यसपछि हरेक मान्छेमा लोकगीतलाई उजागर र संरक्षण गर्नुपर्छ भन्ने भयो ।
गाउँमा पिढीमा, छिँडीमा, खोल्सामा, भीरपाखामा गाउने लोकगीत हामी काठमाडौं आएर महलमा गायौं । भाडै तिर्दा पनि हामीले गाउँदा एक लाख थियो, दोहोरी साँझको । त्यस्ता–त्यस्ता महलहरुमा हामीले लोकदोहोरी गायौं । त्यसो भएकोले विस्तारैविस्तार लोकगीत पनि अगाडि आयो । र, मिडियाको विकाससँगै लोकगीत पनि जोडिएर आयो ।

भनेपछि लोकगीतको भविष्य छ ?
एकदम । म भन्छु, हाम्रो नेपालमा चल्ने पप गीतहरु, अमेरिकन गीतहरु पनि कहींका लोकगीत हुन् । एउटा गीत संसारभरि चल्छ, तर त्यो कहीं न कहींको लोकगीत हो । नेपालमा हामी पपगीत भन्छौं, पश्चिमी गीत गाउनतरि लाग्छौं, हाम्रो नेपाली मेलोडी, लय वल्र्डवाईट हुन नसकेको हुनाले । त्यो राम्रो छैन भनिराखेका छांैं । कुनै पनि दिन नेपालीले गाएका गीत, नेपाली लोकलयलाई छोएको गीत विश्वव्यापी भइदिए छ भने सायद अरु देशकाले त्यो लय, हाम्रा देशका भाकातिर आउथे होला ।

गीतलाई फरक बनाउने लयले जस्तो लाग्छ । आधुनिक बनाउने पनि लयले हो । लोकगीत बनाउने, आधुनिक बनाउने, पप बनाउने कि गायकी शैली र मेलोडी पक्ष हो । त्यसमा अलिअलि बाजा मिसाउनु पर्ला । शब्द त उही हाम्रै जिन्दगीमा भोगेका, घटेका हरेक कथाव्यथा हुने हुन् । मानवजीवन, मानवका दु:खपीडाभन्दा बाहिरका त कुनै पनि गीतमा हुन्न । त्यही पीडामा भएका गीतहरु कोही लोकलयमा आधारित हुन्छ । त्यही पीडामा भएका गीतहरु, त्यही भाव बोलेका गीतहरु र्‍यापमा हुन्छ फेरि, पपमा हुन्छ । म गलत हुन पनि सक्छु ।

हामीले ६/६ महिनामा हिट गीत नगाई चल्न नसक्ने अवस्था थियो । अहिले भने एक, दुई गीत राम्रो चल्यो भने नेपाली गाउँले परिवेशमा लगभग जिन्दगीलाई व्यवस्थापन गर्न सक्ने कलाकारलाई सम्भावना छ । गरिपनि राख्नुभएको छ । यसलाई म सुखद् स्थिति मान्छु म ।

अन्तमा केही भन्नुहुन्छ ?
त्यस्तै, म लन्डन हुँदा भेटघाटको थलो पनि बनाएको छु, एम्पायर हल । पुरन गिरी दाइले सञ्चालन गर्नुभएको त्यो हलको एउटा भागमा हामीले शुक्रबार, शनिबार, आइतबार बेलुका लोकगीत, दोहोरी गीत गाएर रमाइलो पनि गर्छौं । डाइरेक्टर पुरन दाइ नै हुनुहुन्छ भने म्यानेजर भक्त दर्जी । म यहाँ रहुञ्जेल हप्ताको तीन दिन त्यहीं भेट हुन्छ ।

म जुन अवसरमा बेलायत आएँ । सर्वप्रथम पर्वत वेलफेयर सोसाइटीका अध्यक्ष दधि आचार्यज्यू, उपाध्यक्ष सञ्जिव गुरुङ, भरत पौडेलज्यू, पुरन गिरी दाइ, हित काजी गुरुङ दाइ, विनोद पुरी, नेत्र आले, एनआरएनएका केन्द्रीय उपाध्यक्ष कुल आचार्यलगायतलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । जसले बेलायतमा पाइला टेक्ने अवसर दिनुभयो, त्यसैले पर्वत वेलफेयर सोसाइटीप्रति हार्दिक आभार व्यक्त गर्दछु । अन्तर्वाताको अवसरका लागि एभरेष्ट टाइम्स, वरिष्ठ पत्रकार पूर्ण गुरुङ दाइ, फोटो पत्रकार एवं गोर्खा मिडियाका डाइरेक्टर मिलन तमुलगायतलाई पनि धेरै धेरै धन्यवाद !

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!