फुटबल प्रतियोगिताजस्तै लोकप्रिय कार्यक्रम हो, नेपाली मेला । जुन मेला प्रत्येक वर्ष अगस्ट महिनाको अन्तिम आइतबार लन्डनमा हुने गरेको छ । तमुधिं युकेको आयोजना, नेपाली राजदूतावास लन्डनको सहकार्य र बेलायतवासी नेपालीहरुको सक्रिय सहभागितामा ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका साथ सन् २००९ देखि नेपाली कला र संस्कृति संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले ‘नेपाली मेला’को आयोजना गरिँदै आएको छ । यसवर्ष अगस्ट २६ तारिख आइतबार लन्डनस्थित क्याम्पटन पार्क, रेसकोर्षमा ‘दसौं नेपाली मेला’ हुने आयोजकले जनाएको छ । सोही मेलालाई सफल बनाउन भन्दै तमुधिं युकेका उपाध्यक्ष हितकाजी गुरुङको संयोजकत्वमा मेला आयोजक समिति बनेको छ । करिब १० हजार दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको मेलाको तयारीबारेमा संयोजक गुरुङसँग एभरेष्ट टाइम्सका लागि घान्द्रुके कान्छाले गरेको छोटो कुराकानी

नेपाली मेलाको तयारीबारे छोटकरीमा जानकारी गराइदिनुहोस् न ?
तमुधिं युकेले मेरो संयोजकत्वमा ६५ सदस्यीय मेला आयोजक समिति गठन गरेको छ । आयोजक समिति, सिङ्गो कार्यसमिति, आजीवन सदस्य र नेपाली राजदूतवास लन्डन गएको ३ महिनादेखि नै तयारीमा जुटिरहेको छ । लगभग मेलाको तयारी पूरा भएको छ । यसबारे आउने शनिबार १८ अगस्टका दिन क्याम्पटन पार्कमा पत्रकार सम्मेलन आयोजना गरी विस्तृत जानकारी गराउने तयारी पनि भइरहेको छ ।
यो मेलाको बारेमा बताइदिनु होस् ?
नेपाली मेलाबारे धेरै बेलायतवासी नेपालीलाई थाहा भएकै कुरा हो । यसलाई तमुधिं युकेको आयोजनामा सन् २००९ देखि प्रत्येक वर्ष निरन्तर हुँदै आएको छ । नेपाली भाषा, कला र संस्कृतिको भनेको हाम्रो पहिचान हो । यसलाई जीवन्त राख्नु भनेको हामी सबैको कर्तव्य पनि हो । यसै कुरालाई हृदयंगमन गर्दै हामीले प्रत्येक वर्ष नेपाली संस्कृति झल्काउने खालका कार्यक्रम आयोजना गर्दै आएका छौं । यसमा बेलायतस्थित नेपाली संघसंस्थाहरुको ठूलो भूमिका र सहभागिता रहँदै आएको छ ।
नेपाली मेला हामी सबै नेपालीहरुको साझा कार्यक्रम हो । सदाझैं यसपटक पनि हामीले लन्डनस्थित क्याम्पटन पार्कमा विभिन्न जातीय झाँकी, तमुहरुको ट्होटें र नृत्यहरु प्रस्तुत् गरेर मनाउँदै छौं ।
मेलाको तिथिमिति कहिलेलाई जुरेको छ ?
आगामी २६ अगस्ट आइतबारका दिन क्याम्पटन पार्क रेसकोर्समा दसौं नेपाली मेला आयोजना हुँदै छ ।
दसौं नेपाली मेलाको केही विशेष आकर्षण छ कि ?
सदाझै झाँकी तथा नृत्यमा सहभागीमध्येका उत्कृष्ट भएका संघसंस्थालाई एम्बासडर र एनआरएनए युके कपद्वारा पुरस्कृत गर्ने छौं । विगतमा झैं नेपाली कला र संस्कृति झल्किने झाँकी प्रर्दशन गरिने छ । हो, यसवर्ष दसौं मेला भएको हुँदा हामीले यसलाई विशेष रुपमा मनाउन
लागेका छौं । पक्कै पनि विगतको भन्दा केही फरक पाउनु हुने छ । तर, विशेष के छ भन्ने कुरा म अहिले नै खोल्न चाहन्न । त्यो विशेष २६ अगस्टमा नै थाहा पाउनु हुने छ ।
तपाईंले एम्बासडर कप र एनआरएनए युके कप भन्नु भयो, यसको बारेमा जानकारी गराइदिनुहोस् न ?
हामीले सन् २००९ मा नेपाली मेला आयोजना गर्न थालेपछि नेपाली दुतावास लन्डनले पनि यस मेलालाई साथ दिएको हो । दूतावासले सन् २०१० देखि झाँकी तथा नृत्य उत्कृष्ट हुने समूहलाई एम्बासडर कप प्रदान गर्दै आएको छ ।
त्यस्तै, एनआरएनए युकेका पूर्वअध्यक्ष मुछेत्र गुरुङको पालादेखि उत्कृष्ट समूहलाई एनआरएनए युके कप प्रदान पनि गर्दै आएको छ । उहाँहरुको साथ र सहयोगले नेपाली मेलाको अझ गरिमा बढेको छ ।
मेलाको आयोजना गर्नुको उद्देश्य ?
हाम्रो मातृभूमि नेपाल भए पनि कर्मभूमि बेलायत हो । हाम्रा भाषा हराए, संस्कृति हराउँछ, संस्कृति हराए पहिचान हराउन सक्छ । त्यसैले हाम्रो पहिचानलाई जीवन्त राख्न पनि यसको आयोजना गरिएको हो । हाम्रो आफ्नै भाषा, कला र संस्कृति छ । त्यही भाषा, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्नुपर्दछ भन्ने उद्देश्यका साथ हामीले नेपाली मेलाको आयोजनागरेका हौं ।
अर्को उद्देश्य भनेको नयाँ परिवेशमा छौं । हाम्रा बालबच्चाहरुलाई आप्mनो परम्परा र संस्कृतिलाई बुझाउनु हो, सिकाउनु हो र हस्तान्तरण गराउनु हो ।
कति दर्शकहरुको उपस्थिति रहने अपेक्षा गर्नुभएको छ ?
दर्शकको सहभागिता भनेको मौसममा पनि भर पर्दछ । तर, विगतको रेकर्डलाई हेर्ने हो भने पक्कै पनि ८/१० हजार दर्शक सहभागी हुनेछन् ।
सुरक्षा संयन्त्रलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?
क्याम्पटन पार्क एउटा व्यवस्थित भेन्यू हो । यो एउटा घोडा रेस गर्ने ठाउँ हो । हेल्थ एण्ड सेप्mटीलाई त्यहाँको व्यवस्थापनले पूर्ण रुपमा नै जिम्मेवारी लिने गर्दछ । सुरक्षाका लागि सेक्युरिटी, एम्बुलेन्स र अरु सेप्mटीको पनि क्याम्पटन पार्कले नै व्यवस्थापन गर्छ ।
मेलामा नेपाली मात्र कि स्थानीयको पनि सहभागिता रहन्छ ?
हाम्रो उद्देश्य भनेको स्थानीय अंग्रेजहरुलाई पनि उपस्थिति गराउनु हो । तर, त्यसमा हामी पूर्ण रुपमा सफल हुन सकेका छैंनौं । तैपनि हामीले स्थानीय मेयर, काउन्सिलर र विशेष व्यक्तिहरुलाई निमन्त्रणा गरेका छौं । त्यस्तै, सदाझंै यसपटक पनि नेपाली दूतावास लन्डनको पहलमा बेलायतमा रहेका विभिन्न राष्ट्रका राजदूत वा कूटनैतिक नियोगका प्रतिनिधिहरुको पनि सहभागिता रहनेछ ।
व्यापारिक स्टलहरुको बारेमा छोटोमा जानकारी गराइदिनुहोस् न ?
खानाको ६ वटा स्टल रहनेछ । जुन पूरा भइसकेको छ । ३५ वटा स्टल आर्ट एण्ड ग्यालरी, व्यापारी र अरु पसलहरुको लागि छुट्टयाइएको छ । जसको हाम्रा उपाध्यक्ष नन्दजङ्ग गुरुङले संयोजन गर्नुभएको छ । सायद १/२ वटा स्टल अझै पनि बाँकी हुनु पर्छ । इच्छुक महानुभावहरुले उहाँलाई सम्पर्क गर्नसक्नु हुनेछ ।
यसपटक कतिवटा संघसंस्थाले भाग लिँदैछन् ?
नेपाल चार जात छत्तिस बर्णको फूलबारी भनेझैं विभिन्न जातीय र क्षेत्रीय संघसंस्थाहरुले भाग लिने छन् । गतवर्ष ३१ वटा संघसंस्थाले भाग लिएको थियो । मलाई लाग्छ, अहिले पनि ३०–३५ वटा संघसंस्थाले भाग लिनेछन् ।
कति खर्च हुने अनुमान छ मेलामा ?
यो मेला निकै खर्चिलो छ । यसमा हामी तमुधिं युकेका थुप्रै स्वयंसेवकहरु लागिपरेका छौं । तैपनि ३०–३५ हजार पाउन्ड नगदै खर्च हुन्छ ।
यति ठूलो खर्चलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?
बेलायतमा रहेका नेपाली उद्यमी र व्यापारीहरुको ठूलो सहयोग छ । उहाँहरुको साथ र सहयोगले नै मेलालाई दस वर्षसम्म लगातार आयोजना गर्ने हिम्मत मिलेको छ । अर्को भनेको प्रवेश शुल्क र कारपार्क शुल्क नै हो ।
प्रवेश शुल्क कति तोक्नु भएको छ ?
१२ वर्षभन्दा माथिको लागि ५ पाउन्ड, १२ वर्ष मुनिका बालबच्चाहरुलाई ३ पाउन्ड, कार पार्किङ्ग ५ पाउन्ड र बस पार्कको १० पाउन्ड तोकेका छौं ।
पुरस्कारको बारेमा बताइदिनुहोस् न ?
हामीले एम्बासडर कप र एनआरएनए कप विजेतालाई ११ सय पाउन्ड, उपविजेता अर्थात् दोस्रोलाई ७ सय पाउन्ड र तेस्रोलाई ५ सय पाउन्ड नगद, मेडल र प्रमाणपत्रको व्यवस्था गरेका छौं । त्यस्तै, नृत्य तर्फको प्रथमलाई ५०० पाउन्ड, दोस्रोलाई ४०० पाउन्ड र तेस्रोलाई ३०० पाउन्डको व्यवस्था गरेका छौं । र, गत वर्षबाट सान्त्वना स्वरुप झाँकी र नृत्यतर्फ ३/३ समूहलाई ३००/३०० पाउन्ड नगद र प्रमाण पत्रको व्यवस्था गरेका छौं ।
वास्तवमा सबैले आप्mनो झाँकी तथा नृत्य प्रस्तुतिका लागि निकै दुःख गरेका हुन्छन्, तयारी गरेको हुन्छ र मिहेनत पनि उत्तिकै गरेका हुन्छन् । उनीहरुको मेहेनतको कदर गर्दै पुरस्कृत गरिँदै आएका हौं । तर, हामीले कसैलाई विनर र कसैलाई लुजर बनाउन पुरस्कार तोकिएको भने होइन । राम्रो गर्नेलाई प्रोत्साहन मात्र गरेका हौं ।
धेरैजसो कार्यक्रममा युवाहरुको न्यून उपस्थिति देखिन्छ, नेपाली मेलामा युवाहरुको उपस्थिति कस्तो रहला छ ?
वास्तवमा यो कार्यक्रम भनेकै युवाहरुको लागि हो । युवाहरुले आप्mनो नेपाली भाषा, कला र संस्कृतिलाई जीवन्त राख्न सकुन् भन्ने हाम्रो मुख्य उद्देश्य हो ।
कतिपय युवाहरु झाँकीमा समेत सहभागी हुन्छन् । तर, बढीभन्दा बढी उनीहरुको उपस्थिति रहोस् भन्नाका लागि हामीले उनीहरुलाई २ घण्टा समय छुट्टयाएका छौं । जुन समयमा उनीहरुले स्टेजलाई नेपाली संगीतमय बनाउने छन् ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?
हामी बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई नेपाली मेलामा स्वागत गर्न आतुर छौं । आगामी २६ अगस्टका दिन क्याम्पटन पार्क रेसकोर्ष जाऔं, नेपाली कला र संस्कृति प्रस्तुत् गरौं ।
हेरौं र अझ यसलाई व्यवस्थित रुपले आयोजना गर्नका लागि सल्लाह, सुझाव र प्रतिक्रिया दिउँ । यसको संरक्षण र सम्वद्र्धनमा एउटा इँटा थपौं । र, भाग लिन चाहने संघसंस्था र स्टल राख्न चाहनुहुने उद्यमी एवं व्यापारीहरुले समयमा नै सम्पर्क गर्नहुन अनुरोध गर्दछु ।






