एटा संवाददाता
फार्नबोरो । गोर्खा जिल्ला गुरुङ समाज युकेले पहिलो पटक च्यारिटी कार्यक्रमको आयोजना गरेको छ । क्यान्सर रिसर्च सेन्टर युके, युकेस्थित अपाङ्ग बालबालिका र समाजकै आपतकालीन कोष सहयोगार्थ गत शनिबार १८ अगस्टका दिन फार्नबोरोस्थित सामुयल कोडी स्पोर्टस् कलेजमा आयोजना गरिएको हो ।
कार्यक्रमलाई समाजका अध्यक्ष फडकजीत गुरुङ, संस्थापक अध्यक्ष थमप्रसाद गुरुङ र तमु ह्युल छोंज धिं नेपाल, प्ये उपसमितिका सदस्य टेकबहादुर गुरुङले संयुक्त रुपमा दीपप्रज्ज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए ।
विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको कार्यक्रममा अतिथि कलाकार कल्पना श्रीपाल र विमलराज क्षेत्रीले लोक तथा दोहोरी गीत प्रस्तुत् गरेका थिए । त्यस्तै, डेविड गुरुङ तथा अभिसा गुरुङ नृत्य, विश्वास गुरुङ, वीरबहादुर गुरुङ र निरराज गुरुङले विभिन्न गीतहरु गाएका थिए ।
कार्यक्रममा बिंगो खेलसमेत खेलाइएको थियो । सो खेललाई क्या.रि. ग्यारी घले र मान गुरुङले सञ्चालन गरेका थिए ।
गतवर्ष बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको समाजले पहिलो पटक आयोजना गरिएको च्यारिटी कार्यक्रममा तमु समाज युकेका अध्यक्ष शिवचन्द्र गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, लमजुङ समाज युकेका अध्यक्ष बोहत गुरुङ, गोर्खाली समाज युकेका अध्यक्ष कर्ण दर्लामी, चारभञ्ज्याङ तमु समाज युकेका अध्यक्ष मे.रि. कृष्ण गुरुङ, तमु प्ये ल्हु संघ युकेका निवर्तमान अध्यक्ष सोम त्होर्जे तमु, पूर्वअध्यक्ष जगत तमु र इमलपोखरी समाज युकेका अध्यक्ष पूर्णराज गुरुङलगायतको विशेष उपस्थिति रहेको थियो ।
समाजका उपाध्यक्ष नैना गुरुङ र एफसीए आमा समूहले प्रवेशद्वारमा पाहुनाको स्वागत गरेका थिए भने सूर्यमान गुरुङ र मणिराज गुरुङले फोटो तथा भिडियोग्राफी गरेका थिए । त्यस्तै, रेशम गुरुङ र खड्काबहादुर गुरुङले पिय पदार्थको व्यवस्थापन गरेका थिए भने गोर्खा किचन रेस्टुरेन्टले खानाको व्यवस्था र माउसटेल वेभ सर्भिसेजले डिजाइन तथा प्रिन्टमा सहयोग गरेका थिए ।
समाजका अध्यक्ष फडकजीत गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मिनबहादुर गुरुङले धन्यवाद प्रकट गरेका थिए भने महासचिव मान गुरुङ कार्यक्रम सञ्चालन गरेका थिए ।






