काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानकर्ता ५ जना प्रहरी निलम्बन प्रकरणमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच मतान्तर देखिएको छ ।

अनुसन्धानमा खटिएका प्रहरीको ‘कमजोरी देखिए बरु जागिरबाटै बर्खास्त गरौं तर अनुसन्धान अधिकारीलाई नै निलम्बन गर्दा संगठनभित्र राम्रो सन्देश जाँदैन’ भन्ने आईजीपी खनालको मत रहेको स्रोत बताउँछ । तर, गृहमन्त्री भने देशैभरि चर्कन थालेको आन्दोलनलाई मथ्थर पार्न ती प्रहरी अधिकारीलाई निलम्बन गर्नुपर्ने पक्षमा थिए । अन्ततः आईजीपीको असन्तुष्टिबीच शनिबार साँझ गृहमन्त्रालयले पाँच प्रहरीलाई निलम्बन गरेको स्रोतको दाबी छ ।
गृहमन्त्रालयले गठन गरेको उच्चस्तरीय छानविन समितिका संयोजक सह–सचिव हरिप्रसाद मैनालीको प्रारम्भिक प्रतिवेदनका आधारमा उनीहरुलाई निलम्बन गरिएको गृहमन्त्रालयका सह–सचिव एवं प्रवक्ता रामकृष्ण सुवेदी बताउँछन् ।
निलम्बित हुनेहरुमा डीएसपीद्वय अंगुर जीसी, ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, जगदीश भट्ट र असई रामसिंह धामी छन् । एसपी डिल्लीराज विष्ट यसअघि नै निलम्बनमा परिसकेका छन् ।
निलम्बित डीएसपी जीसी सीआईबीको जघन्य अपराध पिल्लरका प्रमुख थिए भने सेटी कञ्चनपुर प्रहरीका तत्कालिन प्रवक्ता थिए । भट्ट वडा प्रहरी कार्यालय, महेन्द्रनगर र खड्का कञ्चनपुर प्रहरीका अनुसन्धान अधिकृत थिए ।
त्यस्तै, असई धामी प्रहरी चौकी, सालघारीमा इञ्चार्ज थिए ।
गृहमन्त्रालयले अहिलेसम्म ६ जना प्रहरीलाई निलम्बन गरे पनि पीडित परिवारको पक्षमा उठेको आन्दोलन आइतबार पनि रोकिएको छैन । बरु यो आन्दोलन कञ्चनपुरबाट विस्तारै राजधानीलगायत देशैभरि फैलन थालेको छ ।
निर्मला पन्तका बुबाआमासँगै काठमाडौं आएकी अधिकारकर्मी शारदा चन्दले भनिन्– ‘५ प्रहरीलाई निलम्बन गरे पनि कञ्चनपुर र काठमाडौंमासमेत हाम्रो आन्दोलन जारी छ । निर्मलाले न्याय नपाएसम्म जारी रहन्छ ।’






