बेलायतमा नेपालको पर्यटन प्रवर्द्धन, १ सय ८४ देशबाट ४३ हजार सहभागी

SHARE:

काठमाडौँ ७ नोभेम्बर २०२४ । संयुक्त अधिराज्य (बेलायत)मा विश्वकै ठूलो पर्यटन मेला मानिने ‘वर्ल्ड ट्राभल मार्केट’मार्फत नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ ।

नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालका विभिन्न पर्यटन कम्पनीको सहभागिता रहेको मेलामा नेपालका पर्यटन गन्तव्यबारे विश्वभर प्रचारप्रसार गरिएको हो । साहसिक यात्रा, सांस्कृतिक विविधता र दिगो पर्यटनका लागि अग्रणी गन्तव्यको रूपमा नेपालले लन्डनमा आयोजना भएको वर्ल्ड ट्राभल मार्केट (डब्लुटीएम)मा यही कात्तिक २० देखि आफ्नो उपस्थिति जनाउँदै विश्व पर्यटन उद्योगको ध्यान आकर्षित गरेको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । बोर्डका अनुसार यस वर्षको डब्लुटीएम लन्डन कात्तिक २० देखि २२ सम्मका लागि तय गरिएको छ, जसमा एक सय ८४ देशबाट ४३ हजार सहभागी, तीन हजार आठ सय ७५ प्रदर्शक र ८२ वटा सम्मेलन सत्र आयोजना हुनेछन् ।

बोर्डले गौरवपूर्वक आफ्नो ४० वर्षको सहभागिता वर्षको उत्सव मनाउँदै विश्व पर्यटन क्षेत्रमा लामो समयदेखिको योगदानलाई निरन्तरता दिइएको जनाएको छ । हालै लोनली प्लानेटद्वारा सन् २०२४ का लागि ‘बेस्ट इन ट्राभल’ गन्तव्यका रूपमा घोषित भएपछि यस वर्ष डब्लुटीएममा नेपालको उपस्थिति थप महत्वपूर्ण बनेको बोर्डले जनाएको छ । यसले विश्वभरका यात्रु र पर्यटन व्यवसायीसामु नेपालका सम्पदालाई प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको बोर्डले उल्लेख गरेको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले वर्ल्ड ट्राभल मार्केटमा सहभागिताले नेपाललाई उच्च सम्भावनायुक्त बजारसँग प्रत्यक्ष संलग्न हुन सघाउ पुग्ने र यसले शीर्ष अन्तर्राष्ट्रिय गन्तव्यको साथ नेपाललाई रहने विश्वास व्यक्त गरे । उनले भने, “यसले नयाँ व्यावसायिक अवसर विकास गर्दै हाम्रो समृद्ध संस्कृति, अनुपम प्राकृतिक दृश्य र पर्यावरणमैत्री पर्यटनमा रुचि राख्ने यात्रुसँग सम्बन्ध स्थापित गर्ने अनौठो अवसर प्रदान गर्दछ ।”

सिइयो जोशीले नेपाललाई ‘बेस्ट इन ट्राभल’ गन्तव्यका रूपमा सम्मानित गरेकामा लोनली प्लानेटलाई धन्यवाद दिँदै थपे, “लोनली प्लानेटको यो मान्यताले नेपालको पर्यटन सेवालाई थप विश्वसनीयता प्रदान गर्दै प्रतिस्पर्धी गन्तव्यबाट यसलाई अलग बनाउँछ । यस मान्यताले उत्कृष्ट गन्तव्यका रूपमा हाम्रो स्थितिलाई थप मजबुत बनाउँछ र गहिरो तथा दिगो यात्रा अनुभव खोज्ने आगन्तुकलाई आकर्षित गर्ने हाम्रो लक्ष्यसँग पूर्ण रूपमा मेल गराउँछ ।”

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!