
काठमाडौं ४ फेब्रुअरी २०२५ । नेपाल भ्रमणमा रहेको तमु धीं युकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोलीलाई पोखरामा विभिन्न संघ, संस्थाले स्वागत सम्मान गरेका छन् ।
छुट्टाछुट्टै कार्यक्रम गरेर टोलीलाई सम्मान गरिएको हो । पोखरा-१५ नयाँगाउँस्थित ताङ्गलेकोट समाज घरमा मंगलबार एक कार्यक्रमबीच ताङ्गलेकोट तमु समाजका अध्यक्ष क्या जंगबहादुर गुरुङलगायतले समाज र जिम्मेवाली र मुख्यवाली चेलीबेटीको तर्फबाट माला, भ्रांगा, खादाबाट सम्मान गरिएको थियो ।
सम्मान ग्रहणपछि अध्यक्ष जुमकाजीले ताङ्गलेकोट तमु समाज घरमा आफूहरुलाई स्वागत र बधाई पाएकोमा खुसी व्यक्त गर्दै समाजलाई धन्यवाद व्यक्त गरे ।
यस्तै अमरसिंहस्थित लेकाली चुलो घरमा सोमबार तमु धीं युकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ, तमु धीं युके आमा समूहका अध्यक्ष कमलादेवी गुरुङ,गुरुङ साहित्यिक मञ्च नेपालका प्रमुख सल्लाहकार गीतकार तथा संस्कृतिविद् एकेन्द्र गुरुङ,एनआरएन युकेका अध्यक्ष हित काजी गुरुङ लगायतको टिमलाई गुरुङ साहित्यिक मञ्च नेपाल, लेकाली चुलो घर र स्टार्स फाउन्डेसनले संयुक्त रुपमा स्वागत,बधाई,भेटघाट गरेका थिए ।
सोही कार्यक्रमका अवसरमा गुरुङ साहित्यिक मञ्च नेपालको मिनी लाइब्रेरी उद्घाटन गरिएको थियो ।







