
- पार्वती गुरुङ
कास्की २३ फेब्रुअरी २०२५ । लुम्बिनी बुटिक यूकेका सञ्चालक तथा पूर्वब्रिटिस आर्मी विक्रमसिङ गुरुङ र श्रीमती विष्णुकुमारी गुरुङले दुई वर्षदेखि सञ्चालनमा ल्याएको बीएन्डबी कम्प्लेक्सको ‘ग्रान्ड ओपनिङ’ गरिएको छ ।
विक्रमसिङ र विष्णुकुमारीको नाममा पोखरा महानगरपालिका- १७ ड्यामसाइडमा खोलिएको बीएन्डबी कम्प्लेक्सको शनिबार एक कार्यक्रमबीच ‘ग्रान्ड ओपनिङ’ गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेश सांसद तथा पूर्व सामाजिक विकासमन्त्री पञ्चराम गुरुङ, कोल्मा बाहाकोट समाज युकेका अध्यक्ष चन्द्रबहादुर गुरुङ र साऊथ ईस्ट रिजनल तमु धीं युकेका अध्यक्ष प्रेमकुमार गुरुङ, सोंपाल समाज पोखराकी उपाध्यक्ष तथा थाप्ले बुद्ध प्रतिमाका संयोजक साबित्री गुरुङ, समाजसेवी, व्यवसायी लगायतको बाक्लो उपस्थिति थियो ।
पोखरा-१७ ड्यामसाइड स्याउली बजार फेदीखोला उपर्लो कुर्ले स्थायी घर रहेको विक्रमसिङ र विष्णुकुमारी हाल यूके बस्छन् । उनीहरुले सञ्चालनमा ल्याएको व्यापारिक कम्प्लेक्स तीनतले सुविधायुक्त भवन १ रोपनी ५ आना जमिनमा निर्माण भएको छ । १०/१७ वर्ग फिटको कूल ७२ वटा सटर रहेकोमा अब ११ वटामात्र भाडामा लाग्न बाँकी रहेको विक्रमसिंङ गुरुङले जानकारी दिए । उनका अनुसार भुइँतलामा १३ सटरमा व्यवसाय सञ्चालन भइरहेको छ भने ११ वटामा बुकिङ खुला छ । दोस्रो तलामा स्नुकर हाउस र रेस्टुरेन्ट सञ्चालन गरिएको छ भने तेस्रो तलामा जिम हल, प्रोटिन हाउस र रेस्टुरेन्ट सञ्चालनमा रहेको उनले बताए ।
आफ्नो भवनमा प्रशस्त पार्किङ, पानीको व्यवस्था रहेको सञ्चालक विक्रमसिंङले बताए ।

यसैबीच बीएन्डबी कम्प्लेसको ‘ग्रान्ड ओपनिङ’को खुसीयालीमा विक्रमसिङ र विष्णुकुमारीले मावली जैबिरै खलक पोखराको कोष वृद्धिका २० हजार र माइती तथा आफन्तले लगाएको फूलसमेत गरी ६४ हजार रुपैयाँ सहयोग गरेका छन् । यस्तै उनीहरुले कोष वृद्धिको लागि २०,००० हजार, माइती र ईस्टमित्रको तर्फबाट गरी सोंपाल समाज पोखरालाई पनि ४४ हजार रुपैयाँ दिएको तमु धीं यूकेकी कार्यसमिति सदस्य तथा माईला-कान्छा अभियान बेलायतकी पार्वती गुरुङ (माइला) ले जानकारी दिइन् ।
यसैगरी टुर्मे भाईखलकको कोष वृद्धिको लागि माईला कान्छा अभियानकी माइला पार्वती गुरुङ र श्रीमान् जुमप्रसाद गुरुङको तर्फबाट १ लाख र उनको माइती र ईस्टमित्रले फूल लगाएको २४ हजार गरी १ लाख २४ हजार सहयोग प्रदान गरिएको छ । पार्वतीका स्व. बाबा निलबहादुर गुरुङ र आमा श्रीलक्ष्मी गुरुङका ६ छोरी/ज्वाइँ र १ छोरा/बुहारी छन् । हालसम्म सम्पूर्ण परिवारका सदस्य ५० जना पुगेको पार्वतीले बताइन् ।
ग्रान्ड ओपनिङको अवसरमा सोंपाल समाज पोखराकी उपाध्यक्ष तथा थाप्ले बुद्ध प्रतिमाका संयोजक साबित्री गुरुङले सामाजिक अभियन्ता पार्वती गुरुङलाई फेटा र मायाको चिनोसहित सम्मान गरिन् । पार्वतीले आफ्नो गाउँ थाप्लेलेकमा निर्मित ५५ फिट उचाइको बुद्ध प्रतिमालाई आर्थिक सहयोग संकलनका लागि यूकेमा संयोजन गरेकी थिइन् । उनको नेतृत्वमा ३० लाख रुपैयाँ संकलन भएको थियो ।
बुद्ध प्रतिमा गत पुस १ गते उद्घाटन गरिएको थियो । उक्त कार्यक्रममा निमन्त्रणा गरिए पनि पार्वती उपस्थित हुन नसकेकोले नेपाल भ्रमणका क्रममा अहिले सम्मान गरिएको उपाध्यक्ष साबित्रीले बताइन् । दिनदु:खी, शिक्षा, स्वास्थ्य, प्रकोपपीडितका लागि निरन्तर सहयोग गर्दै आएकी पार्वतीले यसअघि दरौ गाविसमा आफ्ना ससुराको स्मृतिमा विद्यालयका दुई वटा कक्षा व्यक्तिगत खर्चबाट बनाइदिएकी थिइन् ।









