राजावादी र प्रहरीबीच काठमाडौंमा झडप, पत्रकारसहित दुई जनाको मृत्यु, ३५ भन्दा बढी घाइते

SHARE:


काठमाडौँ २८ मार्च २०२५ । पूर्वराजाका सर्मथकहरूले शुक्रबार काठमाडौँको तीनकुने क्षेत्रमा गरेको हिंसात्मक प्रदर्शनका क्रममा भएको झडपमा एक पत्रकारसहित २ जनाको मृत्यु र ३५ जनाभन्दा बढी घाइते भएका छन् ।

गृह मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव छवि रिजालले प्रदर्शनका क्रममा भएको झडपमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको जानकारी दिए । “झडपमा घाइते भएका महर्जनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो”, सहसचिव रिजालले भने, “काठमाडौँका विभिन्न स्थानमा भएको प्रदर्शनका क्रममा ३५ जना घाइते भएका छन् ।”

गृह मन्त्रालयका अनुसार प्रदर्शनकारीतर्फ २३, सशस्त्र प्रहरीतर्फ नौ र नेपाल प्रहरीतर्फ तीन जना घाइते भएका छन् । आन्दोलनका प्रमुख दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याउनुका साथै आजको आन्दोलनबाट भएको क्षतिको जिम्मेवारी आयोजकले लिनुपर्ने उनको भनाइ छ ।

यसैबीच तीनकुनेमा पूर्वराजाका समर्थकहरूद्वारा जलाइएको एक निजी घरमा मृत भेटिएका व्यक्ति एभिन्यूज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजक भएको पुष्टि भएको छ । एभिन्यूज टिभीका समाचार शाखा प्रमुख केदार कोइरालाले मृतक व्यक्ति पत्रकार रजक रहेको पुष्टि भएको उल्लेख गर्दै प्रहरीद्वारा सनाखत गर्ने काम भइरहेको जानकारी दिए । पत्रकार रजक उक्त घरको छतबाट आन्दोलनको दृश्य कैद गर्ने क्रममा घरमा आगजनी भएपछि बाहिर निस्किन नपाएर मृत्यु भएको हो ।

महासङ्घद्वारा पत्रकार रजकको मृत्यु भएकोप्रति दुःख व्यक्त
यसैबीच, नेपाल पत्रकार महासङ्घले राजसंस्थाको पुनःस्थापनाको माग राख्दै भएको भनिएको प्रदर्शनकारीद्वारा गरिएको आगजनीको समाचार सङ्कलनका क्रममा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको घटनाले स्तब्ध भएको जनाएको छ ।

महासङ्घले आज प्रेस विज्ञप्तिमार्फत पत्रकार रजकको जलेर निधन भएको खबरले स्तब्ध भएको जनाउँदै यो अमानवीय घटनाको गहिरो छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ । मृतक पत्रकार रकजप्रति श्रद्धाञ्जली अर्पण गर्दै महासङ्घले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

प्रदर्शनकारीको समूहले विभिन्न सञ्चारगृहको भवनमा आगो लगाउने, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुङ्गा हान्ने, सवारीसाधन तोडफोड गर्ने र सञ्चारकर्मीलाई आतङ्कित तुल्याउने कार्य गरेको भन्दै महासङ्घले भत्सर्नासमेत गरेको छ ।

आगो लगाइएको भवनको समाचार सङ्कलनका क्रममा जलेर एभिन्यूज टेलिभिजनका पत्रकार रजकको मृत्यु भएको महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा पुष्टि गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!