लन्डन ५ अप्रिल २०२५ । मगर संघ युकेको आठौँ अधिवेशनबाट लाल बहादुर पुन मगर (लालु) को नेतृत्वमा मगर संघ युकेको आठौँ कार्यसमिति गठन भएको छ। उनि सातौँ कार्यसमितिका बरिष्ठ उपाध्यक्षमा कार्यरत थिए। आठौ अधिवेशनमा अध्यक्षको प्रत्यासी क्याप्टेन तम बहादुर धेगा मगर भएता पनि उनले उनको मनोनयन फिर्ता लिएपछि उनि निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशन बेलायतको अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न भएको छ।
बरिष्ठ उपाध्यक्षमा निर्वाचन प्रकृयाद्वारा रुद्र थापा मगर निर्वाचित भएका छन् भने उनका प्रत्यासी क्याप्टेन राम बहादुर पुन मगर उपबिजयी बनेका छन् । त्यस्तै उपाध्यक्षहरुमा गुमान सिङ थापा मगर र बिष्णु श्रीस मगर निर्बिरोध निर्वाचित भएका छन् भने महासचिबमा गोमान पुन मगर र कोषाध्यक्षमा मोहन थापा मगर निर्बिरोध निर्वाचित भएका छन्।
सचिबमा निर्वाचन प्रकृयाद्वारा अनिल थापा मगर निर्वाचित भएका छन् भने उनका प्रत्यासी मनोज पुन मगर उपबिजयी बनेका छन् । कार्यसमितिका सदस्यहरुमा पूर्ण बहादुर थापा मगर, मेग बहादुर बुरा मगर र नुनु पाइजा मगर निर्बिरोध निर्वाचित भएका छन् भने बाकि रहेका कार्यसमिति नयाँ कार्यसमितिले चयन गर्ने छ।
निर्वाचन मण्डलका प्रमुख आयुक्त डा. प्रेम आले मगरले आठौँ अधिवेशनद्वारा निर्वाचित सम्पूर्ण कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउदै प्रमाणपत्र प्रदान गरेका छन् । निर्वाचन मण्डलको सचिबमा जमुना पुन मगर थिए भने सदस्यहरुमा हेमा राना मगर, विजय थापा मगर र हिक्मत सिङ रॊका मगर थिए।
आठौँ अधिवेशनमा मगर संघ युकेको महासचिवले प्रस्तुत गरेको सांगठानिक, कोषाध्यक्षले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, विभागीय संयोजकहरुले प्रस्तुत गरेको विभागीय प्रतिवेदनहरुलगायत शाखाका अध्यक्ष तथा प्रतिनिधिहरुले प्रस्तुत गरेको सम्पूर्ण प्रतिवेदनहरु सर्वसम्मतद्वारा पारित भएको छ।
त्यस्तै बिधान समितिले संशोधनको लागि प्रस्तापित विधान पनि सर्वसम्मतले पारित गरेको छ भने अधिवेशनमा सहभागीहरुले उठाईएको बिषयहरुमा गहन छलफल भएको छ।
मगर संघ युकेका अध्यक्ष सिता पुनले अध्यक्षता गरेको अधिवेशनमा उपाध्यक्ष निर्मला थापा मगरले स्वागत मन्तब्य राखेका थिए भने महासचिब गुमान सिङ थापा मगरले संचालन गरेका थिए।
अध्यक्ष सिता पुन मगरले सातौँ कार्यसमितिको कार्यकाल सफलतापुर्बक सम्पन्न गर्नमा सहयोग गरेकोमा मगर संघ युकेका संस्थापक अध्यक्ष तथा पुर्ब अध्यक्षहरु संरक्षकहरु सल्लाहकारहरु, शाखा समितिका अध्यक्षहरु, सातौं कार्यसमितिका पदाधिकारीहरु कार्यसमितिहरु, शाखा समितिका अध्यक्षहरु र उनका कार्यसमतिहरुलगायत सम्पूर्ण बेलायतवासी मगर दाज्युभाइ तथा दिदीबहिनीहरु हार्दिक धन्यवाद दिदै लाल पुन मगरको आठौँ कार्यसमितिलाई हार्दिक बधाई दिएका छन्।
नवनिर्वाचित अध्यक्ष लालु पुन मगरले सातौँ कार्यसमिति र निर्वाचन समितिलगायत उपस्थित सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो प्रतिवद्धता व्यक्त गरेका छन् भने अध्यक्षको लागी प्रत्यासी क्याप्टेन तम बहादुर धेगा मगरले मगर संघको हितलाई केन्द्रमा राखेर आफुले मनोनयन फिर्ता लिएको बताएका छन्।
बरिष्ठ उपाध्यक्षका उपविजेता क्याप्टेन राम बहादुर पुनले आफु उपविजेता बनेपनी मगर संघ युकेसंग आबद्ध रहिरहने बताएका छन्।










