राम पुन – बेलायत
Folkestone Nepalese Community ले शुक्रबार, २६ सेप्टेम्बर २०२५ का दिन बेलायतको फोक्स्टोन शहरस्थित लिज क्लिफ हलमा भव्य समारोहका साथ दशैँ उत्सव सम्पन्न गरेको छ। कार्यक्रममा समुदायका सदस्य, वरिष्ठ नागरिक तथा निमन्त्रित पाहुनाहरूको उल्लेखनीय सहभागिता थियो।
आयोजकहरूले यस समारोहलाई निकै सफल भएको बताएका छन्। कार्यक्रममा केन्द्रीय, जिल्ला तथा स्थानीय परिषद्का प्रतिनिधिहरू, काउन्सिलरहरू, नेपाली समुदायका अगुवाहरू, दाताहरू, साझेदार संस्था तथा च्यारिटी संगठनका प्रतिनिधिहरूको बाक्लो उपस्थिति देखियो। यसले स्थानीय समाज र नेपाली समुदायबीचको आपसी सम्मान र सहकार्यलाई अझ बलियो बनाएको छ।
साँझभर बिभिन्न विविध सांस्कृतिक प्रस्तुति, गीत–संगीत र जातीय मौलिक नृत्यहरूले नेपाली परम्परागत संस्कृतिलाई उजागर गरे । सहभागीहरूले नेपाली परिकारहरूको स्वाद लिँदै दशैँको उल्लासपूर्ण वातावरणमा रमाइलो गरेका छन् ।
समारोहको अध्यक्षता Folkestone Nepalese Community का अध्यक्ष क्याप्टेन रामबहादुर पुनले गरेका थिए भने महासचिव डा. माहा राईले औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रमको संयोजन संस्थाका उपाध्यक्ष क्याप्टेन सुमनचन्द्र राईले गरेका थिए भने सांस्कृतिक कार्यक्रमको जिम्मेवारी श्रीमती सुस्मा थापाले लिएका थिए। राफल ड्र कार्यक्रम श्रीमती इन्दिरा राईले सम्हालेका थिए भने उद्घोषकको भूमिका श्रीमती आशा पुनले निर्वाह गरेका थिए ।
कार्यक्रमलाई सफल बनाउन योगदान दिने सबैप्रति समाजको कार्यसमितिले हार्दिक आभार व्यक्त गर्दै विशेष धन्यवाद समिति सदस्य, Trustees, सल्लाहकार, संयोजक, कलाकार, Lemon Leaf Restaurant, प्रायोजक, महिला समिति, स्वयंसेवक, ध्वनि–प्रकाश व्यवस्थापक, युवा समूह, सहयोगी दाताहरू तथा सम्पूर्ण सहभागी सदस्यहरूलाई प्रकट गरेको छ। उनीहरूको सक्रिय सहभागिताले तयारीदेखि समापनसम्म सम्पूर्ण कार्यक्रम सुचारु रूपमा सम्पन्न भएको थियो।
“Folkestone Nepalese Community साँच्चै भाग्यशाली छ, जहाँ सबैले उत्साहपूर्वक सहकार्य र समर्थन गर्नुभयो। सदस्यहरूको प्रतिबद्धता र सामूहिक भावनाले हामीलाई हाम्रो परम्परा निरन्तर जोगाउन र भव्य रूपमा मनाउन सक्षम बनाएको छ,” समाजका अध्यक्ष पुनले भने।
दशैँ, नेपालको सबैभन्दा महत्वपूर्ण पर्वहरूमध्ये एक, असत्यमाथि सत्यको विजयको प्रतीक हो। यो पर्वले परिवार, एकता र सामुदायिक सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्दछ।
समाजले आगामी दिनमा पनि यसरी नै सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने, नयाँ पुस्तालाई आफ्नै मौलिक संस्कृतिसँग जोडिराख्ने तथा यसलाई स्थानीय समाजसँग साझेदारी गर्दै अगाडि बढ्ने प्रतिबद्धता अध्यक्ष पुनले जनाएका छन् ।








