आइतबार, २६ अक्टोबर २०२५, बेलायत।
ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) द्वारा आइतबार २६ अक्टोबरका दिन बेलायतको अल्डरसटस्थित एम्पायर हलमा आयोजना गरिएको ‘ग्रान्ड च्यारिटी डिनर नाइट’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
यो कार्यक्रम नेपालमा भदौ २३ र २४ गते सम्पन्न जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण तथा गोर्खा र तिनका सन्तानहरूको नेपाली नागरिकता निरन्तरताका लागि सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको हो।
कार्यक्रमको सुरुवात आपतकालीन अवस्थाबारे जानकारी दिई, अतिथिहरूको आसन ग्रहण, नेपालको राष्ट्रिय गीत र बेलायतको राष्ट्रिय धुन वादन तथा दिप प्रज्वलन गरी गरिएको थियो। दिप प्रज्वलन सीएनसीबीजीका अध्यक्ष थर्क राना मगर, उपाध्यक्ष दल बुराथोकी मगर, बेलायतस्थित नेपाली दूतावासका द्वितीय सचिव तथा प्रमुख अतिथि सञ्जोक राई र तृतीय सचिव तथा विशेष अतिथि झुपलाल पुन मगरले संयुक्त रूपमा गरेका थिए।
कार्यक्रमका सहभागीहरूले जेन-जी आन्दोलनमा सहादत प्राप्त शहीदहरूको सम्झनामा एक मिनेट मौन धारण गरेका थिए। अध्यक्ष थर्क राना मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव भक्त राना मगरले कार्यक्रम सञ्चालन तथा स्वागत मन्तव्य दिएका थिए। उपाध्यक्ष दल बुराथोकी मगरले सीएनसीबीजीका उद्देश्यबारे प्रकाश पार्दै संगठनको सामाजिक उत्तरदायित्वबारे बताएका थिए भने सहप्रवक्ता दीर्घ गुरुङले नागरिकता निरन्तरता सम्बन्धी विषयमा मन्तव्य दिएका थिए।
साँझको मनोरञ्जनात्मक कार्यक्रममा नेपालकी चर्चित गायिका कामना ओली, नृत्याङ्गना अश्मिता पुरी, स्थानीय कलाकारहरू तथा सीएनसीबीजीका उपाध्यक्ष सोब घोताने, दीपक मैथाने मगर र क्याप्टेन वीरबहादुर थापाले आकर्षक प्रस्तुति दिएका थिए।
कार्यक्रम संयोजक उपाध्यक्ष नेत्र आलेको संयोजकत्वमा सम्पन्न उक्त समारोहमा अध्यक्ष थर्क राना मगरले सबै उपस्थित अतिथि तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै सीएनसीबीजीको अभियानमा निरन्तर साथ र सहयोगको अपेक्षा व्यक्त गरेका थिए। प्रमुख अतिथि सञ्जोक राईले पनि कार्यक्रममा प्रमुख अतिथिका रूपमा आमन्त्रण प्राप्त गरेकोमा गौरव अनुभव गरेको बताएका छन्।







