तमु समाज युकेद्वारा ल्होछारको अवसरमा भव्य ग्रह शान्ति तथा शुद्धीकरण पूजा सम्पन्न

SHARE:

शिव कुमार गुरुङ – लन्डन

तमु समाज युकेले तमु समुदायको महान पर्व तमु ल्होछार/ल्होसार को अवसरमा सर्प वर्गको विदाई तथा घोडा वर्गको स्वागत गर्दै विशेष ग्रह शान्ति तथा शुद्धीकरण पूजा कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम २७ डिसेम्बर २०२५, शनिबारका दिन लन्डनको वेम्बलीस्थित बरहाम पार्कमा रहेको तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा भव्य रूपमा आयोजना गरिएको थियो।

बिहान १० बजे शुभारम्भ भई दिउँसो ४ बजे समापन भएको कार्यक्रममा तमु समाज युकेका अध्यक्ष, संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरू, उपाध्यक्षहरू, कार्यसमितिका पदाधिकारीहरू, सल्लाहकारज्यूहरू, आजीवन सदस्यज्यूहरू लगायत समाजका ज्येष्ठ नागरिकदेखि युवा तथा बालबालिकासम्मको उल्लेख्य उपस्थिति रहेको थियो।

समाजका उपाध्यक्ष केदार बहादुर गुरुङको संयोजकत्वमा तथा आमा समूहकी अध्यक्ष बिमला गुरुङको व्यवस्थापनमा आयोजित उक्त कार्यक्रममा पूजा प्रारम्भ हुनु अघि Rangjung Yeshe Oddiyana UKCIO बुद्धिष्ट सेन्टर, फानबोरोका प्रमुख लामा श्रद्धेय ड्रुब्ला गुरुज्यूलाई तमु समाज युकेकी अध्यक्ष श्रीमती बिन्दु घले, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, उपाध्यक्ष भिम बहादुर गुरुङ तथा आमा समूहकी अध्यक्ष श्रीमती बिमला घले गुरुङले विधिपूर्वक स्वागत गर्दै पूजा स्थलमा आमन्त्रण गर्नुभएको थियो।

पूजा कार्यक्रम प्रारम्भ अघि संयोजक उपाध्यक्ष केदार बहादुर गुरुङले श्रद्धेय धर्मगुरुहरूको परिचय गराउँदै पूजा स्थलमा अपनाउनुपर्ने हेल्थ एण्ड सेफ्टी सम्बन्धी आवश्यक जानकारी प्रदान गर्नुभएको थियो। त्यसपछि समाजकी अध्यक्ष श्रीमती बिन्दु कुमारी घले, आमा समूहकी अध्यक्ष श्रीमती बिमला गुरुङ तथा संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङद्वारा संयुक्त रूपमा दीप प्रज्वलन र छ्योख अर्पण गरी पूजा कार्यक्रम औपचारिक रूपमा आरम्भ गरिएको थियो।

पूजा कार्यक्रमको निर्देशन तथा समन्वय संयोजक केदार बहादुर गुरुङ र सहयोगी लामा गुरु रविन्द्र लोसालले गर्नुभएको थियो। नेपालबाट पाल्नु भएका श्रद्धेय लामा ड्रुब्ला गुरुज्यू तथा उहाँका सहयोगी रविन्द्र लोसालद्वारा धार्मिक विधि विधानअनुसार ग्रह शान्ति तथा शुद्धीकरण पूजा सम्पन्न गरिएको थियो।

यस अवसरमा श्रद्धेय लामा ड्रुब्ला गुरुज्यूले यस वर्षको नयाँ ल्हो त ल्हो (घोडा वर्ग) सम्बन्धी विशेष जानकारी दिँदै घोडा वर्गमा जन्मिएका व्यक्तिहरूले यस वर्ष अपनाउनुपर्ने सकारात्मक तथा सावधानी अपनाउनुपर्ने पक्षहरूबारे मार्गदर्शन गर्नुभयो। साथै उहाँले ग्रह शान्ति तथा शुद्धीकरण पूजाको महत्वबारे उपस्थित सबैले सहज रूपमा बुझ्ने गरी सारगर्भित प्रवचन दिनुभएको थियो।

निर्धारित समय अनुसार सम्पन्न पूजा कार्यक्रम दिउँसो करिब ४ बजे धर्मगुरुहरूद्वारा समापन गरिएको थियो। त्यसपछि समाजकी अध्यक्ष तथा कार्यसमितिका पदाधिकारीज्यूहरूबाट धर्मगुरुहरूलाई विधिपूर्वक गुरुदक्षिणा प्रदान गरिँदै कार्यक्रम औपचारिक रूपमा समापन गरिएको थियो।

समापन समारोहमा संस्थाका कोषाध्यक्ष चन्द्रकान्त गुरुङले पूजा कार्यक्रममा स्वतःस्फूर्त रूपमा द्रव्यदान गर्नुहुने दानवीर महानुभावहरूलाई धन्यवाद व्यक्त गर्दै नामावली वाचन गर्नुभएको थियो। यसैगरी आमा समूहकी अध्यक्ष श्रीमती बिमला गुरुङले भोजन तथा पेय पदार्थ प्रायोजन गर्नुहुने आमा दिदीबहिनीहरूको नामावली वाचन गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो।

अन्त्यमा तमु समाज युकेकी अध्यक्ष श्रीमती बिन्दु घलेले पूजा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिदिनुहुने श्रद्धेय धर्मगुरुहरू, संयोजक उपाध्यक्ष केदार बहादुर गुरुङ, द्रव्यदान, भोजन तथा पेय पदार्थ प्रायोजन गर्ने सहयोगी हातहरू, व्यवस्थापनमा खटिनुहुने आमा दिदीबहिनीहरू तथा कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावहरूप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गर्नुभयो।

सोही क्रममा अध्यक्ष घलेले तमु समाज युकेले आगामी ३ जनवरी २०२६, शनिबार ह्यारो लेजर सेन्टरमा हर्षोल्लासका साथ तमु ल्होछार/ल्होसार उत्सव आयोजना गर्न लागेको जानकारी गराउँदै नेपालबाट आमन्त्रित चर्चित लोकदोहोरी कलाकारद्वय चिज गुरुङ र निर्जला गुरुङको विशेष प्रस्तुति रहने, साथै आकर्षक राफल ड्र पुरस्कारहरू समेत समावेश हुने जानकारी दिँदै सबैलाई कार्यक्रममा उपस्थित भइदिन हार्दिक अनुरोध गर्नुभयो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!