लन्डन । सोंपाल समाज यूकेको समर भेटघाट तथा बीबीक्यू कार्यक्रममा सहभागी हुन नेपालबाट नायक तथा गायक धर्मराज (राजु) गुरुङ शनिबार प्रस्थान गरेका छन् ।
यही ११ जुलाईमा वेम्बली ह्यारोमा दिउँसो १२ देखि राति ८ बजेसम्म हुने कार्यक्रमका लागि शनिबार ४ जुलाई २०२६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गायक राजु बेलायतका लागि उडेका हुन् । ‘सोंपाल समाज यूकेको निमन्त्रणामा आज मेरो पूज्यनीय दिदीको आशीर्बाद लिँदै यूके जाँदै छु । यो अवसर प्रदान गर्नुहुने सोंपाल समाज यूकेका अध्यक्ष, सल्लाहकारज्यूहरुलगायत सम्पूर्ण कार्य समितिप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु,’ गायक गुरुङले फेसबुकमा लेखेका छन् ।
कार्यक्रममा तमु ह्युल छोंज धिं उपत्यका प्रमुख, नायक, गायक र समाजसेवी धर्मराज (राजु) गुरुङको विशेष आतिथ्य र साथमा सोंपाल समाज यूकेका युवाहरुद्वारा सांस्कृतिक प्रस्तुति डीजे संगीत, बच्चाहरुको लागि वाउन्सी क्यास्टल, युवाहरुको लागि फुटबल, महिला तथा पुरुषहरुका लागि मनोरञ्जनात्मक खेलहरु र राफल पाइजहरु हुने कार्यक्रम संयोजक दीपा गुरुङले जानकारी दिएकी छन् ।
चेलीबेटी, ज्वाइँ, भान्जाभान्जीहरु र सबै सदस्य तथा इस्टमित्रहरु, मान्यजनहरु र युवाहरुसहित बेलायतवासी नेपाली समुदायलाई कार्यक्रम सहभागी हुन कार्यक्रम संयोजक दिपा गुरुङले आग्रह गरेकी छन् । खेलकुद संयोजकमा भने भीमबहादुर गुरुङ रहेका छन् ।






