काउन्सिलर पदकी उम्मेदवार लीला भन्छिन्, ‘हौसला दिनुहोस्’

SHARE:

पछिल्लो समय बेलायती राजनीतिमा पनि नेपालीहरुको उपस्थिति बक्लिदै छ । स्थानीय काउन्सिलरदेखि एमपीसम्म उम्मेदवार बन्नेक्रम बढ्दो छ । कतिपय नेपाली काउन्सिलर मेयरसम्मको पदमा समेत पुगिसकेका छन् भने सांसदमा भने अझै चुनाव जित्न सकेका छैनन् । अहिले बेलायतको स्थानीय निकायमा चुनावको रौनक थपिएको छ र कतिपय सहरमा नेपालीहरु पनि चुनावी मैदानमा उत्रेका छन् । तीमध्ये एक हुन्, लीला सेलिङ माबो । युनिभर्सिटी अफ सरीबाट बिएस्सी अनर्ससमेत गरेकी उनी हार्ट डिस्ट्रीज काउन्सिलअन्र्तगत फ्लीट सहरमा श्रीमान्‌सहित ३ जना सन्तानसँग बस्छिन् । पाँचथर जिल्लाको ओयाम–६ (हाल याङ्गवरक–३) मा जन्मिएकी माबो नेपालमा शिक्षण पेसामा आवद्ध थिइन् भने अहिले दन्त नर्सको रुपमा कार्यरत छिन् । उनी विगत २० वर्षदेखि बेलायत बस्दै आएकी छन् ।

किरात याक्थुङ चुम्लुङ (कियाचु) युकेको साहित्य, सांस्कृतिकदेखि उपाध्यक्ष, कियाचु महिला समितिको संस्थापक अध्यक्ष, कियाचु रसमोर शाखाको संस्थापक अध्यक्ष, पाँचथर समाज सेवा युकेको उपाध्यक्षको भूमिकामा रहेर नेपाली समुदाय बेलायतमा काम गरिसकेकी छन् । त्यस्तै, अहिले उनी नेपाल आदिवासी जनजाति महासंघ युकेको उपाध्यक्ष, एनआरएनए युकेको महिला फोरमको उपसंयोजक र ग्रेटर रसमुर नेपाली कम्युनिटी युके महिला फोरमको संयोजकको भूमिकामा छिन् । अत्यन्त सरल स्वभावकी लीलासँग उनको उम्मेवारीबारे एभरेष्ट टाइम्सका लागि ‘घान्द्रुके कान्छा’ ले गरेको छोटो कुराकानी ।

कुन दल र कुन काउन्सिलबाट उम्मेदवारी दिँदै हुनुहुन्छ ?
Hart District Council को Blackwater and Hawley ward बाट लेबर पार्टीको प्रतिनिधित्व गर्दै काउन्सिलर पदमा उम्मेदवारी दिँदैछु ।

किन उम्मेदवारी दिन मन लाग्यो ?
मानिसभित्र हुनुपर्ने चेतनाहरुमध्ये राजनीतिक चेतना पनि एक हो । मैले पार्टी सदस्य भएर काम गरेको पनि धेरै वर्ष भइसकेको र मलाई युकेको राजनीतिबारे सिक्न पनि मन लागेकोले पनि मैले उम्मेदवारी दिन लागेकी हुँ ।
काउन्सिलर भएपछि नेपाली समुदायलाई के फाईदा पुग्छ ?
“For the many not the few, a better, fairer Britain and equality” ग्रुपलाई धेरै मौकाहरु दिन्छ । जसले विदेशी मूलका वा हामी नेपालीलाई राम्रो हुन्छ ।

पछिल्लो समय बेलायतका राजनीतिक दलहरुले नेपालीहरुलाई राजनीतिमा प्रवेश गराइरहेको छ, किन नेपालीहरुलाई राजनीतिमा समावेश गराउन खोजिएको हो ?

बेलायतमा बाहिरका मान्छे धेरै आउने र उनीहरुलाई समान व्यवहार गर्न र हामी गोर्खाहरुको राम्रो इमेजले गर्दा समावेशीको नारा भएका राजनैतिक पार्टीले यो अवसर दिएको हो जस्तो लाग्छ ।

धेरैजसो नेपालीहरु किन लेबरमा नै प्रवेश गरिरहेका छन् ?
मेरो बुझाईमा Tony Blair प्रधानमन्त्री हुँदा उहाँ र उहाँकी श्रीमती Cherry Blair ले हामी गोर्खालाई युकेमा बस्ने अधिकार दिइएको भन्ने सन्देशले धेरैजसो नेपालीहरु यो पार्टीमा गएको जस्तो लाग्छ । तर, आ–आफ्नो विचार ठाउँ अनुसार अरु पार्टीमा पनि नेपालीहरु छन् ।

तपाई नेपालको कुनै दलसँग पनि सम्बन्धित हुनुहुन्छ ?
म अहिले संघीय समाजवादी फोरम नेपालसँग आबद्ध छु ।

बेलायत र नेपालको राजनीतिक संस्कारबीच कस्तो भिन्नता पाउनुभयो ?

भिन्नता त धेरै छ । चुनावको कुरा गर्दा यहाँ शान्तसाथ पर्चा ढोकाढोका झार्ने, उम्मेदवारको Personal Statement अनि पार्टीको अवधारणा हेरी मत दिने गर्दछ । नेपालमा भने अझै पनि सडकमा झन्डा बोकेर हल्लाह गरी प्रचार प्रसार गर्नुपर्ने अवस्था छ । नेता र सिद्धान्त नबुझीकन कतिपय जनता हल्लाको भरमा मत दिने चलन पनि छ ।

तपाईको क्षेत्रमा कतिजना नेपालीहरु मतदाता छन् ?

पहिला ७ घरमात्र थिए । तर अहिले सो क्षेत्रमा करिब २५ घरभन्दा बढी नेपालीको बसोबास रहेको छ ।

अन्त्यमा बेलायतवासी नेपालीहरु केही भन्न चाहनुहुन्छ कि ?

अहिलेको मेरो अनुभवमा जुनसुकै पार्टीमा पनि आस्था राख्ने अधिकार सबैलाई छ । छानेर सहकार्य गर्नुहोस् । किन कि देशको मेरुदण्ड वा विकास नै राजनीति निकासबाट हुने हो । अन्तमा Blackwater and Hawley बाट लेबर पार्टीबाट म सिङ्गो नेपालीको प्रतिनिधित्व गर्दैछु । मत त आफ्नै Ward ले मात्र दिनु पाउछ । तर, म एक्लो नेपाली उम्मेदवार भएकोले एक्लो महसुस हुन्छ । Meeting मा कोही नेपाली हुन्न । अनि केही समयपछि मात्र Councillor उम्मेदवार दिनु पर्ने थियो कि जस्तो पनि महसुस भइरहेको छ । त्यसैले यो मेरो प्रथम प्रयासमा सामाजिक र नैतिक थप हौसला दिनु हुन अनुरोध गर्दछु । साथै, Blackwater and Hawley मा बस्नु हुने नेपाली महानुभावहरुले तपाईहरुको अमूल्य मत तपाईहरुकै एक नेपाली चेली उम्मेदवारलाई दिनु होस् अनि तपाईहरुको चिनजान आफन्त साथीहरुले पनि Blackwater वासी नेपालीहरुलाई भनी दिनुहोस् भन्न चाहन्छु ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!