‘भवन खरिद गर्न सफल भएका छौं, सम्पूर्ण चन्दादाताप्रति नमन’
रोहित गुरुङ
अध्यक्ष, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर यूके

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर यूकेले अल्डरसट, क्वीन्स रोडमा एक भवन किनेको छ । कम्युनिटी सेन्टरको स्थापनाकालदेखि नै आफ्नै भवन खरिद गरी त्यसमा शिवमूर्तिसहित शिव मन्दिर बनाउने सपना अहिले पूरा भएको छ । नेपालीहरुको बाक्लो बसोबास रहेको अल्डरसटमा खरिद गरिएको सो भवनले सनातन धर्ममा आस्था राख्ने भक्तजनहरुलाई ठूलो टेवा पुग्ने धेरैको विश्वास छ । विदेशी भूमिमा आफ्नो संस्कार र सस्कृति संरक्षण तथा संवर्द्धन गर्नका लागि ३ लाख पाउन्डमा खरिद गरिएको भवनको सञ्चालन र शिव मन्दिर स्थापना बारेमा शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर यूकेका अध्यक्ष रोहित गुरुङसँग एभरेस्ट टाइम्सका लागि पूर्ण गुरुङले गरेको कुराकानी ।
कसरी जुटाउनु भयो यतिधेरै रकम ?
शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको विधिवत् दर्ता २००९ मा भएपछि भीम बनियाँको नेतृत्वमा बसेको बैठकमा स्थानीय समाजसेवी, व्यापारीवर्ग, भारतीय समुदाय तथा ईच्छुक व्यक्तिहरु मिलेर ३ वर्षको प्रतिबद्धता गर्दै मन्दिर भवन खरिद गर्न सकिन्छ भनेर करिब २० जनाले इन्स्टलमेन्टमा सेन्टरको खातामा पैसा जम्मा गर्ने निर्णय गरी विभिन्न कार्यक्रम गर्ने निधो गरेको थियो । करिब १ लाख पाउन्डको प्रतिबद्धता मात्र थियो । जसले कबुल गरेका थिए, उनीहरु मन्दिरको स्थापनामा तल्लिन थिए । धेरै भवनहरु हेर्ने काम पनि भयो, प्रतिबद्धता भने केही सेलाएर गएको अवस्था थियो ।
सन् २०१६ मा भाडामा मन्दिर लिइयो र निरन्तरता दिइने अवस्थामा एक च्यारिटी प्रोगाम राखियो, जसमा अलि फराकिलो दायरामा गन्यमान्य व्यक्तिहरु एवं संघसस्थाले ज्यादै अभिरुचि दिएर करिब ५३ हजार पाउन्ड सहयोग गर्ने प्रतिबद्धता लिइयो । यसरी रकम संकलन गर्ने प्रतिबद्धता भएको तर रकम उठाउन भने खासगरी भवनकै आवश्यकता भएको महसुस विभिन्न व्यापारीवर्ग, सामाजिक अभियन्ता र कार्यकारी सदस्यहरुले महसुस गरे । भवन खोज्नेक्रममा हर्कबहादुर गुरुङ (उपाध्यक्ष, बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी), अध्यक्ष, गोर्खा नेपाल टेनिस संघ पाएपछि यसमा ठूलो अभियान चलाउन सफल भइयो र रकम जम्मा हुन थाल्यो ।
यो अभियान त विगत १० वर्षदेखिको होइन र, कसरी सफल बनाउनुभयो ?
विगत दस वर्षमा दसैं, होली, माता की चौकी, सरस्वती पूजा, जनै पूर्णिमाजस्ता कार्य गर्दै भक्तजनहरुले केही रकम जम्मा गर्न सफल भए पनि साविककै खर्च हुने गर्दथ्यो । त्यस बीचमा जुबली हललाई मन्दिरमा परिणत गर्ने ठूलो श्रम खासै सफल हुन सकेन ।
शिव कल्चरल कम्यूनिटीका पदाधिकारीहरु पनि केही सुस्ताएर गएको अवस्थाको अनुभव गरिएको थियो । तर, दसैं, तिहारको कार्यक्रम र साई भजन, जप, हिन्दू दर्शन, रुद्रम, आदि कार्यहरु गरिएकोले चरणबद्ध रुपमा मन्दिर बनाइनु पर्छ भन्ने सबैले सोचेका थिए र सहयोग गर्नुपर्छ भनेर एकदमै तल्लिन थिए । यसै क्रममा पण्डित दिनबन्धु पोखरेलको भागवत् महापुराण गरी केही रकम संकलन गर्ने योजना मेरो अध्यक्षतामा अघि बढाइयो । यस कार्यमा हाम्रा पथप्रदर्शक मेजर सूर्य उपाध्यायका साथै सबैभन्दा बढी चन्दा दिने रवि लामिछाने, प्याट्रन डाक्टर कुमार, सुनित जैन हुनुहुन्छ । त्यस्तै अन्य चन्दादाताहरु पुरन गिरी, वाचस्पति रेग्मी, हरि भट्टराई, भीम बानियाँ, हर्क गुरुङ, सुशीला पौडेल र विक्रम भट्टराई हुनुहुन्छ । साई भक्तजन समूहले ५० हजार पाउन्ड दिने प्रतिबद्धतापछि मन्दिर खरिदका लागि निर्णय गरिएको थियो ।
भवनमा शिव मन्दिरबाहेक अरु कुन कुन भगवानको मूर्ति राख्नुहुन्छ ?
शिव मन्दिरको अवधारणा शिवको महिमा चतुर्मुखी पशुपति, शिवलिंग, पांचायन, घण्टा नन्दीलगायत स्थापना गरी प्राण प्रतिस्थापन गरिने छ । बुद्ध दर्शनको अवधारणा, ओशो दर्शन, कृष्ण प्रणामी, साई दर्शनजस्ता केही मानवजन्य उदाहरणीय वेदमा आधारित धर्महरुको र सामुदायिक रुचीमा कल्चरल सेन्टरको अवधारणामा सबै अभ्यास गरिने सोच राखेका छौं । त्यस्तैः सामाजिक कार्यहरु इभेन्ट हलको रुपमा, मिटिङहरु, विवाह कार्य, योगा, मेडिटेसन (ध्यान कार्यक्रम) अध्यात्मिक प्रवचनहरु निर्वाधरुपमा गर्दै नारायण सेवा, निःशुल्क भोजनदान गर्नेजस्ता महापुण्य कामहरु पनि हुनेछन् ।
कहिलेबाट प्रयोजनमा आउँछ भवन ?
कम्युनिटी सेन्टरलाई सूचारुरुपमा प्रयोजनमा ल्याउन काउन्सिलसम्बन्धी कार्यहरु र मूर्तिहरु नेपालबाट चन्दादाता रविजंग लामिछानेले गरिदिनु हुने भएकोले ४–६ महिनाबाट सञ्चालन हुनेछ । साथै, योजनाका लागि केही प्रशासनिक काम गर्न बाँकी छ ।
कम्युनिटी सेन्टरको बारेमा छोटो जानकारी गराइदिनुहोस् न ?
कम्युनिटी सेन्टर सन् २००९ मा दर्ता भएको संस्था हो । सनातन धर्ममा आस्था राख्नेलाई बनाइएको कम्यूनिटी हल र शिव मन्दिरको अवधारणामा बनाइएको मन्दिर हो ।
खरिद ठूलो कुरो होइन, व्यवस्थापन महत्वपूर्ण हुन्छ भन्छन् नि ? कसरी व्यवस्थापन गर्ने योजना बुन्नु भएको छ ?
कम्यूनिटी सेन्टरको अवधारणामा हामीलाई संस्थागत रुपमा ७० हजार पाउन्ड दिने फार्नबोरो साई सेन्टरलाई हलसम्बन्धी र अन्य नियमका जिम्मेवारी र सृजनशील नेपाली समाज यूके जसले १० हजार पाउन्ड चन्दा सहयोग गरेको हुँदा उहाँहरुलाई अफिस ठेगाना पत्राचारको निमित्त दिइने निर्णय भइसकेको छ । हाम्रो वार्षिक क्यालेण्डर तय भइसकेकोले अन्य खाली भएको समयमा खर्चको व्यवस्था गरी सामाजिक प्रयोजनलाई भवन प्रयोग गर्न सकिन्छ ।

यसलाई मन्दिरको रुपमा स्थापना गर्न पनि खर्च लाग्ने होला ? लगभग कति खर्च गर्ने र खर्च कसरी जुटाउने योजना बनाउनु भएको छ ?
नित्य पूजाआजा अहिले केयर टेकर र सामान्य पूजा स्थानीय वयोवृद्ध सत्संगबाट प्रतिनिधि छानिनेछ । पूरोहित, पण्डितहरु विशेष पर्वमा निम्ता दिई पूण्यकार्यमा बोलाइने र साधारण पूजा, आरती भजनकीर्तन स्थानीयरुपमा चाडपर्व मनाइने गरिने छ । शिव मन्दिर (एससीसीसी) नितान्त सामाजिक एवं धार्मिक संगठनको धारणाले हामीले स्वयंसेवा, चन्दा संकलन, दान, च्यारिटी फन्ड आदिबाट गरिने छ । अन्य खास आम्दानी हुने छैन ।
इन्डियन कम्युनिटीको समेत संलग्नता देखियो त ? उनीहरु कसरी आए ?
शिव कल्चरल एण्ड कम्यूनिटी सेन्टरमा मन्दिर बनाउने अवधारणा लिएर इन्डियन कम्यूनिटी र नेपाली कम्यूनिटीद्वारा हिन्दु पर्व एवं सनातन धर्मका कार्यक्रम लिई साथ हुँदै २००९ सालदेखि काम गर्दै आएको थियो । दसैं, तिहार, होली, माता की चौकी, अध्यात्मवादका कार्यक्रम एवं फन्डरेज कार्यक्रममा सधैं साथ थियौं र भयौं । सुनित जैनले पनि दसैंको कार्यक्रमहरुमा भवन उपलब्ध गराउनुहुन्थ्यो, उहाँ चीरपरिचित व्यापारी हुनुहुन्छ । धेरै पेसेवार इन्डियन परिवारजस्तै, अनुप बर्मा, डा. कुमार अग्रवाल (संरक्षक एससीसीसी) डा. गौर, क्रिस कक्कड, डा. रेजी, अरविन्द सहानी आदि हुनुहुन्छ । साई भक्तजनहरु पनि धेरैजना हुनुहुन्छ । उहाँहरुले प्लेज रकम थप गर्दै मन्दिरलाई सहयोग गर्नु भएको छ । उहाँहरु संस्थामा ट्रष्टी पनि हुनुहुन्छ ।
विशेषगरी हल केका लागि बढी प्रयोजन हुन्छ अर्थात् केलाई प्राथमिकता दिनुहुन्छ ?
यस भवनमा शिव मन्दिर र कार्यक्रम (सांस्कृतिक एवं चाडपर्व) का निम्ति दुई भाग हुनेछन् । शिव मन्दिरमा चुतुर्मुखी, शिवलिङ्ग, पांचायन, घण्टा, नन्दीलगायत स्थापना गर्ने, बुद्ध प्रतिमा, सत्य साई बाबा र अन्य अध्यात्मवादका सन्देशहरुलाई आवद्ध हुनेगरी रुद्रम, बाल विकास, संस्कृति, धार्मिक एवं सामाजिक क्रियाकलापमा २०० जना अटाउने पूजाआजा गर्ने, शिवरात्री, तिहार, माताकी चौकी, विश्वकर्मा पूजा, विवाह, व्रतबन्ध, योगा मेडिटेसन र आध्यात्मिक प्रवचन गुरुहरुबाट गर्न सकिन्छ । साथै अल्डरसटमा योगा, मेडिटेसन, नारायण सेवाजस्ता कार्यक्रमहरु पनि गरिने छ ।
कुनै पनि सफलताको पछाडि कसैको हात हुन्छ भन्छन्, यो सफलताको पछाडि कस्को हात बढी छ ?
सुरुदेखि मन्दिरको सपना बोकेर आउनुभएका कार्यकारी समिति, भलो चाहने व्यापारी वर्ग, मन्दिर सञ्चालन गर्न स्थान दिनुहुने, भक्तजनहरु, संघसंघका सदस्यहरु नै मुख्यतयाः सफल गराउनु हुनेहरुको हात छ ।
स्थानीय काउन्सिलको कस्तो सहयोग पाउनुभयो ?
स्थानीय काउन्सिलले लाइसेन्सिङ्ग, इत्यादिमा सहयोग गरेको छ ।
अन्त्यमा केही भन्न चाहनु हुन्छ कि ?
खासगरी म यहाँ सम्पूर्ण चन्दादाताहरुलाई नमन गर्न चाहन्छु । जसले मन्दिर स्थापनालाई टेवा पुर्याउनु भई यस मेघा प्रोजेक्टमा हामीलाई विश्वास गरेर संस्थागत रुपमा १० देखि ७० हजार पाउन्डसम्म र व्यक्तिरुपमा १० देखि १५ हजार पाउडसम्म दिनु भई आउने दिनहरुमा सेवा, नगद र समावेशीता चाहनु हुने ४२ वटा संस्थाहरु समेतलाई मेरो अध्यक्षतामा बसेको ट्रष्टी कार्यकारी समितिबाट आभार प्रकट गर्दछु । ॐ नमः शिवायः








