काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को औपचारिक तयारी खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको भनाइमा सोमबारदेखि सुरु भएको छ ।
साग खेलकुद तयारी तथा व्यवस्थापन समितिका संयोजक समेत रहेका मन्त्री विश्वकर्माले सोमबार प्रतियोगिताको लोगो तथा मस्कट सार्वजनिक गरेका छन् र ६ महिनापछि काठमाडौँ र पोखरामा हुने प्रतियोगिताका लागि तयारीको तीव्रता सुरु भएको घोषणा गरेका छन् ।
‘साग तयारी आरभ्मको सु:खुद सुरुआत गरेका छौँ,’ मन्त्री विश्वकर्माले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने,’पूर्वाधारहरू बनिरहेका छन्, प्रतियोगितामा सहभागी नेपाली टिमको तयारी छिट्टै सुरु हुनेछ र कार्यविधि निर्माण, बजेट विजियमेजन लगायतका काम पनि तीव्रताका साथ अघि बढिरहेको छ ।’
गत फागुन १७ र १८ गते थाइल्याण्डमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले तेस्रोपल्ट नेपालमा आयोजना हुन लागेको साग खेलकुदको मिति घोषणा गरेको थियो ।
१३ औँ साग खेलकुद मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ र पोखरामा आयोजना हुनेछ ।
वैशाख २६ गते काठमाडौँमा बसेको साग तयारी तथा व्यवस्थापन समितिको पहिलो पूर्ण बैठकले लोगो, मस्कटदेखि तयारी सम्बन्धमा केही महत्त्वपूर्ण निर्णय गरेको थियो । सोमबार त्यही निर्णय सार्वजनिक गरिएको हो । सागका लागि आवश्यक पर्ने बजेटको खाका कोर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष पीताम्बर तिम्सिनाको संयोजकत्वमा समिति बनेको छ भने राखेप सदस्य गंगाबहादुर थापाको संयोजकत्वमा ४ सदस्यीय प्राविधिक समिति बनेको छ ।
बैठकले प्रतियोगिताका लागि नेपाली खेलाडी छनोट र तयारीको जिम्मेवारी राखेपलाई दिएको छ ।






