यस्तो छ मुखियाबाको चाहना

SHARE:

बिक्रम भट्टराई
छेउघर मुखियाबा आज निकै मुस्किलले चारखुट्टा टेकेर चौतारीमा पुग्दै थिए । अचानक उनका पावरफुल चस्माको पनि बिचको गोलो भागबाट एउटा अनुहार घुर्मैलो–घुर्मैलो गरेर देख्छन् र उही मुख्र्याैली पारामा चर्को चर्को गरेर सोध्छन्, ‘हैन यो आलेबारी डुँडेको बाउ हैन ? ।’

हो, यी आलेबारी डुँडेका बाउ जसको तीनबटा छोरा र दुईटी छोरी जन्मिएपछि जन्मिएको काइँलो छोरोले परिचय नै फेरेर डुँडेको बाउ बनाइदिएको थियो । सात सन्तानका धनी डुँडेका बाउले गाउँमा आफ्नै पाखुराका भरमा इज्जतका साथ दु:खजिलो गरेर सातै सन्तानलाई हुर्काउने काम गरे । गाउँको जीवन, ‘जसका भैंसी उसको वन जसका छोरा उसको धन’ भनेर गर्व गर्ने त्यो बेलामा पनि डुँडेका बाउको अन्तर्मनमा एउटा कालो बादलले भने कहिल्यै छोड्ने थिएन त्यो के भने उनका अरु छ वटा सन्तान शारीरिक हिसाबले पूर्ण सबल थिए भने डुँडे जसको नाम न्वारन गर्ने बेलामा बाजेले पनि नन्दलाललाई हेपेर ‘नन्दे’ भने हुन्छ भनेका थिए तर आजका दिनसम्म पनि त्यो गाउँमा कोही कसैले नन्दलाललाई नन्देसमेत भनेर बोलाएनन् किनकि उ जन्मने बेलैमा एउटा खुट्टा छोटो लिएर जन्मेको थियो जसका कारण सबैले उसलाई डुँडे भनेर बोलाउन थाले ।

विधिको विधान सबैले स्वीकार गर्नै पर्छ , डुँडेका बाउका डुँडेबाहेक सबै छोराहरु देशैभरी भूसको आगो जस्तै सल्केको विदेश जाने लहरबाट कहाँ अछुतो रहन सक्थे र, जवान हुँदै जान्थे विभिन्न बाहना बनाएर या कुनै न कुनै जुक्ति निकालेर बिदेसिन थाले । फेरि उता गाउँमा हरेक घरबाट लाहुरे नहुने या विदेश नगइकन कोही नेपालमै या घरमा नै बसेको छ भने एक किसिमको श्राप नै परेको संज्ञा दिने समाजमा बसेर आफ्ना शारीरिक हिसाबले सबल सन्तानहरुलाई विदेश नजाउ भन्ने आँट पनि त थिएन डुँडेको बाउ र आमालाई । हेर्दाहेर्दै कुनै बेला खाने बेलामा सिल्पटका थालहरु पनि नपुगेर एउटै थालमा दुई जनाले मिलेर भात खाने डुँडेको बाउको घर खाली हुँदै गयो । दुई छोरीहरु पनि योवनले भरिएपछि आफ्नै खÞुसीले विवाह गरेर चार पाँच डाँडापारिका गाउँहरुमा आफ्नै तूनेलो गर्न थालीसकेका थिए ।

नन्दे जसको जन्मँदै एउटा खु्ट्टा छोटो थियो र पनि ईश्वरले उसलाई सामान्य हिँड्डुल र उठबस गर्न तथा घरको प्राय: गोठालो खेतालो काम गर्न पूर्ण सक्षम बनाएर पठाएका थिए । नन्दलाल गाउँका हरेक घरको एउटा सदस्यजस्तै थियो किनकि त्यो गाउँमा उ जती सजिलो र कुनै पनि घरायसी कामको लागी हलुका अरु कोही पनि थिएनन् । भलै उसको नाम नन्दलाल नभने पनि डुँडे सबैका मुखमा झुन्डिएको नाम थियो । वरपरका गाउँहरुमा समाचार पुर्‍याउनदेखि कोही कसैका घरमा एक/दुई रात सुतेर घर कुर्दिनेजस्ता निकै जिम्मेवारीका काम पनि अरु भन्दा डुँडेलाई नै सुम्पन पाए आनन्द मान्थे छरछिमेकीहरु । साहेद गाउँका कसैको पनि न मलामी छुटाएको छ डुँडेले न त कसैको जन्तीमा भारी नै बोक्न इन्कार गरेको छ । उ सबैको प्रिय छ र पनि कोही कसैले उसको खास नाम के हो भनेर सोध्न नै आवश्यक ठानेनन् ।

डुँडेका बाउआमा पनि अनौठा थिए मीठो चोखोको हकÞदारीको लिस्टमा कहिल्यै पनि राखेनन् डुँडेलाई, गोठको कामकाजको ठेक्काजस्तै पाएको डुँडेलाई आमाले कहिल्यै यसलाई पनि मीठो चोखो खान मन लाग्छ होला भन्ने सोचिनन् बरु उल्टै तँ लाहुरे साहुरे नहुने घरकुरुवालाई किन बलियो हुन पर्‍यो भनेर रुखों सुखोंमै थन्काउने गर्थिन् । डुँडेका बाउले त झन् गाउँमा नागरिकता टोली नागरिकता वितरण गर्न आएकै दिनमा पनि डुँडेलाई किन नागरिकता सागरिकता चाहियो र न कतै भर्ती हुन्छ न कतै विदेश जान्छ भनेर छेउघरे मुखियाबाका भंैसीलाई समेत घाँस पुर्‍याउने जिम्मा दिएका थिए । बिचरा नन्दलाल जसको नाम न्वारनका दिनमा पण्डित बाजेले बाहेक कहींकतै लिइएन, लेखिएन । डुँडेको शारीरिक अवस्थालाई नै देखेर होला सिम्लेका लाहुरे काकाले आफ्नी जन्मजात मुख नबोल्ने लाटी सालीलाई श्रीमतीका रुपमा जिम्मा लगाएका । तर काकाले जे सोचेका भए पनि ईश्वरले चन्द्रावतीलाई मुख बोल्न नसक्ने बनाएको बद्लामा सामान्य नारीमा हुन पर्ने बाँकी सबै गुण दिएका थिए । डुँडेकी श्रीमतीको नाम चन्द्रावती भनेर गाउँमा कोही कसैले नबोलाएर लाटी भनेर हेपेर बोलाए पनि डुँडेको घरजम सम्हाल्न कुनै क्षेत्रमा पछाडि परेकी छैनन् चन्द्रावती । यसरी नै यो जोडी सबै गाउँलेको नजरमा जति कठैवराको पात्रहरु थिए तर उनीहरु आफंैमा भने निकै सुखी हुँदै जीवनका चार दशक धकेलीसकेका थिए ।

एक पटक गाउँमा विदेशको लागि भर्ती लिन गÞल्ला आउँदा छेउघरे मुखियाबाले गल्लाले लिने भर्ती हुन आएका युवाहरुको उचाई नाप्ने निगालो जो यो गाउँबाट कहिल्यै भर्ती हुन सक्दैन त्यसले मात्रै लिन पाउने र गल्लाको पछाडि पनि त्यही हिँड्ने भन्नेर डुँडेको नाम लिँदा साहेद जीवनमा त्यहाँ भन्दा अमिलो कहिल्यै महसुस नभएको कुरा आज पनि नन्देले हाँसी हाँसी सुनाउँछ ।

हिजोआज गाउँका प्राय: घरहरु या त खाली छन् या केवल बूढाबूढीहरु मात्र पुराना जीर्ण घरहरु कुरेर बसेका छन् । स्याहारसुसार जति ती पुराना घरहरुलाई आवश्यक छ त्यो भन्दा कयौं गुणा धेरै ती वृद्धवृद्धाका निम्ती खाँचो भएको कुरा ती बूढ़ा बुढीहरुका निराश अनुहारबाट स्पष्ट बुझ्न सकिन्छ । लगभग सबैका घरका सन्तानहरु घरमा छैनन्, कसैका छोरा अरबका मरुभूमिमा छन् भने तिनका श्रीमतीहरु छोराछोरी पढाउने कारणसहित सदरमुकामतिर झरेका छन् । कसैका छोरा युरोपमा परिवार नै लिएर स्थायी बसोबास गरेका छन् भने कोही अमेरिका या अस्ट्रेलियामा पढ्न भनेर गएका र कसरी त्यतै स्थायी गुँड बनाउने हो भन्दै कम्मर कसेका छन् । कसैका छोराछोरी जनयुद्धका लडाकुबाट नेपाली सैनिकमा जागीरे छन् भने कतै केही गर्न नसक्ने पनि कुनै न कुनै राजनैतिक पार्टीको झोला बोकेर सरकार मेरै काँधमा छ जस्तै गरेर गाउँ आउन र वृद्ध बाआमालाई भेट्न दसंै नै कुर्ने गरेका छन् । घरगाउँ सुनसान छ र जो छन् सबै चुपचाप जस्तै छन् ।

यता डुँडेका बाउका घरमा भने अरुका घरमा जस्तो अवस्था छैन । डुँडे र लाटीले घरका सबै काम त गर्छन् नै त्यो भन्दा धेरै बाआमालाई सेवा सुसार गर्छन् । डुँडे बिहानै उठेर बाआमालाई तातो पानीदेखि खानापिनाको चाँजो पाँजोमात्रै मिलाउँदैन उसले त गाउँका अन्य बूढाबूढीहरुलाई पनि के कस्तो अवस्थामा छन्, के खाए बिहान उठे कि उठेनन् भनेर बुझ्न सक्दो सबैको ढोकामा पुग्ने गर्छ । उसले र लाटीले हिजोआज प्रौढ़शिक्षा पढेर अक्षर चिन्ने भएका छन् । डुँडे आजकल गाउँका सन्तान घर नभएका बूढाबूढीहरुका औषधि किनेर ल्याइदिने, औषधि खाने समय तालिका हेरीदिने, उनीहरुले बोल्न चाहने आफन्तहरुलाई मेबाइलमा फÞोन लगाइदिने भएको छ । कुनै बेला भर्ती हुन नसक्ने भनेर गÞल्लाको निगालो बोलाउने छेउघरे मुखियालाई हिजोआज चाहिने बलियो निगालाको लौरो काटी दिने भएको छ डुँडे । पहिले डुँडे कतै काम नलाग्ने भनी हेपेर जस्तो पनि काम लगाउने गाउँलेहरु अहिले संसारमा डुँडेभन्दा काम लाग्ने र सक्षम कोही नभएको कुरा डुँडे जब डुँडेलाई अशक्त भत्ताका निम्ति नागरिकता बनाउने भनेर दुई दिन सदरमुकाम गएको थियो त्यतिबेला सबैका अनुहारमा घाम नलागेरै प्रमाणित गरिसकेको थियो । आजकल डुँडेका घरमा सागपातदेखि भैंसी, बाख्रा, कुखुरा परेवाजस्ता घर पालुवा वस्तुभाउको चहलपहलले जोकोहीको पनि मनै फुरुङ्गै बनाउँछ ।

हिजोआज गाउँमा छेउघरे मुखियबाले कसैले पनि नन्दलाललाई डुँडे भनेर बोलाएको मन पराउँदैनन् । उनका आफ्ना पाँचभाइ छोरा र एउटी छोरीले कुनै समय ढकमक्क भएको फूलबारी आज यसरी शून्य र नीरस होला भन्ने कहिल्यै सोचेका थिएनन् । पाँचै छोरालाई लाहुरे बनाउन उनले गाउँमा आउने गल्लाहरुलाई कुन तहसम्म झरेर सेवा सत्कार गरे भन्ने कुरा बूढा आफंैलाई सम्झन मन लाग्दैन रे । मुखियाबा आफ्नी एउटी छोरी भएर होला औधी माया गर्थे रे । डुँडेको र मुखियाबाकी छोरी गंगा उमेरले दौंतरी भएकाले एकआपसमा निकै घनिष्ट थिए तर यो कुरा मुखियाबालाई पटक्कै मन परेको थिएन रे, त्यही भएर गंगा १४ वर्षबाट माथि लागेपसछ उसलाई डुँडेसँग भेटघाट गर्न पनि बन्देज लगाएका थिए रे । यस्तै कारण या छोरीको सुखका लागि भनेरै त होला, सिरुबारी मीतले कुरा गरेकै भरमा लाहुरे केटा हो भनेर सोह्र पुगेर केवल सत्र वर्ष लागेकी छोरीलाई सोध्दै नसोधी सुम्पेका थिए । मुखियाबाकी छोरी अहिले खै कुन्नी अम्रिका हो कि कता छन् रे, तीन चार वर्षमा मात्रै नेपाल आउँछिन् रे ।

हो त्यही डुँडे र उसकी श्रीमती आज मुखियाबा र आमाको सहारा भएका छन् । हिजोआज गाउँमा मुखियाबा मात्रै हैन लगभग हरेक घरमा डुँडे पस्यो भने पनि खुसी मान्दछन् । यता डुँडेका बा पनि आफ्ना अरु सन्तानभन्दा पनि डुँडे र लाटीसँग खुसी छन् र भन्छन्, ‘यदी यिनीहरु नहुने हो भने त हामी उहिले नै परलोक गैसक्थेऊँ ।’

आज गाउँको त्यही चौतारीमा एउटा गैरसरकारी संस्थाको आयोजनामा सबै गाउँका वृद्ध नागरिकहरुका समस्या र तिनीहरुका भावना साटासाट गर्ने कार्यक्रम छ । सोही कार्यक्रममा छेउघरे मुखियाका बूढाबूढीदेखि डुँडेका बा र आमा सबैलाई भेला गराइएको छ । लगभग सबै लौरो टेकेर या के गरेर हुन्छ त्यो भेलामा जम्मा भएका छन् । कार्यक्रमका संचालक शुकदेव सरले सबैलाई चौतारीका पेटीमा बस्न आग्रह गर्छन् र सबैलाई सम्बोधन गर्दै एउटा सामूहिक प्रश्न राख्छन्, ‘यदी तपाईहरु सबैका अगाडि ईश्वर प्रकट भएर तिमी अर्को जन्मको लागि कस्तो वर माग्न चाहन्छौ भनेर सोधे भने तपाईहरु कस्तो कुरा माग्नु हुन्थ्यो ?’ सबै बूढाबूढीहरु एक छिन एक आपसमा मुख हेराहेर गर्छन् । त्यही बेला छेउघरे मुखियाबा दुवै हातको सहाराले उठेर पावरफुल चश्मा ठम्याउन सकेका जति सबैको अनुहारमा हेर्दै मलिनो अनुहार बनाउँदै भन्छन्, ‘शुकदेव सर म त अर्को जुनीमा ईश्वरसँग जति छोराछोरी भए पनि तीमध्ये एउटा डुँडो भएर जन्मियोस् र हाम्रो बूढेसकालको सहारा बनोस् भनेर वरदान माग्छु !!’ सबै स्तब्ध हुन्छन् । शुकदेव सर पनि कसैसँग आँखा जुधाएर केही बोल्नै सक्दैनन् र यो प्रत्यक्षदर्शी पनि आँखाभरी आँसु अनी अवरुद्ध गला र विक्षिप्त मन लिएर हराँउछ ।
के हामी ईश्वरसँग यस्तै वरदान माग्न बाध्य बनाउँदै छौ त हाम्रा आमाबाहरुलाई ???
(अर्मला पोखरा, हाल बेलायत)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!