एभरेष्ट टाईम्स सम्वाददाता
अल्डरसट, बेलायत । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके ले शुक्रबार, १ मे २०२६ का दिन २५७० औँ बुद्ध जयन्ती विशेष पूजा तथा ‘अमितायुस’ दीर्घायु अभिषेक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।
कार्यक्रमको पहिलो चरणमा बिहान ८:३० बजेदेखि ‘बोधिचित्त शील’ ग्रहण गर्ने विधि सम्पन्न गरिएको थियो । त्यसलगत्तै बिहान ११:३० बजे सशस्त्र बलका प्रतिनिधिहरूको उपस्थितिमा झण्डोत्तोलन गरिएको थियो। कार्यक्रमका बीसीसी यूकेका अध्यक्ष आङ दावा शेर्पा र अन्य पदाधिकारीहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरी समारोहको औपचारिक उद्घाटन गर्नुभएको थियो ।
बुद्ध जयन्ति समारोहमा विशिष्ट अतिथिहरुमा सांसद एलेक्स बेकर, रसमोरका मेयर काउन्सिलर कालम स्टिवर्टलगायत बिभिन्न बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। अध्यक्ष आङ दावा शेर्पाले स्वागत मन्तव्य राख्दै संस्थाको गतिविधिबारे प्रकाश पार्नुभएको थियो भने उपाध्यक्ष क्याप्टेन देव घलेले खेन्पो साङ्गे फुन्छोक शेर्पाको परिचय गराउनुभएको थियो।
सो अवसरमा खेन्पो साङ्गे फुन्छोक शेर्पाले ‘शान्तिको मार्ग: बुद्धको शिक्षालाई जीवनमा उतार्ने कला’ विषयमा प्रवचन दिँदै सहभागीहरूलाई ‘अमितायुस’ दीर्घायु अभिषेक प्रदान गर्नुभएको थियो।
आमा समुहका अध्यक्ष शारदा गुरुङलगायत आमा समुहले मण्डल अर्पण गर्ने कार्य गरेको थियो। जुन कार्यले सम्पूर्ण ब्रह्माण्डलाई प्रतीकका रूपमा भगवान्, गुरु वा त्रिरत्न (बुद्ध, धर्म र संघ) लाई श्रद्धापूर्वक अर्पण गर्दछ। यो आफ्नो अहंकार त्याग गर्ने र सकारात्मक कर्म (पुण्य) सञ्चय गर्ने माध्यम मानिन्छ।
त्यस्तै बुद्ध जयन्ति समरोहमा बौद्ध धर्मको सबैभन्दा लोकप्रिय र महत्वपूर्ण सूत्र वाचन गरेका थिए । यसमा ‘शून्यता’ (Emptiness) को गम्भीर दर्शनलाई संक्षिप्त रूपमा व्याख्या गरिएको छ। यसको प्रसिद्ध मन्त्र “गते गते पारगते पारसंगते बोधि स्वाहा” हो।
महासचिव मेजर कुमार गुरुङले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा प्रमुख सल्लाहकार मेजर खुसीमान पङ्गिलामा गुरुङले ट्रष्टी सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो।
कार्यक्रमको अन्त्यमा वरिष्ठ उपाध्यक्ष रोबिन गुरुङले धन्यवाद ज्ञापन गर्नुभएको थियो। बुद्ध जयन्तीको अवसरमा आयोजित यस विशेष पूजामा बेलायतका विभिन्न क्षेत्रबाट ठुलो सङ्ख्यामा बौद्ध धर्मावलम्बी र भक्तजनहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको समापनपछि सबै सहभागीहरूका लागि दिवाभोज र साँझमा विशेष रात्रभोजको समेत व्यवस्था गरिएको छ ।







