लन्डन । बेलायतमा बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके, बुद्धिस्ट गुम्बा रेडिङलगायत संस्थाले आज २५७० औं बुद्ध जयन्ती मनाउँदै छन् ।
बीसीसी यूकेले धार्मिक पूजापाठसहित मे १ शुक्रबार अल्डरसटस्थित एम्पायर हल र बुद्धिस्ट गुम्बा रेडिङले ल्हात्से टुल्कु रिम्पोछेलगायत गुरुहरुको उपस्थितिमा आफ्नै गुम्बामा बुद्ध जयन्ती मनाउन लागेका हुन् ।
बीसीसी यूकेको कार्यक्रमका लागि काठमाडौं बौद्धस्थित सेचेन गुम्बाका खेन्पो गुरु संगय फुन्टशोक शेर्पा लन्डन आइसकेका छन् । समारोहमा लण्डनस्थित नेपाली दूतावासका प्रतिनिधि, स्थानीय रस्मोर बोरो काउन्सिलका मेयर, काउन्सिलर, विभिन्न धार्मिक, सामाजिक एवं परोपकारी संघसंस्थाका प्रतिनिधि, समाजसेवी, उद्यमी, व्यापारीलगायत भक्तजनहरुको सहभागिता रहने छ ।
बीसीसी युकेका अध्यक्ष आङ्ग दावा शेर्पाको अध्यक्षतामा सम्पन्न हुन लागेको कार्यक्रमको अन्त्यमा खेन्पो फुन्टुशोक शेर्पाले अमितायुस लङ्ग लाईफ इम्वापरमेन्टको बिशेषता र महत्वबारे प्रवचन दिनुका साथसाथै आयुको अभिषेक (वाङ्ग) दिनेछन् ।
बीसीसी युकेका महासचिव मेजर कुमार गुरुङ एमभिओका अनुसार निःशुल्क खाना र चियापनको समेत व्यवस्था गरिएको छ ।
यस्तै बुद्धिस्ट गुम्बा रेडिङका महासचिव कमल गुरुङले समारोहमा बुद्ध पूजा र प्रार्थना, धार्मिक प्रवचन र सामूहिक भोजन हुने जनाएका छन् । कार्यक्रममा उपस्थित हुन बेलायतवासी बुद्ध मार्गीहरुमा बुद्धिस्ट गुम्बा रेडिङले आग्रह गरेको छ ।






